
नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कतिसम्म हावी छन् भन्ने दृष्टान्त सोमबार सम्पन्न केन्द्रीय समिति बैठकका निर्णयहरु हेरे पुग्छ । मूलतः एमसीसीबारे लिइएको निर्णयपछि पार्टीभित्र आलोचित बनेका प्रचण्डले विरोधका सबै स्वरलाई केन्द्रीय समिति बैठकको फेस गरेरै मत्थर गरिदिए । उनले विवादित विषयलाई बैठकमा छलफल चलाएजस्तो पनि गरे तर रणनैतिक रुपमा असन्तुष्टहरुको स्वरलाई दबाएर आफै हावी हुन सफल बने । उनले एमसीसीबारे नेताहरु कृष्ण बहादुर महरा, देव गुरुङ र लीलामणि पोखरेलको ‘नोट अफ डिसेन्ट’लाई स्वीकार गरे । नेता नारायणकाजी श्रेष्ठको फरकलाई पनि आफ्नो ‘नोटिस’मा रहेको बताए । तर, गठबन्धन र प्रतिगामी षडयन्त्रलाई परास्त गर्न भनेर एमसीसी पास गर्न पार्टी तयार हुनुपरेको तर्क दिए । यस्तै उनले व्याख्यात्मक घोषणालाई अमेरिकाले समेत स्वीकार गरेको भन्दै केन्द्रीय सदस्यलाई विश्वस्त पार्न खोजे ।
प्रचण्डले अहिले चुनावको तयारीमा जुट्नुपर्ने भएकाले यसबारे व्यापक बहस गर्ने समय नभएको भन्दै आगामी जेठ २० गते केन्द्रीय समिति बैठक राखेर वृहत छलफल गर्ने भनेर पन्छिए । यस्तै पदाधिकारी, पोलिटब्युरो, स्थायी कमिटी सदस्य चयनलगायतमा पनि जेठकै बैठकमा टुंगो लगाउने भनेर निर्णय गराइदिए । बाहिर हेर्दा पार्टीभित्र भागबण्डा मिलाउन नसक्दा प्रचण्डले जेठमा पदाधिकारी चयन गर्ने भनेको जस्तो बुझिएपनि रणनैतिक रुपमा पार्टीमा आफूलाई शक्तिशाली भूमिकामा राखिराख्ने र अन्य नेताहरुसँग खेलिराख्ने नियतका साथ यो निर्णय गरेको एक नेताको बुझाइ छ । उनका अनुसार ‘पदै नभएपनि मलाई सुझाव त नेताहरुले दिन सक्नुहुन्छ नि’ भनेर समेत प्रचण्डले भनेका थिए ।
यस्तै केन्द्रीय समिति सदस्य चयनमा समेत प्रचण्ड हावी भए । कतिपय सिनियर नेताहरु नै केन्द्रीय कमिटीमा छुट्दा कनिष्ट र आसेपासेहरु समेटिएको चर्चा बैठकमा भयो । तर कसैले प्रतिवाद गर्न सकेनन् । प्रचण्डले सदस्यहरुको मनोविज्ञान बुझेर केही हेरफेर गर्ने बताएपनि खासै सुधार हुनजस्तो नदेखिएको ती नेताको भनाइ छ ।
पार्टी बैठकमा देखिएको भद्रगोल र प्रचण्ड हावी हुँदा केन्द्रीय समिति बैठक औचित्यविहीन बनेको ती नेताको भनाइ छ । ‘बैठकमा न गहन बहस भयो न त सवाल जवाफ नै । प्रचण्डले एजेण्डा प्रस्तुत गरे, आफ्ना कुरा राखेपछि आफूमाथि उठ्ने प्रश्नबारेको विषयलाई जेठमा छलफल गर्ने भनेर पर्गेल्ने काम गरे’, तीन नेताले भने । अहिले एमसीसीको विवाद छ जेठमा कस्तो छलफल गर्न खोजेका हुन् सुप्रिमोले भन्दै उनले कटाक्ष समेत गरे । यतिसम्म प्रचण्डको हालिमुहाली गर्दा एकाध नेताबाहेक कसैले पनि विरोध गर्न नसकेको ती नेताको भनाइ छ ।
प्रचण्डले विवादित विषयलाई जेठमा सारेर तत्कालका लागि स्थानीय तहको चुनावका लागि पार्टीको सम्पूर्ण शक्ति लगाउने निर्णय गराएका छन् । यस्तै प्रदेश इन्चार्जहरु तोकिएका छन् भने तल्लो तहसम्मै चुनावी कमाण्डहरु बनाउने निर्णय गराएका छन् । यसबाहेक केही चुनावी नारा पनि तय गरेका छन् ।
लोकान्तर राउण्ड अपमा २४ घण्टाका अन्य समाचार
नेकपा एकीकृत समाजवादी पार्टी आगामी वैशाखमा तय भएको स्थानीय तह निर्वाचनमा होमिएको छ । सोमबार बसेको पोलिटब्युरो बैठकले पार्टीका सम्पूर्ण शक्ति चुनावमा होमिने निर्णय गरेको हो ।
बैठकपछि महासचिव वेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा पार्टीको सम्पूर्ण शक्तिलाई उत्साहका साथ क्रियाशील हुन, आफूहरुले प्राप्त गरेका उपलब्धिहरूमाथि गौरव गर्न र सम्पूर्ण पार्टी पङ्क्तिलाई आसन्न स्थानीय तहको निर्वाचनमा परिचालित हुन आह्वान गरिएको उल्लेख छ ।
००००
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही फागुन २८ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने भएको छ । मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार आयोजित पत्रकार भेटघाटमा महाशाखाका निर्देशक डा चुमनलाल दाशले १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइने जानकारी दिए ।
००००
सरकारले सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि रकम उपलब्ध गराउने भएको छ ।
मूल्य स्थिरीकरण कोषको सोमवार बसेको बैठकले निगमले इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने पहिलो किस्ता बापतका नपुग ४ अर्ब २५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
००००
नेपाल बार एशोसिएशनको अध्यक्ष पदका लागि ८ जना वकिलहरूले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
नेपाल बारको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनका प्रमुख निर्वाचन अधिकृत उषा मल्ल पाठकका अनुसार अध्यक्ष पदमा उद्धव चन्द घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अजिता दधारी, कमलप्रसाद मलेगो, विष्णुमणि अधिकारी, पृथ्वीनाथ राई, अमिता लक्ष्मी सैजु श्रेष्ठ र गोपालकृष्ण घिमिरेले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
००००
पछिल्लो समय कोरोनाको संक्रमण दर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा ८८ जनामा मात्रै संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६३८ नमूना परीक्षणमध्ये ६६ पीसीआर र २२ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा एक संक्रमितको मृत्यु भएको छ।
००००
ललितपुरमा एकैघरका ५ जनाको मृत्यु भएको छ ।कोयोसोम गाउँपालिका–४ नल्लुमा टिनको छानो भएको घरभित्र राति आगो बालेर झ्याल ढोका थुनेर सुत्दा अक्सिजन नपुगेर मृत्यु भएको हुनसक्ने घटनास्थल पुगेको चिकित्सकको टोलीले अनुमान गरेको छ ।
महानगरीय प्रहरी परिषद् जावलाखेलका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार ५५ वर्षीया काइँली स्याङ्तान, ३३ वर्षीया सुस्मा, ९ वर्षीय आशिष, ७ वर्षीया आस्मा र २ दिनको शिशुको मृत्यु भएको हो । प्रहरीका अनुसार ४ जना घरभित्रै र एकको उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर अवस्थामा रहेका २२ वर्षीय शुभ तामाङको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ ।
००००
यसैगरी काठमाडौंको रामकोटमा एकै परिवारका ५ जनाले विष सेवन गरेका छन् । नागार्जुन नगरपालिकास्थित रामकोटमा सोमबार साँझ एकै परिवारका ५ जनाले विष सेवन गरेको प्रहरीले जनाएको छ । उनीहरुको बिरामी अवस्थामा स्वयम्भूस्थित मनमोहन अस्पताल उपचार भइरहेको महानगरीय प्रहरी परिसरका एमसी दिनेश मैनालीले जानकारी दिए ।
००००
शेयर बजारको मापक सूचक नेप्से साताको दोस्रो दिन सोमवार झिनो अंकले बढेको छ । नेप्से जम्मा १.५४ अंकले बढेर १५४४.९३ विन्दु कायम भएको छ । आइतबार ३ अंकले घटेको बजार सोमबार भने थोरै मात्रै बढेको हो ।