काठमाडौं २२ असार– दशक अघि सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा माओवादीले पाएको मतले मूलधारका कांग्रेस–एमाले अत्तालिएका थिए । माओवादी जीतको छायाँ संविधानसभामा यसरी प्रतिविम्बीत भयो कि, माओवादी अध्यक्ष प्रचण्डलाई देखाएर कांग्रेस–एमालेले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको शासकीय स्वरुपमा छलफल समेत गर्न चाहेनन् । ‘संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यबस्था गरेमा प्रचण्डले २५ बर्ष छाड्दैनन’ भन्दै कांग्रेस एमालेका सभासद्हरुले प्रत्यक्ष कार्यकारीको प्रस्तावको विपक्षमा उभिए ।
माओवादी शक्तिसामु मुलधारका दलहरु निरिह सावित भएका थिए । तैपनि कांग्रेसका नेता डा रामशरण महतले प्रत्यक्ष कार्यकारीको कुरा उठ्दा प्रचण्डसंग चुनाव लड्न आफू तयार रहेको प्रतिक्रिया दिएका थिए । एमाले अध्यक्ष केपी ओलीले २०६४ सालमा माओवादीले पाएको जनमतलाई ‘बर्खाको खहरे’ खोलोको संज्ञा दिए पनि दोस्रो संविधानसभा निर्वाचनमा माओवादीको हैसियत यति कमजोर हुने सायदै अपेक्षा गरिएको थियो ।
संविधानसभा, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता एजेण्डा आफ्नो भएको दावी गरे पनि माओवादीलाई जनताले पत्याउन छाडेको संकेत दोस्रो संविधानसभा नजिताले देखायो । यहाँसम्मकी सर्वहाराको राजनीति गरेको दावी गर्ने माओवादीले मजदुर किसानको समेत भोट पाएन् । स्थानीय तह मार्फत ‘सिंहदरवारको अधिकार गाउँ गाउँमा’ पुराएको भनेर प्रचार गरे पनि स्थानीय तहको निर्वाचनको नतिजाले माओवादीका लागि खासै सुखद रहेन ।
पहिलो चरणमा चुनाव भएका २ सय ८३ स्थानमध्ये माओवादीले ४६ स्थानमा चुनाव जितेको थियो । पहिलो चरणमा चुनाव सम्पन्न गरेको भनेर तत्कालिन प्रधानमन्त्री प्रचण्डको चौतर्फी प्रसंशा भयो । तर दोस्रो चरणको चुनावमा माओवादीको हैसियत झन खस्कियो । ३ सय ३४ स्थानमा भएको चुनावमा माओवादी ३७ स्थानमै सीमित रहने संकेत देखिएको छ । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल चुनाव मार्फत आफूहरुका एजेण्डा लागू भएको बताउँछिन । ‘सीट संख्या कम भएपनि भोट हामीलाई पनि आएको छ, पहिलो चरणमा चुनाव भएका ५२ स्थानमा हामी दोस्रो पोजिसनमा छौै’ उनले लोकान्तरसँग भनिन् ।
संसदमा तेस्रो स्थानमा रहेको माओवादी केन्द्र स्थानीय तहको चुनावमा पनि तेस्रो स्थानमा सीमित रह्यो । यसपटकको चुनावमा ‘कांग्रेस हाफ, माओवादी पत्तासाफ’ हुन्छ भनेर एमालेका कतिपय नेताहरुले ‘स्टण्ट’ गरेका थिए । माओवादी नेताहरु पनि चुनावमा बेहाल हुने हो कि भनेर चिन्तित थिए । तर दुवै चरणको चुनावको नतिजाबाट माओवादीहरु ‘सन्तुष्ट’ जस्दै देखिएका छन् । ‘अपेक्षा अलि बढी नै थियो तर सोचे अनुसार आएन’ प्रवक्ता भुसालले भनिन, ‘नतिजाले त्रिपक्षीय शक्ति सन्तुलन कायम गरेको छ ।’
कुनैवेला देशको ८५ प्रतिसत ग्रामीण भेग आफ्नो प्रभावमा रहेको दावी गर्ने र पहिलो संविधान सभाको चुनावमा कांग्रेस र एमालेलाई एकैठाँउमा जोडदा पनि दोब्बर भएको पार्टी एक दशकमै किन यसरी खुम्चियो भन्ने कुरा बामपन्थी राजनीतिमा चासो राख्नेहरुका लागि जिज्ञासाको बिषय हो । माओवादीका कतिपय नेताहरु चुनावमा कांग्रेस–एमालेले ठूलो आर्थिक चलखेल गरेको आरोप लगाउँछन् ।
किन पराजीत भयो माओवादी ?भद्रगोल संगठनसशस्त्र युद्ध गरेर आएको पार्टी माओवादी केन्द्रको संगठन एक दशकमै छिन्न भिन्नको अबस्थामा पुगेको छ । पार्टीमा ‘होलटाइमर’ कार्यकर्ता पालेको माओवादीसंग अहिले त्यस्ता प्रतिबद्ध कार्यकर्ता पलायन भएका छन् । स्थानीय स्तरमा रहेका माओवादीका कार्यकर्ता या पलायन भएका छन् या निराशा बटुलेर बसेका छन् । नेताहरु शहर केन्द्रीत र सुविभाभोगी हुँदा माओवादी संगठन छिन्नभिन्न बनेको छ । ‘संगठन सुद्रिढीकरण गरेर जनतामा जाँदा माओवादीप्रतिको आस्था र विश्वासमा कमी आएको छैन भन्ने निश्कर्ष छ’ प्रवक्ता भुसाल भन्छिन् ।
विभाजनको मनोविज्ञानशान्ति प्रक्रियामा आएको एक दशकमा माओवादी शक्ति पटक पटक विभाजन भएर अहिले चार टुक्रा बनेको छ । पार्टी विभाजन भएर नेता कार्यकर्ता बाँडिए पनि माओवादीप्रति आस्था राख्ने ‘स्वतन्त्र वामपन्थी कित्ता’ अलमलमा परेको छ । माओवादीमा ‘क्रान्तिकारी’ दावी गर्ने तप्का नेत्रविक्रम चन्द्र विप्लव समूहमा छ भने ‘इमान्दार र निष्ठावान कम्युनिष्ट’ दावी गर्ने सानो समूह मोहन बैद्यसँग छ । बैद्य समूहको ठूलो तप्का मूलधारमा फर्किएपनि विभाजनको असर पुरै मेटिएको छैन ।
उम्मेदवारीको टिकट वितरणमा पनि त्यसको प्रभाव देखिएको बताइन्छ । माओवादी विभाजित हुँदा वामपन्थी झुकान राख्ने मतदाता विभाजित हुँदा माओवादीले चुनावमा पराजय व्यहोर्नु पर्यो ।
चारहजार नेता, प्रचण्ड एक्लो पार्टीको आकार दुम्चिदै गए पनि माओवादीमा नेताको कमी छैन । चिनियाँ कम्युनिस्ट पार्टीलाई माथ गर्नेगरी ४ हजारको जम्बो केन्द्रीय सदस्य माओवादीमा छ । तर दुवै चरणको चुनाव प्रचारमा प्रचण्ड एक्लै दौडेको देखियो । दोस्रो तहका नेताहरु बरु सामाजिक सञ्जालमा नेतृत्वविरुद्ध कटाक्ष गर्दै बसेको देखियो । कतिपय स्थानमा पार्टीका पोलिटव्यूरो सदस्य नै स्थानीय चुनावमा पराजीत भए । ४ हजारको जम्बो केन्द्रीय समिति रहे पनि त्यो देखावटी मात्र भयो ।
‘चामल बेच्न’ नजान्नुआफूले गरेका राम्रा कामको मार्केटिङ गर्न नजान्नु माओवादीको कमजोरी रहेको नेताहरु स्वीकार्छन् । प्रचण्ड नेतृत्वको सरकारले लोडसेडिङ अन्त्य लगायत केही देखिने काम गरे पनि त्यसको जस÷श्रेय लिन माओवादी सफल भएन । पहिलो चरणको स्थानीय चुनावपछि प्रचण्डले ‘अरुले पिठो बेचेपनि आफूहले चामल समेत बेच्न’ नजानेको भनेर संसदीय दलको बैठककमै बोलेका थिए ।
नेकपा एमालेले बृद्धभत्ताको नारा लिएर जनतामा जाँदा देशबाट लोडसेडिङ हटाएको कुराको श्रेय लिन नसक्नु कमजोरी भएको माओवादीको विश्लेषण छ ।
आक्रामक प्रचार शैलीको अभावचुनाव प्रचार प्रशारको समयमा एमालेले जस्तो अक्रामक प्रचार गर्न गर्न नसक्नु माओवादी हारको अर्को कारण हो । सरकारले गरेका राम्रा कामको प्रचार र विरोधीले फैलाएका भ्रम चिर्न नसक्नु आफूहरुको कमजोरी रहेको प्रवक्ता भुसाल पनि स्वीकार्छिन् । ‘विरोधीले फैलाएका भ्रम चिरेर त्यसको भण्डाफोर गर्न नसक्नु कमजोरी रह्यो’ उनले भनिन् ।
आधार इलाका सुरक्षितस्थानीय चुनावमा तेस्रो स्थानमा खुम्चिए पनि माओवादी केन्द्रले ‘आधार इलाका’मा भने सुरक्षित राखेको छ । माओवादी प्रवक्ता पम्फा भुसाल संगठन सुदृढ गरेर जनतामा जाँदा माओवादी फेरि पनि पहिलो पार्टी बन्ने सम्भावना जीवितै रहेको दावी गर्छिन् । ‘चुनावमार्फत हाम्रा एजेण्डा लागू भएका छन्, संगठन बनाएर जनतामा जाँदा फेरि पनि माओवादी पहिलो पार्टी बन्ने सम्भावना देखेका छौ.’ उनले भनिन् ।