भक्तपुर, २२ असार– नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले सरकारमै रहेको नेपाली कांग्रेस भित्रको आन्तरिक विवादका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको दाबी गरेकी छिन् ।

रफत सञ्चार क्लबले बिहीबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता भुषालले नेकपा माओवादी मन्त्रिमण्डल विस्तारका लागि तयार रहेपनि कांग्रेका कारण रोकिएको बताइन् ।
काँग्रेसभित्रकै आन्तरिक विवादका कारण प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा तत्काल मन्त्रिममण्डल विस्तार गर्ने पक्षमा नरहेको उनको भनाइ छ ।
दोस्रो चरणको स्थानीय तह निर्वाचन शान्तिपूर्ण भएको भन्दै उनले तेस्रो चरणको निर्वाचन पनि यहि सरकारले तोकिएकै समयमा गर्ने बताइन् । राजपाले पनि निर्वाचन आयोगमा दल दर्ताका लागी प्रक्रिया अघि बढाएकोले बाँकी निर्वाचनमा राजपाको पनि सहयोग समर्थन सहभागीता रहने उनको भनाइ छ ।
उनले सरकारले स्थानीय तहलाई प्रदान गरिसकेका कुनैपनि खालका अधिकारहरु कटौती हुन नसक्ने बताइन् । विगतमा विभाजनको रुपमा देखिएका माओवादी शक्तिहरुबीच एकिकरणको प्रयास पनि पाटीभित्र भैरहेको जानकारी भुसालले दिइन् ।