१४ असार २०८३, आइतबार
सरसर्ती २४ घण्टा

प्रकाश सपूतको गीतले माओवादीमा हलचल, किन भयो विवाद ?

युट्युबबाटै हटाउन चेतावनी
फागुन २९, २०७८
प्रकाश सपूतको गीतले माओवादीमा हलचल, किन भयो विवाद ?

तत्कालीन नेकपा माओवादीको नेतृत्वमा १० वर्ष लामो सशस्त्र युद्ध भयो । जसको बलमा मुलुकमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीलगायतका ऐतिहासिक परिवर्तन भए । तर व्यवस्था बदलिएपनि परिवर्तनका लागि लड्ने योद्धाहरु र आमनागरिकको अवस्थामा भने सुधार आउन नसकेको आशयसहित ‘पिर’ नाम गीतको म्युजिक भिडियो गायक प्रकाश सपूतले शुक्रबार सार्वजनिक गरे । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै नेकपा माओवादी केन्द्रमा हलचल पैदा भएको छ ।  माओवादीका नेता कार्यकर्ता गीतमा समावेश भएको दृश्यलाई लिएर सपूतमाथि खनिएका छन् ।

माओवादी र माओवादीप्रतिमा आस्था राख्नेहरुले गीतको भिडियोमा तत्कालीन महिला जनमुक्ति सेना यौनकर्ममा लाग्न बाध्य भएको चित्रण गरिएको भन्दै आपत्ति जनाएका हुन् । उनीहरुले सो भिडियो युट्युबबाट हटाउन सपूतलाई चेतावनी नै दिएका छन् । 

यो गीतका विषयमा अहिले सामाजिक सञ्जालमा पक्ष–विपक्षमा बहस चर्किएको छ । गीतको म्युजिक भिडियोको सुरुमै जनयुद्धका एक घाइते पुरुष योद्धा आफ्नो पारिवारिक जीविका चलाउन काठमाडौंमा मासु पसल चलाउँदै आएको देखाइएको छ । तर, उनको आर्थिक अवस्था राम्रो हुन सकेको छैन ।  उनको मासु पसल खासै चल्दैन । आन्दानी नहुने हुँदा कोठामा उनको श्रीमतीसँग ठाकठुक पर्छ । उनलाई राम्रो आम्दानी हुने भन्दै विदेश जान सल्लाह जनयुद्धकै घाइते जीवनसंगिनीले दिन्छिन् । तर उनी ‘मर्न परे आफ्नै देशमा मर्ने’ भन्दै विदेश जान तयार नभएपछि श्रीमती नै विदेश जाने निर्णयमा पुग्छिन् । सोही निर्णयअनुसार पासपोर्ट बनाएर उनी विदेशिन्छिन् । 

‘बस्नेलाई पिर परेर हुनसम्म भा’छ
जानेलाई नजाउ भन्न नसकिने र’छ.
तिम्रो मयाले मलाई पिर दियो
कमलो मुटु, कमलो छाती चिर्दियो....’

श्रीमती विदेशिएपछि उनी छोरीसँगै काठमाडौंमा बस्छन् भने तीन महिनासम्म श्रीमतीसँग सम्पर्क हुँदैन । साथीको लहलहैमा लागेर उनी यौनकर्मीकहाँ यौन प्यास मेट्न पुग्छन् । तर घटनाले फरक मोड लिन्छ । अर्थात ती यौनकर्मी महिला अरु कोही नभएर जनयुद्धमा सँगै लडेकी महिला जनमुक्ति सेना थिइन् । उनी बाध्यताले यो पेशामा थिइन् । उतिबेलाकी जनमुक्ति सेना अहिले यस्तो अवस्थामा देखेपछि उनी छाँगाबाट खसेजस्तै हुन्छन् । 

जनयुद्धकै क्रममा श्रीमती विदेश पठाएका युवकको बिहे भएको थियो भने त्यतिबेला भिडियोमा चित्रण गरिएकी यौनकर्मी महिला जनयुद्धका सशक्त योद्धा थिइन् । जतिबेला उनलाई पनि भिडन्तमा गोली लागेका थियो ।  तर ती जनमुक्ति सेना जस्ता जनयुद्धका होमिएका कयौँ महिलाको शान्तिप्रक्रियामा आएपछि अवस्था दयनीय रहेको भन्ने सन्देश सपूतको गीतमा दिन खोजिएको छ । सपूतको गीतमा प्रयोग भएको सोही दृश्य यतिबेला आलोचनाको विषय बनेको हो । 
यसो त समस्यामा पर्दा उच्च ओहोदामा रहेका तत्कालीन जनयुद्धकै नेताहरुले योद्धाहरुको पीडा नसुनेको सन्देश पनि गीतमा दिइएको छ । 

एउटै घटना कोहीलाई फाइदा कोहीलाई भयो हानी
कतै पर्यो आत्मसम्मान कतै स्वाभिमानी
तिम्रो मयाले मलाई पिर दियो
कमलो मुटु, कमलो छाती चिर्दियो....’

जनयुद्धका सीमित टाठाबाठाचाहिँ सहकर्मीचाहिँ उच्च तहमा पुगेको भिडियोमा चित्रण गरिएको छ । उनले भिडियोमार्फत जनयुद्धमार्फत केहीको जीवनस्तरमा परिवर्तन भएपनि योद्धा र जनताको जीवनस्तरमा परिवर्तन नभएको सन्देश दिन खोजेका  हुनुपर्छ । भलै महिला योद्धाको चरित्रको विषयलाई लिएर विवाद भइसकेकाले यसको जवाफ भने सपूतले दिनुपर्ने भएको छ ।  पुर्वजनमुक्ति सेनाकी पूर्वकमाण्डर कमला रोकाले जनमुक्ति सेनामा ऐतिहासिक बलिदान, त्याग र सौर्य प्रदर्शन गरेका हजारौं महिलाको अपमान प्रकाश सपूतको गीतले गरेको बताइन् ।  

नेपाली समाजमा व्याप्त शोषण, दमन, अत्याचार र उत्पीडनविरुद्ध सुरु भएको जनयुद्धमा ४० प्रतिशत बढी महिलाहरुको संघर्षपूर्ण योगदान रहेको बताउँदै उनले सपूतको गीतले भने जनयुद्धका उपलब्धिलाई पुरै उपेक्षा गरेर अंशलाई नै सत्य बनाएर भ्रम छर्न खोजेको आरोप लगाइन् । 

यसैगरी अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहलगायतका धेरै माओवादी नेता कार्यकर्ताले भिडियोमा समावेश भएको जनयुद्धका योद्धाको चरित्रमाथिको दृश्य हटाउन माग गरेका छन् । 
अर्को समूहले भने परिवर्तनको आन्दोलन हाँकेको माओवादी पछिल्लो समय स्खलित भएको बताउँदै त्यही आन्दोलनमा होमिएकाहरुको विल्लिबाठ भएको अवस्थामा सपूतले भिडियो कलात्मक ढंगले निर्माण गरेको टिप्पणी गरेका छन् । सपूतको गीतमाथि विवाद चर्किँदै गर्दा उनको ‘पिर’ बोलको गीत नम्बर १ ट्रेन्डिङमा रहेको छ । 

सामाजिक विषयवस्तुमा गीत बनाउने सपूतका पछिल्ला गीतहरु हिट हुँदै आएका छन् । यद्यपि उनी विवादमा आएको पहिलो पटक भने होइन । यसअघि उनीमाथि ‘गलबन्दी’ बोलको गीत चोरीको आरोपै लागेको थियो भने त्यसलाई स्वीकार्न बाध्य पनि भएका थिए । 

कलाकारहरु गीतकै विषयमा लिएर विवादमा आएको उनी एक्लो पनि होइनन् । गायक पशुपति शर्मा पनि यस्तै गीतका कारण विवादमा तानिएका थिए ।  ‘लुट्न सके लुट’ बोलको गीतमा शर्माले नेताहरुमाथि आक्षेप लगाएपछि उनले गीत नै युट्युबबाट हटाएका थिए । गीतको भाका, अश्लिल शब्दलगायतका कारणले आलोचना र विवादका उदाहरण त झन् धेरै छन् । 

लोकान्तर राउण्ड अपमा अब २४ घण्टाका अन्य समाचार

जसपाको प्रथम संघीय परिषद् बैठक शनिबारदेखि सुरु भएको छ । काठमाडौँमा सुरु भएको बैठकमा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले समसामयिक राजनीति र जसपाको कार्यदिशासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उक्त प्रतिवेदनमाथि अहिले ८ वटा समूह बनाएर छलफल चलिरहेको छ ।
००००

काठमाडौं उपत्यकाको फोहर नुवाकोटको सिसडोलमा बिसर्जन गर्न जारी रहेको अवरोध शनिवार पनि कायमै रहेको छ ।

पछिल्लो मन्त्रिपरिषद् बैठकले नुवाकोटमा पर्ने सिसडोल र धादिङसँग सीमा जोडिएको क्षेत्र बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनको क्रममा उत्पन्न हुने प्रभाव न्यूनीकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेपनि आफूहरूको माग सम्बोधन नभएको भन्दै फोहर बिर्सजन कार्यमा जारी अवरोध कायमै रहेको सरोकार समितिले जनाएको छ ।
००००
देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७२ वर्षपछि अब दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनको तयारीमा छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवामा निर्माण गरिएको गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानको तयारीसँगै मुलुकभित्र अब २ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन् ।

आगामी जेठ २ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने तयारीका साथ यान्त्रिक परीक्षण उडान सम्पन्न विमानस्थलमा २०७९ वैशाख १ गते परीक्षण उडान हुँदैछ । जेठ २ गतेदेखि व्यावसायिक उडान सञ्चालन गरिने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
००००

सशस्त्र प्रहरीका पाँच जना एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रवार साँझ बसेको बढुवा समितिको बैठकले साधारण समूह, साधारण उपसमूहका ३ जना एसएसपी र प्राविधिकतर्फका २ जना एसएसपीलाई डीआईजीमा बढुवाको लागि सिफारिस गरेको हो ।
बढुवा हुनेमा बिदूर खड्का, लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पाल, डा रूपक महर्जन र ई सन्दीप थापा रहेका छन् ।
००००
नेकपा (एस)का अध्यक्ष माधव नेपालले एमालेको भविष्य नभएको बताएका छन् । धादिङको गल्छी गाउँपालिकामा आयोजना गरिएको नेकपा (एस)को अधिवेशनलाई सम्बोधन गर्दै उनले स्थानीय तहको चुनावमा एमालेलाई धुलो चटाउने बताए ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले मुद्दा उठाएर मुद्रा कमाउने पार्टी नभएको बताएका छन् ।  शनिवार वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीसहितका नेता कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
००००
नेकपा एसका ‘सम्मानित’ नेता झलनाथ खनालले आफूलाई हराउन कांग्रेस–एमाले लागेको दाबी गरेका छन् । 
शनिवार पार्टीको इलाम–काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै उनले चुनावमा कांग्रेस–एमाले बोरामा पैसा बोकेर जाने र पहिलो नम्बरमा आफूलाई हराउन खेल भइरहेको दाबी गरेका हुन् ।
००००
राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा होमिने बताएका छन् । 
राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय युवा मोर्चाको घोषणा सभालाई सम्बोधन गर्दै थापाले सम्पूर्ण नेपालीहरूलाई एउटै सूत्रमा बाँधेर हिँडाउन सनातन धर्म, संस्कृतिको रक्षा गर्नु पहिलो आवश्यकता भएको भन्दै हिन्दूराष्ट्र पुनःस्थापनाको लागि आन्दोलनमा उत्रने उद्घोष गरे ।
००००
नदीमा नुहाउने क्रममा सुर्खेतमा तीन बालबालिका बेपत्ता भएका छन् । भेरिगंगा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा शनिबार अपराह्न तीन बालबालिका बेपत्ता भएको प्रहरीले जनाएको छ । 
बेपत्ता हुनेमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीय गंगा खड्का, ८ वर्षीय कृष्णा सिजाली र  १० वर्षीय दिनेश बुढा रहेका छन् । उनीहरुको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
००००
पछिल्लो २४ घण्टामा ७३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६२ नमूना परीक्षणमध्ये ३० पीसीआर र ४३ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्मको मृत्यु संख्या ११ हजार ९५० छ । मन्त्रालयका अनुसार थप १९२ जना संक्रमणमुक्त भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्