२५ जेठ २०८३, सोमबार

भ्रष्टाचारविरुद्ध लड्न आवश्यक छ : आयुक्त चन्द

फागुन २७, २०७८
भ्रष्टाचारविरुद्ध लड्न आवश्यक छ : आयुक्त चन्द

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचारविरुद्ध मात्रै होइन, समाजको विकृति, विसंगतिविरुद्ध लड्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

महोत्तरीको जलेश्वरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन’ कार्यक्रममा बोल्दै आयुक्त चन्दले हामीले मानवोचित कार्यमा सरिक नहुँदा समाजमा भ्रष्टाचार, विकृति, विसंगति फस्टाएको बताए ।

हामीले समाजमा खराब आचरण भएका व्यक्तिलाई खराब र राम्रो आचरण भएका व्यक्तिलाई राम्रो नभनेसम्म यस्ता विकृति रहिरहने उनले बताए । अख्तियारमा पर्ने जुनसुकै उजुरीको छानबिन हुने बताउँदै उनले उजुरी छानबिनमा सहयोग नगर्ने परिपाटीले उजुरी फर्स्यौटमा समय बढी लागेको बताए । चोरलाई चोर भन्यो भने पीडा हुन्छ तर आफूले चोरी नगरेको र कहिल्यै पनि चोरी गर्दिनँ भनेर अगाडि नसर्ने प्रवृत्ति रहेको बताउँदै उनले जनप्रतिनिधिलाई भ्रष्टाचार नगर्न र जनताको हितमा काम गर्न आग्रह गरे ।

सरकारी कर्मचारी समयमा कार्यालय नजाने, आसन लगाएर बस्ने, काम नगर्ने, शिक्षकहरू आफ्नै छोराछोरी पढ्ने विद्यालयको रकम खान अग्रसर हुने जस्ता सामाजिक विकृतिका समस्या बढेको बताउँदै ती विकृतिलाई रोक्न अख्तियार अग्रसर भएको आयुक्त चन्दले बताए । उनले अख्तियारकै उपस्थितिका कारणले ५० प्रतिशतभन्दा बढी भ्रष्टाचारजन्य कुरामा कमी आएको दाबी गरे ।

कार्यक्रममा सहभागीले अख्तियारले कामकारवाहीमा ढिलासुस्ती गर्ने गरेको, समयमा छानबिन नगर्ने गरेको, कानूनअनुसार काम नगर्ने गरेको भनाइ व्यक्त गरेका थिए । ती आरोपको खण्डन गर्दै आयुक्त चन्दले नेपालमा अख्तियार नै नियमअनुसार चलेको पहिलो कार्यालय भएको दाबी समेत गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुरेशप्रसाद सिंहले जिम्मेवार विमुख भएर काम गर्ने हो भने समाज बन्न नसक्ने तर्क गर्दै अहिलेको परिस्थितिमा भ्रष्टाचारजन्य विकृति, विसंगति हाम्रो संस्कारका रूपमा देखिएकाले यसलाई निर्मूल गर्न आग्रह गरे । उनले असर व्यक्तिको प्रचारप्रसार गरी उनीहरूको अनुकरण गर्न आग्रह गरे ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका सहन्यायाधिवक्ता घनश्याम ओझा तथा बर्दिबास कार्यालयका प्रमुख सहसचिव गोपालकुमार अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमा भ्रष्टाचारका कारणले लोकतन्त्र र विधिको शासन कमजोर हुने, संगठित अपराध बढ्ने, नैतिक आचरण कमजोर हुने जस्ता कार्य हुने गरेको उल्लेख छ ।

कार्यपत्रमा अख्तियारको केन्द्रीय र मातहतका निकायमा विभिन्न माध्यमले प्राप्त भएका उजुरीमध्ये ६४ प्रतिशत उजुरी फर्स्यौट भएको उल्लेख छ । कूल २२ हजार ६२५ उजुरीमध्ये १४ हजार ५३२ उजुरी फर्स्यौट भएको र बाँकी रहेका मुद्दा यस आर्थिक वर्षमा सरेको उल्लेख गर्दै यो आर्थिक वर्षमा ११४ वटा मुद्दा विशेष अदालतमा दायर गर्ने निर्णय गरिएको जनाइएको छ । ती मुद्दामा ४४३ जनालाई प्रतिवादी बनाई १ अर्ब ८९ करोड ५५ लाख ५० हजार ४३२ रुपैयाँ बिगो मागदाबी गरिएको उल्लेख छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्