०६ असार २०८३, शनिबार

भएन चमत्कारः आधार इलाकामै समेटियो माओवादी

कात्तिक २०, २०७४
 भएन चमत्कारः आधार इलाकामै समेटियो माओवादी

काठमाडौं २२ असार– दशक अघि सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा माओवादीले पाएको मतले मूलधारका कांग्रेस–एमाले अत्तालिएका थिए । माओवादी जीतको छायाँ संविधानसभामा यसरी प्रतिविम्बीत भयो कि, माओवादी अध्यक्ष प्रचण्डलाई देखाएर कांग्रेस–एमालेले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको शासकीय स्वरुपमा छलफल समेत गर्न चाहेनन् । ‘संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यबस्था गरेमा प्रचण्डले २५ बर्ष छाड्दैनन’ भन्दै कांग्रेस एमालेका सभासद्हरुले प्रत्यक्ष कार्यकारीको प्रस्तावको विपक्षमा उभिए ।

माओवादी शक्तिसामु मुलधारका दलहरु निरिह सावित भएका थिए । तैपनि कांग्रेसका नेता डा रामशरण महतले प्रत्यक्ष कार्यकारीको कुरा उठ्दा प्रचण्डसंग चुनाव लड्न आफू तयार रहेको प्रतिक्रिया दिएका थिए । एमाले अध्यक्ष केपी ओलीले २०६४ सालमा माओवादीले पाएको जनमतलाई ‘बर्खाको खहरे’ खोलोको संज्ञा दिए पनि दोस्रो संविधानसभा निर्वाचनमा माओवादीको हैसियत यति कमजोर हुने सायदै अपेक्षा गरिएको थियो ।

संविधानसभा, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता एजेण्डा आफ्नो भएको दावी गरे पनि माओवादीलाई जनताले पत्याउन छाडेको संकेत दोस्रो संविधानसभा नजिताले देखायो । यहाँसम्मकी सर्वहाराको राजनीति गरेको दावी गर्ने माओवादीले मजदुर किसानको समेत भोट पाएन् । स्थानीय तह मार्फत ‘सिंहदरवारको अधिकार गाउँ गाउँमा’ पुराएको भनेर प्रचार गरे पनि स्थानीय तहको निर्वाचनको नतिजाले माओवादीका लागि खासै सुखद रहेन ।

पहिलो चरणमा चुनाव भएका २ सय ८३ स्थानमध्ये माओवादीले ४६ स्थानमा चुनाव जितेको थियो । पहिलो चरणमा चुनाव सम्पन्न गरेको भनेर तत्कालिन प्रधानमन्त्री प्रचण्डको चौतर्फी प्रसंशा भयो । तर दोस्रो चरणको चुनावमा माओवादीको हैसियत झन खस्कियो । ३ सय ३४ स्थानमा भएको चुनावमा माओवादी ३७ स्थानमै सीमित रहने संकेत देखिएको छ । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल चुनाव मार्फत आफूहरुका एजेण्डा लागू भएको बताउँछिन । ‘सीट संख्या कम भएपनि भोट हामीलाई पनि आएको छ, पहिलो चरणमा चुनाव भएका ५२ स्थानमा हामी दोस्रो पोजिसनमा छौै’ उनले लोकान्तरसँग भनिन् ।

संसदमा तेस्रो स्थानमा रहेको माओवादी केन्द्र स्थानीय तहको चुनावमा पनि तेस्रो स्थानमा सीमित रह्यो । यसपटकको चुनावमा ‘कांग्रेस हाफ, माओवादी पत्तासाफ’ हुन्छ भनेर एमालेका कतिपय नेताहरुले ‘स्टण्ट’ गरेका थिए । माओवादी नेताहरु पनि चुनावमा बेहाल हुने हो कि भनेर चिन्तित थिए । तर दुवै चरणको चुनावको नतिजाबाट माओवादीहरु ‘सन्तुष्ट’ जस्दै देखिएका छन् । ‘अपेक्षा अलि बढी नै थियो तर सोचे अनुसार आएन’ प्रवक्ता भुसालले भनिन, ‘नतिजाले त्रिपक्षीय शक्ति सन्तुलन कायम गरेको छ ।’

कुनैवेला देशको ८५ प्रतिसत ग्रामीण भेग आफ्नो प्रभावमा रहेको दावी गर्ने र पहिलो संविधान सभाको चुनावमा कांग्रेस र एमालेलाई एकैठाँउमा जोडदा पनि दोब्बर भएको पार्टी एक दशकमै किन यसरी खुम्चियो भन्ने कुरा बामपन्थी राजनीतिमा चासो राख्नेहरुका लागि जिज्ञासाको बिषय हो । माओवादीका कतिपय नेताहरु चुनावमा कांग्रेस–एमालेले ठूलो आर्थिक चलखेल गरेको आरोप लगाउँछन् ।

किन पराजीत भयो माओवादी ?

भद्रगोल संगठन

सशस्त्र युद्ध गरेर आएको पार्टी माओवादी केन्द्रको संगठन एक दशकमै छिन्न भिन्नको अबस्थामा पुगेको छ । पार्टीमा ‘होलटाइमर’ कार्यकर्ता पालेको माओवादीसंग अहिले त्यस्ता प्रतिबद्ध कार्यकर्ता पलायन भएका छन् । स्थानीय स्तरमा रहेका माओवादीका कार्यकर्ता या पलायन भएका छन् या निराशा बटुलेर बसेका छन् । नेताहरु शहर केन्द्रीत र सुविभाभोगी हुँदा माओवादी संगठन छिन्नभिन्न बनेको छ । ‘संगठन सुद्रिढीकरण गरेर जनतामा जाँदा माओवादीप्रतिको आस्था र विश्वासमा कमी आएको छैन भन्ने निश्कर्ष छ’ प्रवक्ता भुसाल भन्छिन् ।

विभाजनको मनोविज्ञान

शान्ति प्रक्रियामा आएको एक दशकमा माओवादी शक्ति पटक पटक विभाजन भएर अहिले चार टुक्रा बनेको छ । पार्टी विभाजन भएर नेता कार्यकर्ता बाँडिए पनि माओवादीप्रति आस्था राख्ने ‘स्वतन्त्र वामपन्थी कित्ता’ अलमलमा परेको छ । माओवादीमा ‘क्रान्तिकारी’ दावी गर्ने तप्का नेत्रविक्रम चन्द्र विप्लव समूहमा छ भने ‘इमान्दार र निष्ठावान कम्युनिष्ट’ दावी गर्ने सानो समूह मोहन बैद्यसँग छ । बैद्य समूहको ठूलो तप्का मूलधारमा फर्किएपनि विभाजनको असर पुरै मेटिएको छैन ।

उम्मेदवारीको टिकट वितरणमा पनि त्यसको प्रभाव देखिएको बताइन्छ । माओवादी विभाजित हुँदा वामपन्थी झुकान राख्ने मतदाता विभाजित हुँदा माओवादीले चुनावमा पराजय व्यहोर्नु पर्यो ।

चारहजार नेता, प्रचण्ड एक्लो

पार्टीको आकार दुम्चिदै गए पनि माओवादीमा नेताको कमी छैन । चिनियाँ कम्युनिस्ट पार्टीलाई माथ गर्नेगरी ४ हजारको जम्बो केन्द्रीय सदस्य माओवादीमा छ । तर दुवै चरणको चुनाव प्रचारमा प्रचण्ड एक्लै दौडेको देखियो । दोस्रो तहका नेताहरु बरु सामाजिक सञ्जालमा नेतृत्वविरुद्ध कटाक्ष गर्दै बसेको देखियो । कतिपय स्थानमा पार्टीका पोलिटव्यूरो सदस्य नै स्थानीय चुनावमा पराजीत भए । ४ हजारको जम्बो केन्द्रीय समिति रहे पनि त्यो देखावटी मात्र भयो ।

‘चामल बेच्न’ नजान्नु

आफूले गरेका राम्रा कामको मार्केटिङ गर्न नजान्नु माओवादीको कमजोरी रहेको नेताहरु स्वीकार्छन् । प्रचण्ड नेतृत्वको सरकारले लोडसेडिङ अन्त्य लगायत केही देखिने काम गरे पनि त्यसको जस÷श्रेय लिन माओवादी सफल भएन । पहिलो चरणको स्थानीय चुनावपछि प्रचण्डले ‘अरुले पिठो बेचेपनि आफूहले चामल समेत बेच्न’ नजानेको भनेर संसदीय दलको बैठककमै बोलेका थिए ।

नेकपा एमालेले बृद्धभत्ताको नारा लिएर जनतामा जाँदा देशबाट लोडसेडिङ हटाएको कुराको श्रेय लिन नसक्नु कमजोरी भएको माओवादीको विश्लेषण छ ।

आक्रामक प्रचार शैलीको अभाव

चुनाव प्रचार प्रशारको समयमा एमालेले जस्तो अक्रामक प्रचार गर्न गर्न नसक्नु माओवादी हारको अर्को कारण हो । सरकारले गरेका राम्रा कामको प्रचार र विरोधीले फैलाएका भ्रम चिर्न नसक्नु आफूहरुको कमजोरी रहेको प्रवक्ता भुसाल पनि स्वीकार्छिन् । ‘विरोधीले फैलाएका भ्रम चिरेर त्यसको भण्डाफोर गर्न नसक्नु कमजोरी रह्यो’ उनले भनिन् ।

आधार इलाका सुरक्षित

स्थानीय चुनावमा तेस्रो स्थानमा खुम्चिए पनि माओवादी केन्द्रले ‘आधार इलाका’मा भने सुरक्षित राखेको छ । माओवादी प्रवक्ता पम्फा भुसाल संगठन सुदृढ गरेर जनतामा जाँदा माओवादी फेरि पनि पहिलो पार्टी बन्ने सम्भावना जीवितै रहेको दावी गर्छिन् । ‘चुनावमार्फत हाम्रा एजेण्डा लागू भएका छन्, संगठन बनाएर जनतामा जाँदा फेरि पनि माओवादी पहिलो पार्टी बन्ने सम्भावना देखेका छौ.’ उनले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्