
गृह मन्त्रालयले भ्रमण भिसा र सोबाट सिर्जित समस्या समाधानका लागि अध्यागमन विभागलाई १८ बुँदे निर्देशन दिएको छ ।
भ्रमण भिसामा गएर उतै बस्ने तथा त्यस्ता व्यक्ति विभिन्न समस्यामा पर्ने गरेका घटना सार्वजनिक भएपछि सरकारले भ्रमणमा जाने व्यक्तिको हकमा केही कडाइ गरेको हो ।
भ्रमण भिसा र त्यसबाट सिर्जित समस्या समाधानका उपाय सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले गएको हप्ता गृह मन्त्रालयलाई पेस गरेको अध्ययन प्रतिवेदनमा भ्रमण भिसामा जान दस लाख रुपियाँ आय देखाउनुपर्ने उल्लेख थियो तर गृह मन्त्रालयले तत्कालका लागि पाँच लाख रुपियाँ देखाए पुग्ने व्यवस्था गरेको छ ।
माघ १० मा गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा गठित कार्यदलले शैक्षिक, लैङ्गिक, आर्थिकलगायतका प्रावधान राखेर त्यसका आधारमा मात्र भ्रमण भिसामा विदेश जान पाउने व्यवस्था गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो ।
विभागलाई लेखेको पत्रमा खाडी मुलुकभन्दा बाहिर जाँदा कम्तीमा एक पटक र खाडी मुलुकको हकमा दुई पटक विदेश यात्राको अभिलेख भएका व्यक्ति, न्यूनतम माध्यमिक तहको शिक्षा वा सो सरहको प्राविधिक तथा व्यावसायिक सीप भई आधिकारिक निकायबाट प्रमाणित भएका वा उच्च शिक्षा हासिल भएका व्यक्तिको हकमा भ्रमण भिसाका लागि आवश्यक व्यवस्था गर्न भनिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।