
मोरङको सुन्दरहरैँचा-७ मा डेढ वर्षीया बालिकाको मृत्यु रहस्यमय बन्दै गएको छ । बालिका शुक्रवार साँझ ५ बजे तिर घरबाट हराएकी थिइन् ।
परिवारले खोज्दा ६ बजेतिर नजिकैको झाडीमा बालिका चिच्याइरहेको अवस्थामा फेला पारेका थिए ।
‘छिमेकीका अनुसार बालिकालाई गछियाको गछिया मेडिकल हलमा लगिएको रहेछ,’ वडाध्यक्ष चैतनिय सिटौलाले भने ‘त्यहाँ जाँच गर्दा शरीरका विभिन्न अंगमा चोटपटक तथा योनीबाट रगत बगिरहेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।’
त्यहाँबाट बालिकालाई उपचारका लागि विराटनगरको नोबेल अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा शुक्रवार मध्यरात मृत्यु भएको वडाध्यक्ष सिटौलाको भनाइ छ ।
प्रहरीले भने बालिकाको स्वास्थ्य परीक्षण रिपोर्ट आइनसकेकाले केही भन्ने अवस्था नरहेको बताएको छ ।
‘घटनाको अनुसन्धान थालेका छौँ,’ जिल्ला प्रहरी कार्यालय मोरङका एसपि जनार्दन जिसीले भने, ‘शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छौं, रिपोर्ट आएपछि एकिन भन्न सकिन्छ ।’