
काठमाडौं, २२ असार — बुधवार साहित्यकार झमककुमारी घिमिरेमाथि बनेको चलचित्र जीवन काँडाकी फूलको प्रीमियर सो थियो ।
प्रीमियर सो मा चल्तीका पत्रकारदेखि नेता तथा साहित्यकारहरु उपस्थित हुन्छन् । उक्त फिल्मको प्रीमियर सोमा पनि चल्तीका पत्रकारदेखि नेता सम्म सबै उपस्थित भएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि थिइन् फिल्मकी पात्र झमक । विशेष अतिथी थिए पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली ।
फिल्मको प्रीमियर सो हुन बाँकी नै थियो । तर त्यो भन्दा अघि सानो एउटा भाषणको कार्यक्रम भयो । भाषणको कार्यक्रममा नेताले त बोल्नै पर्यो । अझ ओली त विशेष अतिथी बनेरै कार्यक्रममा उपस्थित भएका थिए ।
कार्यक्रममा बोल्नको लागि ओलीको बोलावट भयो । ओली सदा झैं सानका साथ भाषण गर्ने मञ्चमा पुगे । र भटाभट भाषण गरे ।
ओलीले त्यहाँ कुनै पनि राजनीतिक भाषण गरेका होइनन् । उनले आफ्नो भाषणको सबै हिस्सा साहित्यकार झमक घिमिरेको प्रसंशामै खर्च गरे ।
गम्भीर प्रकृतिको शारिरीक अशक्तता भएर पनि झमकले निकै राम्रा साहित्यहरू लेखेको भन्दै ओलीले झमकको निकै प्रसंशा गरे । संसारका ठूला ठूला विश्व विद्यालय पढेकाहरुसँग पनि झमकसँग जति क्षमता नभएको उनले बताए ।
आफ्नो जीवन वृतान्त खुट्टैले लेखेर चर्चा कमाएकी झमकलाई ओलीले सम्मान नगर्ने कुरै थिएन । कुनै विद्यालय र विश्वविद्यालय प्रवेश नगरेरै झमकले विद्यावारिधीको उपाधि समेत प्राप्त गरेकोमा ओलीले निकै खुलेर प्रसंशा गरे ।
ओलीले प्रसंशा गरिरहेका बेला भने, ‘भूपी शेरचनले लेखेको एउटा कविता छ — ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल, सृजनाशक्ति कहिल्यै पनि हुँदैन निष्फल । झमक पनि ढुंगाको काप फोरेकी पात्र हुनुहुन्छ ।’
हँसाउने भाषण गर्ने ओलीले गम्भीर प्रकृतिको भाषण गरिरहेका थिए । कार्यक्रममा उपस्थित भएकाहरुले पनि ओलीलाई निकै ध्यानपूर्वक सुनिरहेका थिए ।
ओलीले तथ्यगत त्रुटी गरेको धेरैले पनि थाहा पाएनन् । तर मञ्चमा बसिरहेका अर्का अतिथि राष्ट्रकवि माधव घिमिरे मुसुमुसु हाँसिरहे । घिमिरे हाँसेपछि ओली पनि मुसुमुसु हाँसे । अनि गल्ती सच्याउने तर्फ लागे ।
घिमिरेको हाँसोबाट भेउ पाएर होला, ओलीले आफूले गरेको भाषणलाई सच्याउने कोशिश गरे । ‘यो कविता त माधवप्रसाद घिमिरेले लेख्नुभएको हो क्यारे, आखिर प्रगति गर्ने घिमिरेले नै त हो ।’ किनकी त्यो कविता घिमिरेले नै लेखेका थिए ।
कार्यक्रममा हाँसो फैलियो । ओली भाषण गर्दा गर्दै आफूले गरेको गल्ती मात्रै सच्याएनन् माधव घिमिरेको सफलता र झमक घिमिरेको सफलतालाई सँगै राखेर तुलना गर्ने कोशिश समेत गरे ।