
व्यवसाय क्षेत्रमा जम्दै गरेको नाम हो लिमा अधिकारी ।
नेपाल चेम्बर अफ कमर्स, महिला चेम्बरलगायत विभिन्न संगठनहरूमा सक्रिय भूमिकामा रहेकी लिमा व्यवसायिक क्षेत्रमा फड्को मारिरहेकी छिन् ।
उनको पारिवारिक पृष्ठभूमि व्यापारजत्तिकै राजनीतिसँग पनि जोडिएको छ ।
लिमा पूर्व अर्थमन्त्री एवं पुराना कम्युनिष्ट नेता भरतमोहन अधिकारीकी छोरी हुन् ।
अर्कातर्फ उद्यमी सुदीप आचार्यकी पत्नी तथा कृष्णप्रसाद आचार्यकी बुहारी हुन् ।
लिमाको बाल्यकाल राजनीतिक पृष्ठभूमिकै बित्यो ।
विराटनगरबाट काठमाडौंसम्मको यात्रा तय गर्दा आफ्ना पिता भरतमोहनको राजनीतिक विचार तथा यात्राले उनलाई डोर्याइरह्यो ।
सानै उमेरमा बुवाले नै उनलाई काठमाडौं ल्याए ।
उनले काठमाडौंमै प्राथमिक शिक्षा सकाइन् र चीनमा गएर उच्च शिक्षा हासिल गरिन् ।
करीब ८ वर्ष चीनमा अध्ययन गरेर नेपाल फर्किएकी लिमालाई शुरूमा के काम गर्ने भन्ने मेसो नै थिएन ।
चीनबाट फर्किएको २ महिनामै उनको उद्यमी सुदीप आचार्यसँग विवाह भएको थियो ।
यो सन् २००२ को कुरा हो । बिहेसँगै उनी व्यवसाय गर्ने सोचमा पुगिन् ।
विवाहको २ महिनापछि उनले परिवारमा प्रस्ताव राखिन्, म पनि केही व्यवसाय गर्छु ।
पति र परिवारले सहजै हुन्छ भने । व्यवसायमा लगानी गर्नका लागि सल्लाह समेत दिए ।
चीनमा केही वर्ष बसेर आएकी उनले उता चलेको व्यवसाय यता नि चल्छ भन्ने सोचिन् ।
राजनीतिक विरासतमा हुर्किएकी लिमाले औद्योगिक विरासतमा आफ्नो यात्रा तय गरिन् ।
यो यात्राले नै उनलाई अहिले व्यावसायिक बजारमा जमाउँदै लगेको छ ।
उनले विवाह गरेको केही समयमै शुरू गरेकी थिइन्– ‘सेप अफ स्लिमिङ सेन्टर ।’
चाइनिज प्रविधि भित्र्याएर उनले शुरू गरेको सो व्यवसाय विषेशगरी महिलालक्षित थियो ।
उनले महिलाहरूको तौल घटाउने तथा सुन्दर बनाउने हेतुले स्पा शुरू गरिन् ।
व्यवसायका लागि उनले परिवारसँगै केही रकम लिएकी थिइन् ।
५ लाख रुपैयाँ लगानीबाट शुरू भएको सो स्लिमिङ सेन्टरले आक्रामक व्यापार गर्न थाल्यो ।
त्यसपछि उनले कुमारीपाटी, बानेश्वर, नक्साल हुँदै पोखरामा समेत फ्रेन्चाइज खोलेकी छिन् ।
स्पा सेन्टर खोलेसँगै उनी पारिवारिक घुमघामका लागि अमेरिका गइन् ।
अमेरिकामा करीब ३ वर्ष बसेपछि उनी नेपाल फर्किइन् ।
मुलुकमा शान्ति वार्ता भइसकेपश्चात उनी नेपाल फर्किएकी थिइन् ।
त्यसपश्चात उनले आफ्नो व्यवसायलाई निरन्तरता दिइन् । सोही समयमा उनले कुमारीपाटीदेखि पोखरासम्म ब्रान्च तथा फ्रेन्चाइज खोल्न भ्याइन् ।
‘माओवादी शान्ति सम्झौतामा आइसकेपश्चात मुलुकमा लगानीको वातावरण भयो, त्यसपछि बुवाले नै हामीलाई नेपाल बोलाउनुभयो,’ लिमा सम्झन्छिन् ।
व्यवसायकै दौरानमा उनले थप व्यवसाय विस्तारको सोच बनाइन् । उनको सो सोचलाई भूकम्पले केही पर धकेल्यो ।
भूकम्पपछि उनले ललितपुरको सानेपामा स्पा सेन्टर खोलिन् । ‘अमृता स्पा सेन्टर’मार्फत अहिले उनले आफ्नो व्यावसायिक यात्रा गरिरहेकी छिन् ।
***
चीनबाट फर्किएसँगै उनलाई कामका लागि विभिन्न ‘अफर’ आएको थियो ।
प्रायः बैंकहरूले कामको अफर गरेको उनले बताइन् ।
बुवा भरतमोहनले पनि उनलाई बैंकमा जागिर खाए राम्रो हुन्छ भन्ने गर्दथे ।
‘बुवाले पनि बैंकमा जान बेलाबेला सम्झाइरहनुहुन्थ्यो,’ उनी भन्छिन्, ‘तर मलाई जागिरतर्फ त्यति रहर थिएन, केही न केही बिजनेस गर्छु भन्ने लाग्थ्यो ।’

पारिवारिक व्यवसाय समेत अगाडि बढाउँदै
उनको परिवारले विभिन्न क्षेत्रमा लगानी गरेको छ । उनले आफ्नो व्यवसायका साथसाथै परिवारको व्यवसायलाई अगाडि बढाउन पनि सहयोग गर्दै आइरहेकी छिन् ।
उनी परिवारकै लगानीमा रहेको जलविद्युत आयोजनाको प्रमोटर समेत हुन् ।
उनको संलग्नता यतिमै सीमित छैन ।
उनी नेपाल पूर्वाधार विकास बैंकमार्फत बैंकिङ क्षेत्रमा समेत सक्रिय हुँदै आएकी छिन् ।
नेपाल पूर्वाधार बैंकको निर्देशक रहेकी लिमा इमर्जिङ नेपाल कम्पनीमा पब्लिक डिरेक्टरको भूमिकामा छिन् ।
उनले नेपाल पूर्वाधार विकास बैंकमार्फत पहिलोपटक बैंकिङ क्षेत्रमा काम गरेकी हुन् ।
लिमा नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य छिन् भने नेपाल महिला चेम्बर अफ कमर्सको महासचिव तथा नेपाल–चाइना चेम्बर अफ कमर्सको सचिव समेत हुन् ।
महिला उद्यमीहरूलाई प्रोत्साहन
विभिन्न संघसंगठनमा सक्रिय लिमाले महिला उद्यमीहरूलाई प्रोत्साहनको काम समेत गर्दै आएकी छिन् ।
महिला उद्योगी व्यवसायीहरूलाई सहयोग गर्ने, प्रशिक्षण तथा प्रोत्साहनका लागि सहजीकरण गर्ने काम उनले गरिरहेकी छन् ।
चेम्बरअन्तर्गत अहिले एक हजारभन्दा बढी महिलाहरू उद्यमशीलतामा सक्रिय छन् ।
उनीहरूलाई कसरी अगाडि बढाउने तथा उनीहरूको व्यापार विस्तारमा कसरी सहजीकरण गर्ने भन्नेतर्फ संगठनले काम गरिरहेको अधिकारी बताउँछिन् ।
‘नेपाली उत्पादनहरूलाई कसरी बजार दिने भन्ने विषयमा सहजीकरण गर्ने काम गरिरहेका छौँ,’ उनी भन्छिन् ।
महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि के गर्दा सहज हुन्छ भन्नेबारे प्रशिक्षण दिने लगायतका काम पनि गर्दै आएको उनले बताइन् ।
जेष्ठ नागरिकहरूलाई सहयोग
अधिकारी अहिले व्यवसायका साथसाथै सामाजिक कार्यहरूमा पनि सक्रिय हुन थालेकी छन् । पिता भरतमोहन अधिकारीको निधन भएसँगै उनले पिताको नाममा सामाजिक संस्था सञ्चालन गरिरहेकी छिन् ।
भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले अहिले मुलुकभरका जेष्ठ नागरिकहरूलाई विभिन्न किसिमका सहयोग गर्दै आएको अधिकारी बताउँछिन् ।
जेष्ठ नागरिकहरूलाई वित्तीय साक्षर बनाउने, पेन्सन लिनका लागि बैंकको पहुँच सिर्जना गर्ने तथा मोबाइल फोनमा समेत आवश्यक पर्ने कामहरू आफैं गर्न सक्ने बनाउने काम गर्दै आएको उनको भनाइ छ ।