
अमेरिकाका वरिष्ठ अधिकारीहरूले रुसलाई एक्लाउनका लागि निकोलस मदुरोसँग सहयोग माग्न भेनेजुएला पुगेका छन् ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुसलाई विश्व समुदायबाट एक्ल्याउन अमेरिकाले कोशिश गरिरहेको छ ।
ह्वाइट हाउस र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूले भेनेजुएलाको राजधानी काराकासमा मदुरोका प्रतिनिधिलाई भेटेका थिए ।
नाम नखुलाइएका अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै द न्युयोर्क टाइम्सले दक्षिण अमेरिकी मुलुकहरू क्युबा, निकारागुआ र भेनेजुएलाबाट अमेरिकालाई सुरक्षा जोखिम नआओस् भनी बाइडन प्रशासनले पहल थालेको बताए । रुससँगको भूराजनीतिक भिडन्तमा अमेरिका आफ्नो सुरक्षा बलियो बनाउन खोजिरहेको छ ।
केहीले चाहिँ युक्रेनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमण गरेपछि रुसमाथि आर्थिक प्रतिबन्ध लगाइएको बेलामा अमेरिकाले भेनेजुएलाबाट तेल किन्न खोजेको समेत बताइरहेका छन् ।
भेनेजुएलामा तेलको ठूलो भण्डार छ । सन् २०१९ मा मदुरोलाई सत्ताच्युत गर्न अमेरिकाले प्रतिबनध लगाएको भए पनि भेनेजुएलाले तेल उत्पादन लगातार बढाइरहेको छ ।
शनिवारको वार्तामा कुनै सम्झौता नभएको रोयटर्स समाचार संस्थाले खबर दिएको छ । तर केही विज्ञहरूले भेनेजुएलाप्रति अमेरिकाको नीतिमा परिवर्तन आइरहेको संकेत यस भेटघाटले दिएको बताएका छन् । सन् २०१३ मा मदुरो सत्तामा आएदेखि भेनेजुएला मानवीय र राजनीतिक संकटमा फसेको छ ।