२६ असार २०८३, शुक्रबार

चोलेन्द्रविरुद्धको महाभियोग अगाडि बढाउनेबारे कार्यव्यवस्थामा छलफल हुँदै

फागुन २२, २०७८
चोलेन्द्रविरुद्धको महाभियोग अगाडि बढाउनेबारे कार्यव्यवस्थामा छलफल हुँदै

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव अगाडि बढाउने विषयमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा छलफल हुँदैछ ।

संसद भवन नयाँ बानेश्वरमा आइतवार बिहान साढे ११ बजेका लागि बोलाएको बैठकमा महाभियोग अगाडि बढाउने विषयमा छलफल हुने सचिवालय स्रोतले लोकान्तरलाई जानकारी दियो । प्रतिनिधि सभामा दर्ता भएको महाभियोग प्रक्रियामा लैजानुपर्ने पार्टीको धारणा कार्यव्यवस्था बैठकमा राख्न लागिएको नेपाली कांग्रेसका एक सांसदले जानकारी दिए । 

पदीय आचरणअनुसार काम नगरेको र भ्रष्टाचार गरेको आरोप लगाउँदै सत्ता गठबन्धनमा आबद्ध दलले जबराविरुद्ध फागुन १ गते प्रतिनिधि सभामा महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद सचिवालयमा दर्ता भएको एक हप्तापछि संसदमा महाभियोग प्रस्तावबारे छलफल गर्नुपर्ने भए पनि २२ दिन पुग्दासमेत छलफल हुन सकेको छैन । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीलाई कारण दर्शाउँदै महाभियोग अगाडि बढेको थिएन । एमालेको नाराबाजीका बीच अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी भने अनुमोदन भएको छ ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेश गर्ने उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्