काठमाडौँ, २२ असार - कतारमा उत्पन्न पछिल्लो परिस्थितिका कारण त्यहाँ जाने नेपाली श्रमिकको सङ्ख्या ह्वात्तै घटेको छ । नेपालबाट कतार जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या घटेसँगै त्यहाँ जाने नेपाली श्रमिकको सङ्ख्यामा घटेको सरकारले जनाएको छ । कतार नेपालीका लागि आकर्षक गन्तव्य रहँदै आएको छ । पछिल्लो एक डेढ वर्षयता नेपालबाट वैदेशिक रोजगारका लागि साउदी अरब गएको देखिन्छ भने दोस्रो रोजगार गन्तव्यमा कतार रहेको छ, गोरखापत्रमा खबर छ ।

नाकाबन्दीपछि कतार कामदार पठाउने म्यानपावर एजेन्सी र कामदार पनि पर्ख र हेरको अवस्थामा छन् । नाकाबन्दीले तत्कालै अर्थतन्त्रमा असर नपरे पनि केही महिनाभित्रै समस्या समाधान नभए कतारमा सङ्कट आउने त्रासले कामदार जान कम भएको बताइएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार अघिल्लो वर्षको असारको तुलनामा यो असारमा कतारमा रोजगारीका लागि जाने नेपाली श्रमिकको सङ्ख्या ८० प्रतिशतभन्दा कम भएको छ ।
अघिल्लो वर्षको असार महिनामा औषतमा दैनिक एक हजार ४०७ जनाले कतार जानका लागि श्रमस्वीकृति लिएकोमा यो वर्ष असारमा औषतमा दैनिक ३४९ जनाले मात्रै श्रमस्वीकृति लिएका छन् ।
विभागका अनुसार अघिल्लो वर्ष असारमा ४३ हजार ५२५ जनाले श्रम स्वीकृति लिएकोमा यो वर्षको असार १५ गतेसम्म जम्मा पाँच हजार २४३ जनाले मात्रै कतार जानका लागि श्रम स्वीकृति लिएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष विमल ढकालले कतारमा पछिल्लो समयमा उत्पन्न परिस्थतिले गर्दा त्यहाँ जाने श्रमिक, पठाउने व्यवसायी र श्रमिकको माग गर्ने कतारका कम्पनी सबै हेर र पर्खको अवस्थामा रहेको बताए ।