३० असार २०८३, मंगलबार

विदेशी मुद्रा सञ्चितिमा ८ अर्बको सुधार, यस्तो छ मुलुकको अर्थ चित्र

फागुन २७, २०७८
विदेशी मुद्रा सञ्चितिमा ८ अर्बको सुधार, यस्तो छ मुलुकको अर्थ चित्र

चालू आर्थिक वर्ष लागेदेखि लगातार घट्दै गएको विदेशी विनिमय सञ्चिति माघ महिनामा भने ८ अर्बले सुधार भएको छ । 

चालु आर्थिक वर्षको ७ महिनामा १६.२ प्रतिशतले घटेको भए पनि चालु आवको ६ महिनाको तुलनामा सातौँ महिनामा भने झिनो अंकले सुधार देखिएको छ । आयातमा नियन्त्रण गरिएका कारण विदेशी सञ्चितिमा सुधार देखिएको हो । 

पुसमा ११ खर्ब ६५ अर्ब रूपैयाँ मात्रै रहेको यस्तो रकम माघमा भने ११ खर्ब ७३ अर्ब पुगेको छ ।  

नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार असार महिनामा १३ खर्ब ९९ अर्ब ३ करोड रूपैयाँ रहेको विदेशी विनिमय सञ्चिति माघमा आइपुग्दा १६ प्रतिशतले घटेको भए पनि पछिल्लो एक महिनामा भने सुधार आएको देखिएको छ ।

अमेरिकी डलरमा यस्तो विदेशी मुद्रा सञ्चिति १७ प्रतिशतले घटेको छ । चालू आवको ७ महिनामा ९ अर्ब ७५ करोड डलर विदेशी विनिमय सञ्चिति रहेको छ । यस्तो रकम असार मसान्तमा ११ अर्ब ७५ करोड डलर रहेको थियो ।

७ महिनामा नेपालमा ५ खर्ब ४० अर्ब १२ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले घटेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई ४ अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको थियो ।

माघ महिनामा महँगीदर ५.९७ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा जम्मा २.७० प्रतिशत मुद्रास्फीति दर रहेको थियो । यो अवधिमा सबैभन्दा बढी महँगी घ्यु तेलमा छ । यी वस्तुमा २०.६८ प्रतिशत मूल्यवृद्धि रहेको छ । 

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १४.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाह भएको कर्जा २५.३ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १२.१ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १२.८ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २२.७ प्रतिशतले बढेको छ ।

७ महिनाको अर्थतन्त्रको चित्र 

आयात – ११ खर्ब ४७ अर्ब रूपैयाँ

निर्यात – १ खर्ब ३१ अर्ब 

रेमिट्यान्स आप्रवाह – ५ खर्ब ४० अर्ब 

विदेशी मुद्रा विनिमय सञ्चिति ११ खर्ब ७३ अर्ब 

स्वदेश भित्रने र बाहिरिने रकमबीचको अन्तर (शोधनान्तर स्थिति)– २ खर्ब ४७ अर्ब घाटा

वस्तु तथा सेवा आयात धान्न पुग्ने डलर सञ्चिति– ६.७ महिनाको

उपभोक्ता मुद्रास्फीति (महंगीदर)– ५.९७  प्रतिशत

बैंकिङ प्रणालीमा रहेको निक्षेप – १ खर्ब ३५ अर्ब

बैंकहरूले प्रवाह गरेको कर्जा – ५ खर्ब ७ अर्ब

salt training

कमेन्ट गर्नुहोस्