
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै निर्वाचन चिन्हको रङ हेरेरै तर्सिनेहरू मत परिणाम हेर्दा के होला भन्ने प्रश्न गरेका छन् ।
शर्माले एमाले अध्यक्ष ओलीले खुद्रा विषय छाडेर सैद्धान्तिक र वैचारिक बहसमा ध्यान दिनुपर्ने बताए ।
“मतपत्रमा राखिएको रङतर्फ ध्यान दिनुभन्दा आफ्नो ढंग सच्याउनतर्फ लागियो भने रङले कसैलाई पोल्दैन । मतपत्रमा हरियो रङ देख्नेबित्तिकै यसरी तर्सिने हो भने मतपरिणाम देखेपछि के होला ?’ शर्माले भने, मतपत्र हेरेरै नतर्सिऔँ । मत परिणाम हेरेर तर्सिनुपर्ने दिन आउला ।’
निर्वाचन आयोगले मत पत्रमा हरियो रङ राख्ने निर्णय गरेर आफ्नो परम्परा र जिम्मेवारी पूरा गरेको भन्दै शर्माले आयोगको बचाउ गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २४ गते नारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै निर्वाचन आयोगले मतपत्रमा चुनाव चिन्ह हरियो रङमा राख्न लागेको भन्दै आपत्ती व्यक्त गरेका थिए ।
कांग्रेसको चुनाव चिन्ह रूख हरियो रङको हुने भएकोले आयोगले मतपत्रको रङ पनि हरियो बनाउन खोजेको भन्दै ओलीले विरोध गरेका थिए ।
निर्वाचन आयोगले कुनै बेला रातो र कुनै कालो रङको मतपत्र प्रयोगमा ल्याएको र अहिरो रङको बनाउन लागेकोले त्यसमा आपत्ति व्यक्त गर्नुपर्ने कुरा नभएको उनले बताए ।
‘कुनैबेला रातो राखियो । कुनैबेला कालो राखिएको थियो । हामीले नै मत हाल्न उभिएका हौँ । मैले भन्दा बढी पटक त उहाँले नै मत व्यक्त गर्नुभयो । त्यसकारण निर्वाचन आयोगले यस बारेमा क्लियर पनि गरिसकेको छ’, शर्माले भने ।
निर्वाचन आयोगले संविधान, निर्वाचन कानून र राजनीतिक दलहरुसँगको संवादको आधारमा निर्णय गर्ने र कार्यान्वयन गराउने भएकाले धेरै विवाद गरिरहनुनपर्ने उनले बताए ।
‘राजनीतिक दलहरुले मतपत्रकै रङ बैजनी हुने कि, रातो हुने कि, हरियो हुने कि, कालो हुने कि भन्ने विषयको लेबलमा हामी ओर्लिएर बोल्ने नै होइन । तर पूर्व प्रधानमन्त्रीले बोलिसकेपछि नेपाली काँग्रेस पार्टीको तर्फबाट हामीले केही स्पष्टीकरण नै राखेनौँ भने त्यो पनि नमज्जा हुन्छ’, शर्माले भने ।