काठमाडौं, २२ असार– उत्तर कोरियाले लगातार क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिकाले सैन्य कारवाही गर्ने चेतावनी दिएको छ ।

उत्तर कोरियाले आफ्ना गतिविधि नरोके र आवश्यक परेमा सैन्य कारबाही गर्न सकिने चेतावनी अमेरिकाले दिएको छ ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलले उत्तर कोरियाका कारण उत्पन्न हुने खतराबाट अमेरिकाको रक्षाका लागि तयारी गरेको बताए ।
उत्तर कोरियाविरुद्ध नयाँ प्रतिबन्ध लगाउने सम्बन्धमा संयुक्त राष्ट्रसंघमा प्रस्ताव पेश गरिने पनि उनले बताए ।
उत्तर कोरियाले मंगलबार गरेको मिसाइल परीक्षणले उसले सैन्य क्षमता तीब्र गतिमा विस्तार गरेको देखिएको भन्दै यसले विश्वका लागि खतरा हुने अमेरिकाको भनाइ छ ।
संयुक्त राष्ट्रसंघले कुनै पनि किसिमको परमाणु कार्यक्रम गर्न नपाउने गरी उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ ।
तर उत्तर कोरियाले भने लगातार मिसाइल परीक्षण गर्दै आएको छ ।