
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
नेपाल र भारतले सीमापार अपराध अनुसन्धान तथा न्यायिक सहकार्यलाई प्रभावकारी बनाउन पारस्परिक कानूनी सहायता सम्झौता (एमएलएए) कार्यान्वयनमा ल्याउने आन्तरिक तयारी पूरा भएको छ ।
साथै दुवै देशबीच सीमापार व्यक्तिगत रकम स्थानान्तरणलाई सहज बनाउन भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (युपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) बीच प्रत्यक्ष आबद्धता शुरू गरिएको छ।
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच शनिबार नयाँ दिल्लीमा भएको द्विपक्षीय वार्तापछि भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यी विषय उल्लेख गरिएको छ ।
००००
पोखरा–६ बैदामस्थित फेवा तालमा ‘बोटिङ’ गर्ने क्रममा हुरीका कारण समस्यामा परेका १२ पर्यटकको उद्धार गरिएको छ ।
आज दिउँसो ४:३० बजे फेवा तालमा अचानक हुरी आएपछि तालमा फसेका स्वदेशी तथा विदेशी पर्यटकको सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेडक्वाटरको टोलीले उद्धार गरेको हो ।
००००
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धाराढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो पिकअप गाडी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो पिकअप दुर्घटनामा परेका हुन् ।
००००
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल सरकारका कानुन अधिकृतहरूलाई देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ काम गर्न निर्देशन दिएकी छन् ।
शनिबार राजधानीमा आयोजित दोस्रो कानुन अधिकृत सम्मेलन, २०८३ को समापन समारोहमा उनले कानुन मन्त्रालयमा नियमित गरिने कानुन निर्माणका कार्यले सामान्य नागरिकको जीवनमा ठूलो प्रभाव पार्ने भन्दै जिम्मेवारीलाई सचेततापूर्वक निर्वाह गर्न आग्रह गरिन् ।
००००
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको शताब्दीऔँ पुरानो सम्बन्धलाई अब भावनात्मक कुरामा मात्र सीमित नराखी ठोस तथ्य, तथ्याङ्क र नतिजामा आधारित बनाउनुपर्नेमा जोड दिएका छन् ।
नेपालमा नयाँ राजनीतिक शक्तिको उदय र बदलिँदो जनअपेक्षासँगै दुई देशबीचको कुटनीतिक सम्बन्धलाई नयाँ ढङ्गले 'रिसेट' गर्नुपर्ने उनको धारणा छ ।
००००
परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार साँझ नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।
भेटवार्तामा भारतीय विदेशमन्त्री जयशंकरले भारत नेपालसँग पारस्परिक प्रगति, समृद्धि र दुवै देशका नागरिकको कल्याणका लागि मिलेर काम गर्न प्रतिबद्ध रहेको बताए ।
००००
पूर्वगृहमन्त्री सुधन गुरुङले ईश्वरी भुजेलको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् ।
गुरुङ आज प्रहरी वृत्त बालाजु पुगेर घटनाका बारेमा जानकारी लिँदै सो सम्बन्धमा सत्यतथ्य छानबिन गर्न आग्रह गरेका उनको सचिवालयले जनाएको छ ।
त्यसअघि पूर्वमन्त्री गुरुङले मृतक भुजेलकी आमा र दिदीसँग भेट गरेर घटनाका बारेमा जानकारी लिएका थिए ।
००००
क्रिकेट संघ रूपन्देहीको नेतृत्वका लागि पूर्वक्रिकेटर शक्ति गौचन र हरिबहादुर थापाबीच प्रतिस्पर्धा हुने भएको छ । यही जेठ २५ गते हुने निर्वाचन तथा पाँचौँ अधिवेशनमा विगतका चिरपरिचित प्रतिस्पर्धी गौचन र थापा आमनेसामने हुन लागेका हुन् ।
००००
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ ।
आगामी असार १ देखि ९ गतेसम्म पूरक परीक्षा हुँदैछ ।
यसअघि, एसईई- २०८२ को परीक्षाफल एक महिनामा प्रकाशन गरिएको थियो ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीले आगामी असार २५ गतेभित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताए ।
००००
जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ ।
कोषमा यही जेठ २० गतेसम्म एक खर्ब ११ अर्ब सात करोड पाँच लाख ८५ हजार बराबरको योगदान रकम जम्मा भएको छ ।
००००
बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त पाँच सहकारी संस्थाका ठूला ऋणीको नामावली सार्वजनिक गरेको छ ।
समितिको शुक्रबारको निर्णयबाट लालीगुराँस सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, सुमेरु सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका ११४ जना ठूला ऋणीको नामावली सार्वजनिक गरिएको हो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठनात्मक नीतिअनुरूप शनिबारदेखि देशभर एकसाथ जिल्ला अधिवेशनहरू शुरू भएका छन्।
पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी आयोजना गरिएको देशव्यापी जिल्ला अधिवेशन जेठ २३ र २४ गते गरी दुई दिनसम्म सञ्चालन हुने रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। अधिवेशनअनुसार कतिपय जिल्लाको जतिजा आउन थालेको छ ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चार हजार दुई सय ४६ वडामा अधिवेशन सम्पन्न भएका छन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार हालसम ५१२ स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भइसकेको छ ।
थप चार नगरपालिका र चार वडामा समिति अद्यावधिक भएका छन् । शनिबार र आइतबार रास्वपाको जिल्ला अधिवेशन हुँदैछ ।
००००
प्रधानमन्त्री बालेन शाहले शनिबार राति आफ्नो व्यक्तिगत फेसबुकमा रमाइलो स्टाटस लेखेका छन् । उनले फेसबुकमा लेखेका थिए, 'मलाई पनि राजदूत बन्न मन छ । प्रधानमन्त्रीको नम्बर छ भने यस्सो दिनोस् त !'
केही दिनअघि सचिव कृष्णहरि पुस्करले आफूलाई राजदूत बनाइदिन आग्रह गर्दै प्रधानमन्त्रीलाई एसएमएस गरेको विषयमा व्यङ्ग्य गर्दै बालेनले आफ्नो फेसबुकमा यस्तो लेखेको बुझिएको छ । बालेको यो लेखाइ अहिले फेसबुकमा खाताहरुमा चर्चाको विषय बनेको छ । कतिपयले बालेनको यो नक्कली फेसबुक हो कि भनेर प्रश्न पनि उठाएका छन् । तर यो उनकै व्यक्तिगत फेसबुक अकाउन्ट भएको उनकै सचिवालयको भनाइ छ ।