
शेयर कारोबारका लागि साताको अन्तिम दिन बिहीवार नेप्से परिसूचक ५२.३१ अंकले बढेको छ ।
साताभर लगानीकर्तालाई निराश बनाएको नेप्सेले बिहीवार भने लगानीकर्तालाई उत्साहित गराएको छ । आज एकैदिन २.०८ प्रतिशतले बढेर नेप्से परिसूचक २५६६.७९ बिन्दुमा पुगेको छ ।
बजार बढेको भए पनि कारोबार रकम भने २ अर्ब ७९ करोड रुपैयाँमा मात्रै सीमित छ । बिहीवार नेप्सेमा सूचीकृतमध्ये २२६ कम्पनीको ५६ लाख १० हजार कित्ता शेयरको ४३ हजार ५३८ पटक कारोबार भएको छ ।
बजार बढेसँगै सबै उपसमूहका सूचकमा सुधार देखिएको कारण बिहीवार शेयर बजारमा हरियाली छाएको छ । बिहीवार सबैभन्दा बढी फाइनान्स उपसमूहको सूचक बढेको छ । यो उपसमूहको सूचक ५.०६ प्रतिशतले बढेको छ भने सबैभन्दा कम बैंकिङ उपसमूहको १ प्रतिशतले मात्रै बढेको छ ।
बजार बढेको दिन सबैभन्दा कमाउनेमा इमर्जिङ नेपाल रहेको छ । यो कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । आज ८ प्रतिशत भन्दा बढी कमाउनेमा कर्णाली डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपमर्स, प्रोगेसिभ फाइनान्स लिमिटेड, ज्योति विकास बैंक, सेन्ट्रल फाइनान्स कम्पनी, हिमालयन पावर पार्टनर रहेका छन् ।
बजार बढेको दिन पनि माउन्टेन इनर्जी नेपाल लिमिटेड, नेपाल टेलिकम, बोटलर्स नेपालसहितका कम्पनीले १ देखि ३ प्रतिशतसम्मले गुमाएका छन् । आज सबैभन्दा बढी कारोवार अपि पावर कम्पनीको भएको छ । यसको १६ करोड ६५ लाख रुपैयाँको कारोबार भएको पनि नेप्सेले जानकारी दिएको छ ।