२५ जेठ २०८३, सोमबार
जिन्दगीभर नमेटिने घाउ

जन्ती जीप दुर्घटनाको ३३ दिनपछि एउटा हात गुमाएर अस्पतालबाट फर्किइन् बेहुली रिमा

फागुन २६, २०७८
जन्ती जीप दुर्घटनाको ३३ दिनपछि एउटा हात गुमाएर अस्पतालबाट फर्किइन् बेहुली रिमा

विवाह सकेर जन्तीसहित घर फर्किँदै गर्दा दुर्घटनामा परेर घाइते भएका बेहुला दानबहादुर खड्का र बेहुली रिमा जिसी ३३ दिन अस्पताल बसेर घर फर्किएका छन् । 

गएको माघ २२ गते प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर– ६ लिवाङमा जन्ती बोकेको जीप दुर्घटना हुँदा आठ जनाले ज्यान गुमाएका थिए भने बेहुला/बेहुलीसहित पाँचजना घाइते थिए । 

नयाँ जीवन शुरूआत गर्दैगर्दाको अकल्पनीय घाउको खाटो बस्न थालेपछि उनीहरू बिहीवार फकिएका हुन् ।

जीवनभर कहिल्यै नमेटिने तीतो अनुभव सँगालेर अस्पतालबाट बाहिरिँदै गर्दा रिमा भावविह्वल बनिन् । कुरा गर्न खोज्दा उनको आवाज बन्द भयो । 

एकछिन रोकिएपछि उनले भनिन्, ‘यस्तो अकल्पनीय घटना भयो । मेरो एउटा हात गुमेको छ । श्रीमानलाई त्यति ठूलो चोट छैन । तीतो अनुभवलाई भुलेर बाँकी जीवन जिउनुको विकल्प हामीसँग रहेन ।’

रिमालाई अहिले गाडी चढ्दा निकै डर लाग्न थालेको छ ।

नयाँ संसारमा रमाउनुपर्ने दिन घटेको दुःखद् घटनाले महिना दिनसम्म उनलाई अस्पतालमा बसायो ।

अब चैत ३ गतेमात्र उनी कर्मघर पुग्नेछिन् ।

‘आउँदो चैत ३ गते मात्र लिवाङ (घर) जाने हो । त्यतिबेलासम्म लुङ (माइतीघर) नै बस्छौं ।’ 

घरदेखि झन्डै दुई घण्टाको दूरीमा रहेको लुङ पुगी रिमासँग लगनगाँठो कसेका दानबहादुरले श्रीमतीलाई अझै घर भित्र्याउन पाएका छैनन् । 

दानबहादुरलाई दुर्घटनाग्रस्त जीपले थिचेको थियो भने रिमाको हात कामै नलाग्ने गरी किचिएको थियो ।

रिमाको दाहिने हात कुहिनोबाट तलतिर काटेर फालिएको छ ।

दानबहादुरलाई बाहिर देखिने चोट नभए पनि ढाडको दुखाइ अझै पनि निको भएको छैन ।

रूपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा ३३ दिन उपचार गराएर उनीहरू कम्तिमा घर फर्किन सक्ने भएका छन् ।

दुर्घटनाबारे छैन धेरै सम्झना, होशमा आउँदा अस्पतालमा

गाडी दुर्घटनामा पर्दाको क्षण लौ लड्यो भन्ने आवाजबाहेक अरू केही पनि उनीहरूलाई याद रहेन छ ।

होशमा आउँदा आफूहरूलाई अस्पतालको बेडमा पाएको उनीहरूले बताए ।

रिमाको माइती घरबाट नौबहिनी गाउँपालिका वडा नम्बर ६ लुङबाट लिवाङतर्फ जाँदै गर्दा राति १ बजेतिर जीप दुर्घटनामा परेको थियो ।

दानबहादुले विवाहको दिन भएको कहालीलाग्दो घटनाले मनमा ठूलो चोट पुगेको बताए । आफूहरू ठूलो भाग्यले बाँचेको खड्काले बताए ।

दुलहीका दाजु सुदन जिसीले बहिनीज्वाइँ महिना दिनभन्दा बढीको अस्पताल बसाइपछि बिहीवार घर फर्किएको बताए । 

सुदनले लोकान्तरसँग भने, ‘ज्वाइँका काका (वसन्त खड्का)ले पानी र हिउँले बाटो हिलो छ, राति नहिँडौं त भन्नुभएको थियो । तर लेखेको कुरा जसरी पनि भइछाड्ने रहेछ ।’  

दुलहीसँगै गएकी सुदनकी श्रीमती सावित्रा पनि घाइते थिइन् । उनको अहिले पनि भैरहवामा उपचार भइरहेको छ । 

दुर्घटनामा बेहुलाका काका वसन्त, उनकी श्रीमती र छोरीसहित ८ जनाले ज्यान गुमाएका थिए । 

२१ वर्षिया रिमा कक्षा १० मा अध्ययनरत छिन् । 

रातिको विवाह भएकाले जन्तीको जीप साँझ ४ बजेमात्र घरबाट हिँडेको थियो । विवाह सकेर सोही राति ११ बजे बेहुलीसँगै बेहुलीकी बहिनी र भाउजूलाई पनि लिएर जन्तीको जीप बेहुलाको घरतर्फ फर्कियो । 

खड्का निवासमा बुहारी आउने रौनकसँगै नाचगान भइरहेको थियो । श्रीमती लिएर फर्किएका दानबहादुर पनि खुशी थिए ।

जीपमा जन्ती समूहका आफन्ती रमाइलो गर्दै आइरहेका थिए । घर पुग्न १० मिनेट बाँकी हुँदा अकल्पनीय घटना घट्यो । जीप सडकदेखि ३०० मिटर तल खोलामा खस्यो । 

बेहुली आउने समयमा दुःखद् खबर आएपछि सिंगो परिवार शोकाकुल बन्यो ।

उपचारका लागि रिमालाई दुई लाख र दानबहादुरलाई ६० हजार खर्च लागेको छ । होटलमा खाना खाँदा ५० हजार खर्च भएको रिमाका बुवा गोविन्दले बताए ।

दुर्घटनामा परी ग १ ज ५०९२ नम्बरको जीप धुजाधुजा भएको थियो ।

दानबहादुरले गाउँमै कृषि पेशा गर्दै आइरहेका छन् । 

भाग्यले बाँचेको जीवन गाउँमै केही उद्यम गरेर सुख-दुःखका साथ बिताउने उनले बताए ।

त्यसका लागि सबैको हौसला आवश्यक रहेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्