०२ असार २०८३, मंगलबार

महाभारत गाउँपालिकामा ५३ घरलाई ‘एक घर, एक धारा’ वितरण

फागुन २६, २०७८
महाभारत गाउँपालिकामा ५३ घरलाई ‘एक घर, एक धारा’ वितरण
प्रतिकात्मक तस्वीर

काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–६ का घ्याब्रिङ र बालखोपका वासिन्दालाई धारा वितरण गरिएको छ ।

बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को प्रदेश विशेष अनुदान र गाउँपालिकाको साझेदारी बजेटबाट त्यहाँका ५३ घर परिवार र एक विद्यालयलाई ‘एक घर, एक धारा’ खानेपानी वितरण गरेपछि सो ठाउँका ३८० वासिन्दाले खानेपानी उपभोग गर्न पाएका हुन् ।

वडा नम्बर ६ का वडाध्यक्ष रमेश लुङ्गेलीले खानेपानीको समस्या झेल्दै आएको सो ठाउँका लागि प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा खानेपानीको व्यवस्था गरिदिएपछि स्थानीयमा थप खुशीको लहर छाएको बताए ।

विगतमा सामूहिक धारा हँुदा एकैपटक धेरै जना पानी थाप्नका लागि जम्मा हुँदा विवाद झेल्नुपर्ने अवस्था रहेकोमा अब ‘एक घर, एक धारा’ले त्यसको अन्त्य भएको उनले बताए ।
    
करीब साढे ३ किलोमिटर टाढाको बालखोप मुहानबाट मूल पाइप बिछ्याएर ३ ठाउँमा पानी ट्यांकी निर्माण गरी घरघरमा खानेपानी पुर्‍याइएको गाउँपालिकाका सवइन्जिनीयर प्रकाश खड्काले बताए । सो आयोजना सम्पन्न गर्नका लागि ४६ लाख ५० हजार ५०० रुपैयाँको लागतमा मुख्य पाइपलाइन र वितरण पाइप लाइन गरी करीब ११ किलोमिटर पाइपलाइन बिछ्याएर खानेपानी धारा वितरण गरिएको उनले बताए ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले मानिसको जीवनसँग सम्बन्धित रहेको खानेपानी आयोजना सम्पन्न गर्नको लागि प्राप्त बजेटले बालखोपका स्थानीयलाई लाभान्वित बनाउन सफल भएको बताए ।

बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनिराम शर्माले दुर्गम गाउँपालिकाको विकट गाउँका वासिन्दालाई प्रदेश सरकारको साझेदारीमा खानेपानी उपलब्ध गराउन सफल भएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्