२३ जेठ २०८३, शनिबार

विमानस्थलमा राखिएको श्रम डेस्क हट्यो, जुनसुकै गेटबाट पनि विमानस्थलमा प्रवेश पाउने

फागुन २५, २०७८
विमानस्थलमा राखिएको श्रम डेस्क हट्यो, जुनसुकै गेटबाट पनि विमानस्थलमा प्रवेश पाउने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाएको छ । श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दु:ख दिइएको गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेका हुन् ।

 मन्त्री श्रेष्ठ सहित मन्त्रालयका अधिकारीहरु बुधवार अन्तराष्ट्रिय विमानस्थलमा गई श्रम डेस्क हटाइएको हो ।  अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको मन्त्री श्रेष्ठको भनाइ छ । सहसचिव प्रमुख रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति दिएपछि पनि श्रम डेस्कले श्रम स्वीकृति प्रक्रियामाथि छानबिन गर्ने नाममा श्रमिकलाई दु:ख दिएको गुनासो आएको थियो । विमानस्थलमा श्रमिकहरूको समस्यालाई समाधान गर्दै जाने प्रतिवद्धता पनि मन्त्री श्रेष्ठले जनाए । 

विमानस्थलमा श्रमिकहरूका लागि यसअघि अर्को दर्जा जसरी छुट्टै गेटबाट प्रवेश दिने गरिएकोमा अव जुनसुकै गेटबाट पनि प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ । श्रमिकको प्रस्थानलाई छिटोछरितो बनाउन ३ वटै द्धारबाट प्रवेश पाउने विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । 

मन्त्री श्रेष्ठले विमानस्थलमा राखिएको कोरोना भाइरसको पिसिआर परीक्षण चेकजाँच गर्ने प्रकृया पनि हटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई आग्रह गरे । 
यसअघि वैदेशिक रोजगारीमा जाने र बिदामा आएका श्रमिक अनिवार्य रूपमा श्रम डेस्कमा गई डेस्कले सहीछाप लगाइदिएपछि मात्रै बोर्डिङ गर्ने प्रक्रिया अगाडि बढाइन्थ्यो । अव श्रमिकले श्रम डेस्क नगइ जुनसुकै गेटबाट पनि बिमानस्थलमा प्रवेश पाउनेछन् । बिमानस्थलमा वैदेशिक रोजगार विभागले सुचना केन्द्र भने स्थापना गर्नेछ । केन्द्रले समस्यामा परेका श्रमिकको सहजीकरणका लागि काम गर्नेछ ।

श्रम स्वीकृती सक्कली या नक्कली हेर्न श्रम डेस्क राखिएको हो । अहिले अनलाइन सफ्टवेयर राखिएपछि त्यसको औचित्य सकिएको छ । वैदेशिक रोजगारीमा जान विमानस्थल पुगेका श्रमिकले प्रवेश र श्रम स्वीकृती स्टीकर परिक्षणका लागि घन्टौ लाइन बस्नु पर्ने बाध्यता हटेको छ । चालु आर्थिक वर्षको ७ महिनामा मात्र ३ लाख ५० हजार भन्दभ धेरै श्रमिकले त्रिभुवन विमानस्थल प्रयोग गरेका थिए । यस अघि वैदेशिक रोजगारमा जान विमानस्थल पुगेका दैनिक २ हजार श्रमिकले लामो लाइन बसेर श्रम स्वीकृतीको छाप लगाउनु पर्ने नियमका कारण सास्ती बेहोर्दै आएका थिए । श्रम डेस्क हटाइएपछि उनिहरु पनि खुसी भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्