
सरकारले राजधानीको फोहोर व्यवस्थापन हुने मुख्य स्थान बन्चरेडाँडा ल्यान्डफिल साइटमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ ।
पटक पटक फोहोर व्यवस्थापन गर्न समस्या आएपछि मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरेर फोहोर व्यवस्थापनका लागि विगतमा भएका प्रतिबद्धता कार्यान्वयन गर्न सरकारले पहल पनि सुरु गरेको छ ।
सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू शुक्रबार सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन् ।
फोहोर व्यवस्थापन गर्दा हुने वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा मानव जीवन, पशुपन्छी, जीवजन्तु तथा वनस्पतीमा पर्ने प्रभाव न्यूनीकरण गर्न आवश्यक रहेको कार्कीले बताए ।
उनले भने, “यी सबै उपाय अवलम्बन गर्दै फोहोरको वैज्ञानिक व्यवस्थापनका लागि सम्बन्धित निकायबाट अविलम्ब आवश्यक कार्य प्रारम्भ गर्न र पहुँच सडकको निर्माण तथा स्तरोन्नति गर्न सम्बद्ध निकायलाई निर्देशन गरिएको छ ।” गोरखापत्र दैनिकमा सूर्यप्रसाद पाण्डेले खबर लेखेका छन् ।