२३ जेठ २०८३, शनिबार

फोहोरको अव्यवस्था वन्यजन्तु र जलचरमा गम्भीर असर

फागुन २२, २०७८
फोहोरको अव्यवस्था वन्यजन्तु र जलचरमा गम्भीर असर
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

चितवनका स्थानीय सरकारले नदीकिनार वा वन क्षेत्रमा फोहोर विसर्जन गरिरहेका छन् ।

यसरी फोहोर विसर्जन गर्दा जलचर, वन्यजन्तु र वनस्पतिमा गम्भीर असर परेको छ । भरतपुर महानगरपालिकामा भित्रमात्रै दैनिक ७० टनभन्दा बढी फोहोर निस्कन्छ । यसरी निस्केको फोहोर नारायणी नदीकिनारसँगै रहेको नगर वन क्षेत्रमा फाल्ने गरिएको छ । यस्तै, जिल्लाको दोस्रो ठूलो सहर रत्ननगर नगरपलिकाले पनि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको बरण्डाभार वन क्षेत्रमै अव्यवस्थित रूपमा फोहोर विसर्जन गर्छ । यसका अलावा माडी, खैरहनी, राप्ती र कालिका नगरपालिकाको फोहोर स्थानीय वन क्षेत्रमा फालिएको छ । इच्छा कामना गाउँपलिकाले कुरिनटारनजिकै त्रिशूली नदीकिनारमा फोहोर फाल्ने गरेको छ ।

“महानगर होस् या गाउँपालिका प्रायः सबै स्थानीय तहको फोहोर वन क्षेत्र वा नदीकिनारनजिकै विसर्जन गरिएको छ । यसले नदीको जलसम्पदा र जैविक विविधतामै प्रभाव परेको छ,” लामो समयदेखि निकुञ्जवरपरका विभिन्न नदी सरसफाइ अभियानमा जुटेका अभियन्ता अपिल घिमिरेले भने । उनका अनुसार अहिले नदीमा बढेको प्रदूषण र जलचरमा परेको प्रभाव पनि यही फोहोर समस्याका कारण हो । प्लास्टिक पानीको तल्लो भागमा जमेर बस्ने र त्यहाँ गोही, माछाका लागि चाहिने लेउ लाग्दा त्यही लेउसँगै प्लास्टिकसमेत माछा तथा गोहीले खाने गरेको उनको भनाइ छ । “ढुङ्गामा लाग्ने लेउ प्लास्टिकमा लागेपछि के होला ?,” उनको प्रश्न थियो । नदी सरसफाइ गर्दा विशेष रूपमा पानीका बोतल, प्लास्टिक, सिसा, फलामका टुक्राजस्ता फोहोर भेटिने गरेको उनको अनुभव छ ।

वन्यजन्तुको समस्या अरू चर्को छ । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठले जथाभावी वन क्षेत्रमा फालिने फोहोरले सबैभन्दा बढी वन्यजन्तुको स्वास्थ्यमा असर परेको बताए । “फोहोरमा पनि सबैभन्दा बढी प्लास्टिकले जनावरमा असर गरेको छ,” उनले भने, “प्लास्टिक खाएका जनावरको पाचन प्रणालीमा असर परेर मरेका घटना धेरै भेटिन्छन् ।”

कतिपय गैँडा, मृग, जरायोजस्ता वन्यजन्तुको शव परीक्षण (पोस्टमार्टम) गर्दा पेटमा प्लास्टिक भेटिएको उनले बताए । “प्लास्टिकमा तरकारीलगायतका खानेकुरा राखेर फालिँदा नुनिलोको लोभले वन्यजन्तुले खान्छन् । त्यसरी प्लास्टिकसमेत खाँदा त्यसले वन्यजन्तुमा असर गरेको हो,” उनले भने ।

यसका अतिरिक्त जथाभावी फालिने सिसा, फलाम, तारलगायतका वस्तुले पनि वन्यजन्तुलाई असर गरिरहेको छ । प्लास्टिकको समस्या त जलचरमा पनि चर्को छ । तर, त्यसको अध्ययन नेपालमा कमै भएको छ । जलचरविज्ञ वेदबहादुर खड्का नेपालका नदीमा अनुसन्धान नभए पनि भारतमा प्लास्टिकजन्य फोहोरले जलचरमा परेको प्रभावबारे अध्ययन भएको बताए । गोरखापत्र दैनिकमा वसन्त पराजुलीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्