
शेयर बजार मापक सूचक नेप्सेमा आइतवार उत्साहजनक सुधार आएको छ । साताको पहिलो दिन नेप्से १०१.०७ अंकले बढेको हो ।
आइतवार बजारमा सबैभन्दा बढी कमाउनेमा बीमा समूह रहेका छन । तीन बीमा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।
गत साता लागत घटेर २५ सय अंकमा झरेको शेयर बजार आज भने ३.०४ प्रतिशतले बढेर २६६७ बिन्दुमा उक्लिएको छ ।
बजार बढेसँगै कारोबार रकम पनि चार अर्ब ८७ करोड रूपैयाँ पुगेको छ । आज २२८ कम्पनीको ९० लाख कित्ता शेयरको ६४ हजार ६३५ पटकको कारोबार भएको छ ।
बजार बढेसँगै तीन वटा कम्पनी एशियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
यी तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा इमर्जिङ नेपाल, कर्पोरेट डेभलपमेन्ट बैंक, सूर्य लाइफ इन्स्योरेन्स, मन्जुश्री फइनान्सका लगानीकर्ताले पनि ९ देखि ९.९९ प्रतिशतसम्मले कमाएका छन् ।
बजार बढेको दिन मेगा म्युचुअल फण्ड, प्राइम डिबेन्चर, कुमारी इक्युटी फण्ड, नबिल डिबेन्चर र सनराइज बैंक डिबेन्चरसहितका कम्पनीले भने १ देखि २.९३ प्रतिशतसम्मले गुमाएका छन् ।
आज शेयर बजारमा शिवम् सिमेन्टको सबैभन्दा बढी रकम ३४ करोड ३६ लाख रूपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी शेयर संख्यामा कारोबार हुनेमा भने अपि पावरको ५ लाख ८६ हजार २८७ कित्ता रहेको छ । सबैभन्दा बढी पटक कारोबार हुने शेयरमा अपिकै ३१ सय ६२ पटक रहेको छ ।