
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विशेष परिस्थितिमा संविधानको रक्षाका लागि निर्माण गरिएको सत्ता गठबन्धन तीनवटै तहको निर्वाचनसम्म जारी रहने बताएका छन् ।
नेपालगञ्जस्थित नेपाली काँग्रेस बाँकेको कार्यालयमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले सबै निर्वाचनमा गठबन्धन बनाएर जनतामाझ जाने विषयमा छलफल भइरहेको बताए ।
उनले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने र त्यसबारे कुनै प्रकारको शङ्का उपशङ्का नगर्न पनि सबैलाई आग्रह गरे ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने, “नेपाली काँग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारले तीनवटै तहका निर्वाचन गराउने छ, सोहीअनुसार स्थानीय तहको निर्वाचन घोषित मितिमै हुनेछ ।”
नेपाली काँग्रेसका पूर्वसभापति स्वर्गीय सुशील कोइरालालाई स्मरण गर्दै उहाँले कोइरालाकै नेतृत्वमा संविधान सभाबाट निर्माण गरिएको ऐतिहासिक संविधानको रक्षा गर्ने दायित्व पनि काँग्रेसकै रहेकोले यो सत्ता गठबन्धन बनाउनु परेको प्रस्ट पारे।
उनले संविधानको रक्षाका लागि निर्माण गरिएको गठबन्धनको सरकारले सानो समयमा संविधान र लोकतन्त्रको रक्षाका साथै जनताका चाहना र आकाङ्क्षा पनि पूरा गर्न विभिन्न उल्लेखनीय काम गरेको बताए । गोरखापत्र दैनिकमा खबर छ ।