काठमाडौं, २१ असार — नेकपा एमालेले ७ उपमहानगरपालिका मध्ये दुई ओटामा जीत हासिल गरेको छ । दाङको घोराही उपमहानगरपालिका जितेको एमालेले बुटबल उपमहानगरपालिका पनि जितेको हो । नतिजा आएको नेपालगञ्ज उपमहानगरपालिकामा भने राप्रपा विजयी हुँदा अरु चार उपमहानगरपालिकामा मतगणना जारी रहेको छ । जसमा इटहरी , धरान र तुल्सीपुर उपमहानगरमा एमालेकै अग्रता रहेको छ । धनगढीमा भने कांग्रेसको अग्रता रहेको छ ।
आज साँझ आएको अन्तिम मतपरिणामअनुसार रुपन्देहीको एक मात्र उपमहानगरपालिका बुटवलमा एमालेले जित हासिल गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार १९ वटा वडामध्ये १६ वटा वडासहित नगर प्रमुख तथा उपप्रमुखमा एमालेका उम्मेदवारहरु विजयी भएका छन् ।
प्रमुखमा एमालेका शिवराज सुवेदी २३ हजार २४९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेलराज पाण्डेले २० हजार ८५१ मत प्राप्त गरे ।
नगर उपप्रमुखमा नेकपा एमालेकै गुमादेवी आचार्यले २५ हजार ३०१ मत प्राप्त गरी विजयी भएकी छन् छ भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय पार्टी जनमुक्तिबाट उम्मेदवार बनेका माओवादी केन्द्रका जगत पोखरेलले १४ हजार ७९२ मत पाए ।