
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता गठबन्धनभित्र भइरहेको अर्ली इलेक्सन (समय अगावैको चुनाव)को बहस स्थानीय तह निर्वाचन सार्ने षड्यन्त्रको रुपमा आएको टिप्पणी गरेको छ ।
संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले अचानक संसद विघटन गर्ने कुरा चुनाव टार्ने नियतले आएको बताएका हुन् ।
‘अहिले आएर अचानक अर्ली इलेक्सन र यो ढंगले संसद विघटन गर्ने कुरा अहिले आउनु कतै हेरेर कतै हिर्काउने भन्ने उहाँहरूको रणनीति हो । सोझो हिडाइँ छैन,’ नेम्वाङले भने, ‘स्थानीय तहको निर्वाचनलाई पर पुर्याउने र गडबड गर्ने कुरा हुन सक्छन् । हामीले विशेष कारणवश जनतामा जाने भनेको हो, त्यो कुरामा हामी अहिले पनि अडिग छौँ । तर गठबन्धन चुनाव गर्नको लागि हो कि भत्काउनको लागि हो ?’
सत्ता गठबन्धनमा अर्ली इलेक्सनबारे छलफल भएको नेकपा एसका अध्यक्ष माधव नेपालले बताएका थिए । उनले एमाले अध्यक्ष केपी ओलीको वितण्डा अन्त्य गर्न पनि संसद विघटन गरेर चुनावमा जानुपर्ने धारणा व्यक्त गरेका थिए ।
‘स्थानीय तहको चुनाव अगाडि प्रतिनिधि सभाको चुनाव सार्ने गठबन्धनको नियत हो । चुनावको घोषणा हामी लडेर भएको हो । अदालती प्रक्रियामा पनि गएर रोक्ने प्रयास भएको थियो, तर दरपीठ भयो,’ नेम्वाङले भने, अहिले नै ढुक्क नहोऔं, सतर्क रहेर समयमै चुनाव गर्न दबाब दिऔं ।’