काठमाडौं, २२ असार- प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रतिबद्धताअनुरूप आफ्ना माग पूरा गर्न संविधान संशोधनतर्फ अगाडि नबढेको आन्तरिक विश्लेषणका साथ सरकारबाट समर्थन फिर्ता लिन तम्सेको राष्ट्रिय जनता पार्टी (राजपा) को जोशमा फेरि एक पटक ब्रेक लागेको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

राजपाका अध्यक्ष महन्थ ठाकुरलगायत पाँच वरिष्ठ नेता भारतीय राजदूत मञ्जीवसिंह पुरीसँग उहाँकै निवासमा मंगलबार भएको करिब एक घन्टा लामो बैठकपछि राजपाका नेता केही पछाडि सरेका हुन् । यद्यपि, आधिकारिक रूपमा सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने वा निरन्तरता दिने भन्नेबारे केही भन्न रुचाएनन् ।
तर, राजदूतसँगको भेटपछि उनीहरूको आक्रोश र धम्कीको अभिव्यक्तिमा भने संयमता देखिएको छ । राजदूतसँग भेटेका राजपा नेताहरूले नाम उल्लेख नगर्ने सर्तमा भने, 'राजदूत पुरीले प्रधानमन्त्री देउवालाई दिएको समर्थन फिर्ता नलिनुहोस्, यो सरकारले तपाईंहरूको माग पूरा गर्छ र दल दर्ता गर्नुहोस् भन्नुभयो ।' राजपाको बैठकबाटै दिउँसो ४ बजे अध्यक्ष ठाकुरसहित अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्रप्रसाद यादव, राजकिशोर यादव र अनिलकुमार झा लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए । त्यसपछि उनी बैठकमै फर्किएको जानकारी पार्टी महासचिव केशव झाले दिए ।