०१ असार २०८३, सोमबार

कतार संकटबाट नेपालजस्ता साना देशले के सिक्ने ?

कतार संकटबाट नेपालजस्ता साना देशले के सिक्ने ?

कतारले आफूभन्दा ठूला छिमेकीको आज्ञापालकको भूमिका निर्वाह गर्न अस्वीकार गरेर अन्तर्राष्ट्रिय सम्बन्धमा साना देशका लागि उदाहरण पेश गरेको छ । अहिले साउदी अरब र संयुक्त अरब इमिरेट्सको गठबन्धनले यो सानो खाडी मुलुकलाई थप नाकाबन्दी लगाएर आर्थिक रूपमा घाँटी च्याप्न लागेको स्थिति छ ।

कतारले खाडी मुलुकहरूको १३ वटा मागलाई अस्वीकार गरेको विषयमाथि छलफल गर्नका लागि उक्त देशहरू कायरोमा भेला हुँदै गर्दा साना राज्यहरू विकसित घटनाक्रमलाई नजिकैबाट नियालिरहेका छन् । ती १३ मागले कतारको सार्वभौमसत्तामाथि प्रहार गरेर त्यहाँका अमिरलाई बेइज्जती गर्ने उद्देश्य राखेका छन् ।

साउदी–युएई गठबन्धनले कतारलाई लडाकु तथा अतिवादीहरूलाई समर्थन दिन बन्द गर्नुपर्ने, खाडी मुलुकमा टर्केली सैन्य आधार बन्द गर्नुपर्ने, इरानसँगको सम्बन्ध पातलो पार्नुपर्ने अनि अल जजीरा टिभी नेटवर्क बन्द गर्नुपर्ने माग तेर्स्याएका थिए ।

कतारले यी मागहरू लत्याएर आफ्नो सार्वभौमसत्तामाथि सम्झौता नगर्ने अनि आफ्नो स्वतन्त्र बाटो हिँड्ने अधिकारमा दृढ रहने प्रतिबद्धता देखाएको छ ।

यस्तो प्रतिक्रियाले खाडी संकटलाई अर्को स्तरमा पु–याउने निश्चित छ किनकि थप प्रतिबन्धले कतारी अर्थतन्त्रलाई पक्षाघात गर्ने देखिन्छ । तर संकट शुरु भएको एक महिनामा कतारले कूटनीतिक सम्बन्धविच्छेद र आर्थिक बहिष्कारलाई झेल्न सक्ने क्षमता रहेको देखाइसकेको छ ।

यसबाट साना मुलुकले सिक्ने पाठ प्रस्ट छ : अन्य धेरै साना मुलुकको विपरीत कतार तेल र ग्यास निर्यातबाट गरेको आर्थिक वृद्धिका कारण नाकाबन्दीलाई प्रतिकार गर्न समर्थ छ ।

‘यसबाट सिक्ने पाठ भनेको अन्ततोगत्वा सानो मुलुकले आफ्नो रक्षाका लागि क्षमता अभिवृद्धि गर्नुपर्छ । अर्कामा भर परेर स्वतन्त्रता जोगाउन सकिन्न,’ सिंगापुरका प्रभावशाली कूटनीतिज्ञ टम्मी कोहले बताए । कोहको यो विश्लेषणलाई आत्मसात गर्दै कतारले दुग्धपदार्थमा आत्मनिर्भर बन्नका लागि कदम उठाइसकेको छ । साउदी अरबबाट कतारमा सबभन्दा बढी आयात हुने नै दुग्धपदार्थ हो ।

गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) मा आबद्ध खाडी मुलुकहरूका बीचको व्यापार १० प्रतिशतभन्दा पनि कम रहेको तथ्यले पनि कतारलाई नाकाबन्दीले असर नगरेको हो । जीसीसीमा उक्त क्षेत्रका राजतन्त्रहरू साउदी अरब, युएई, कतार, कुवेत, ओमान र बहराइन रहेका छन् ।

अर्थशास्त्री तथा ऊर्जाविशेषज्ञ कोर्नेलिया मायरका अनुसार कतारले यो संकटमा पर्याप्त प्रतिक्रिया जनाइसकेको छ । ‘शान्त होऔं, हामी जनताको पेट भर्न सकौं । हामीले अझै ग्यास निर्यात गर्न सक्ने सुनिश्चितता गरौं,’ मायरले अल जजीराको न्युजग्रिड कार्यक्रममा भनिन् ।


अहिलेसम्म नाकाबन्दीले कतारलाई तीनवटा क्षेत्रमा असर गरेको छ । पहिलो, कतारको एउटै मात्र जमीन नाका साउदी अरबसँग छ र त्यो नाकाबाट खाना र पानीको आपूर्ति बन्द हुँदा उसले वैकल्पिक स्रोत टर्की, इरान, भारत र ओमानबाट सामान झिकाउनुपरेको छ । निर्माण सामग्रीका लागि पनि यही सत्य हो ।

दोस्रो, कतार एयरवेजले साउदी अरब, युएई र बहराइनको हवाईमार्ग बन्द भएपछि बढी इन्धन खर्च र लामो उडान समयको झन्झट बेहोर्नुपरेको छ ।

तेस्रो, कतारका पानीजहाजलाई ती तीन देशका बन्दरगाहमा रोक लगाइएपछि ओमान र भारतले वैकल्पिक बन्दरगाह उपलब्ध गराएका छन् ।

कतारले अहिलेसम्म त नाकाबन्दीको मूल्य चुकाउन सकिरहेकै छ । अर्को चरणको आर्थिक नाकाबन्दी कतारका लागि झनै महंगो हुने देखिन्छ तर कतारले यो प्रहारलाई पनि सहन सक्छ भन्ने विश्वास विश्लेषक तथा आर्थिक संस्थाहरूले लिएका छन् ।

अन्तर्राष्ट्रिय रेटिङ्स एजेन्सी स्ट्यान्डर्ड एन्ड पूअर (एस एन्ड पी) ले दिएको रिपोर्टअनुसार कतारका बैंकबाट सबै खाडी मुलुकले पैसा झिकेपनि ती बैंकलाई खासै असर पर्दैन ।

साउदी र युएईलाई जस्ताको तस्तै प्रतिक्रिया कतारले दिएको छैन । त्यसैगरी युएईले कतारबाट ऊर्जा आपूर्ति गर्न बन्द गरेको छैन । त्यसो गर्दा दुबईलाई गाह्रो पर्छ किनकि आफ्नो ४० प्रतिशत आवश्यकता पूरा गर्नका लागि ऊ कतारको प्राकृतिक ग्यासमाथि निर्भर छ । नाकाबन्दी लम्बिँदै जाँदा उसले आयात जारी राख्ने विषयमा प्रश्नचिह्न छ ।

खाडी संकट गहिरिँदै जाँदा मध्यस्थकर्ताहरूले दुवै पक्षलाई फेससेभिङ गर्न सजिलो बनाउने सूत्र पत्ता लगाउने चुनौतीको सामना गर्नेछन् । अन्ततोगत्वा पारस्परिकता नै महत्त्वपूर्ण हुन्छ तर यो सिद्धान्त अंगीकार गर्न साउदी अरब र युएईलाई गाह्रै पर्छ ।

साउदी र युएईले अल जजीरा बन्द गराउनुपर्ने माग राखेकोमा त्यसलाई सम्बोधन गर्ने सूत्र पनि उत्तिकै अप्ठ्यारो हुनेछ । अल जजीराको अंग्रेजी संस्करणले उच्चस्तरीय व्यावसायिक पत्रकारिताको अभ्यास गरेको मानिएको छ र अल जजीराको अरबी संस्करणका लागि पनि त्यही मापदण्डको अपेक्षा गरिन्छ । उक्त सूत्रले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सिद्धान्तलाई अंगीकार गर्छ अनि सबै विरोधी आवाजमाथि प्रतिबन्ध लगाउने साउदी–युएई लक्ष्यलाई यसले पूरा गर्न सक्दैन ।

खाडीको लडाईं कसरी चर्किन्छ र पछि कसरी समाधान हुन्छ भन्ने विषयले अन्तर्राष्ट्रिय सम्बन्धमा दूरगामी परिणाम ल्याउने देखिन्छ र यसले अन्य साना मुलुकका दृष्टिकोणलाई पनि परिवर्तन गर्न सक्ने सम्भावना छ । तर कतारको आर्थिक शक्ति र ग्यास निर्यातका आधारमा बनेका सम्बन्धको सञ्जालले उसलाई अद्वितीय फाइदा दिएका छन् ।

सिंगापुरका कूटनीतिज्ञ ओङ केङ योङ भन्छन्, ‘साना मुलुकका केन्द्रीय स्वार्थमाथि आघात पुग्दा अनि उनीहरू बृहत्तर शक्तिसंघर्षमा फस्दा के हुन्छ ? के साना मुलुकको चासोको कुनै मूल्य छैन वा उनीहरूले ठूला मुलुकको स्वार्थमा दबिनुपर्छ ?’

यसको उत्तर उनी आफैं दिन्छन्, ‘सामना गर्नुको विकल्प छैन । सहेर बस्दा हामीले आफूभन्दा ठूला मुलुकलाई दबाब कायम राख्न प्रेरित गर्नेछौं ।’

भावानुवाद : विन्देश दहाल

salt training

कमेन्ट गर्नुहोस्