०४ असार २०८३, बिहीबार

कांग्रेसले मतदातासँग भोट माग्दै एमसीसीको भ्रम चिर्ने, देशव्यापी अभियान नै घोषणा

फागुन २६, २०७८
कांग्रेसले मतदातासँग भोट माग्दै एमसीसीको भ्रम चिर्ने, देशव्यापी अभियान नै घोषणा

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस १ महिने चुनावी अभियान घोषणा गर्दै स्थानीय तहको निर्वाचनमा होमिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधवार पत्रकार सम्मेलन गर्दै कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित १ महिने चुनावी कार्यक्रम घोषणा गरेको हो ।

जसअनुसार कांग्रेस ७७ वटै जिल्लाका ७५३ वटै स्थानीय तहमा पुग्दैछ ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले ‘घरघर जाऔं कांग्रेस जिताऔं’ नारासहित कांग्रेस जनताको घरघरमा पुग्ने बताए । उनले २९ फागुनबाट २९ चैतसम्म गरी १ महिना विशेष अभियान सञ्चालन हुने जानकारी दिए ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचन अभियानमार्फत कांग्रेसले जनताको गुनासा सुन्ने र आफ्ना कुरा सुनाउने बताए । ‘१ महिने अभियानमार्फत कांग्रेसले जनताको कुरा सुन्छ, हरेक प्रश्नको कांग्रेसले जनतालाई जवाफ दिन्छ र आफ्नो कुरा प्रस्ट रूपमा जनताका माझमा राख्छ,’ महामन्त्री शर्माले बुधवार आयोजित पत्रकार सम्मेलनमा भने ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अभियानका क्रममा हरेक घरमा कांग्रेसको स्थानीय नेतृत्व पुग्ने र जनताको आकाक्षा बुझ्ने बताए । उनले विपक्षी दलले जनतालाई भ्रमित बनाएको विषयमा कांग्रेसले अभियानमार्फत जनतालाई हरेक विषयमा स्पष्ट पार्ने पनि दाबी गरे ।

‘विपक्षीहरूले राष्ट्रिय मुद्दाहरूमा जति पनि भ्रम छरेका छन्, त्यसलाई स्पष्ट रूपमा यो अभियानमार्फत चिर्ने उद्देश्य छ,’ महतले भने ।

अभियानमार्फत कांग्रेसले यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका गैरसंवैधानिक काम र सरकारको नेतृत्वमा आउनुको कारण पनि जनतालाई सुसूचित गर्नेछ ।

कांग्रेसले अभियानमार्फत स्थानीय तहको पहिलो कार्यकालको समीक्षा गर्ने पनि जनाएको छ । सो क्रममा स्थानीय, प्रदेश र केन्द्र सरकारबीच देखिएका समस्या र त्यसको निराकरणबारे सुझाव संकलन समेत गर्ने कांग्रेसको तयारी छ ।

संसद्बाट अनुमोदन भएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा पनि जनताका बीचमा प्रचार गरिएको भ्रमलाई निर्वाचन अभियानमार्फत चिर्ने कांग्रेसको तयारी छ ।

कांग्रेसले निर्वाचन अभियानका लागि ७७ वटै जिल्लामा पार्टीका केन्द्रीय सदस्यलाई कमान्डर तोकिसकेको छ । उनीहरूलाई प्रदेश, जिल्ला र स्थानीय तहका नेतृत्वसँगको सहकार्यमा स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै अभियान अघि बढाउने जिम्मेवारी दिएको छ ।

कांग्रेसले स्थानीय निर्वाचनका लागि घोषणापत्र तयार पार्ने जिम्मा भने स्थानीय समितिलाई नै दिने तयारी गरेको छ । यसरी घोषणापत्र तयार गर्दा स्थानीय तहको आवश्यकतालाई ध्यानमा राखेर बनाउनुपर्ने कांग्रेसको निर्देशन छ । राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्