
नागार्जुन नगरपालिका–६, डाँडापौवा बस्ने एक परिवारका ५ जनाले फागुन २३ गते साँझ विष सेवन गरे । एक जनाको मृत्यु भयो, ४ जनाको अवस्था चिन्ताजनक छ ।
मनमोहन मेमोरियल अस्पतालमा उपचाररत ४ जनामध्ये एक मन्दिरा प्रधान अहिले अलिअलि बोल्न थालेकी छन् । तीन जना अझै अचेत छन् ।
भीममान प्रधानको सपरिवारले नै विष खाएर आत्महत्याको प्रयास गरेको थियो । भीममान, उनकी आमा इन्दिमाया, छोरी सुप्रिया अझै अचेत अवस्थामा रहेको महानगरीय प्रहरी वृत्त स्वयम्भुका वृत्तपति मिलन केसीले बताए ।
‘आमाको अवस्था गम्भीर छ । भीममानकी श्रीमती मन्दिरा भने बोल्न थालेको अस्पतालले हामीलाई बताएको छ,’ डीएसपी केसीले लोकान्तरसँग भने, ‘छोरी र भीममानको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भएको छ ।’
३३ वर्षीय सुवर्णमान प्रधानको विष सेवन गरेकै दिन अस्पतालमा ल्याउँदा ल्याउँदै मृत्यु भएको थियो ।
आर्थिक अवस्थाका कारणले विष सेवन गरेर आत्महत्याको बाटो रोजेको ‘सुसाइड नोट’ लेखिएको थियो । अहिले अस्पतालमा आफन्तले पनि आर्थिक अवस्थालाई कारण देखाएर उनीहरूलाई छोडेर हिँडेका छन् ।
भीममानकी भाउजुका अनुसार अहिले उनकी श्रीमती मन्दिराका माइती पक्ष र उनका मावली पक्षले अस्पतालमा कुरिरहेका छन् ।
‘उहाँ (भीममानका दाजु कुमारमान प्रधान) बिरामी भएर घर आउनु भएको छ । मावली र माइतीले हेरिरहेका छन्,’ उनले लोकान्तरसँग भनिन् ।
डीएसपी केसीका अनुसार नागार्जुन नगरपालिकाले आर्थिकभार बेहोर्ने प्रतिबद्धता जनाएपछि अस्पतालले उनीहरूको उपचार शुरू गरेको छ ।
‘नगरपालिकाले पैसाको जिम्मा लिएको छ । उहाँहरूकै आर्थिक सहायतामा उपचार भइरहेको छ,’ वृत्तपति केसीले भने ।
नागार्जुनको डाँडापौवामा रहेको दुई तले कच्ची घरको माथिल्लो तलामा भित्रबाट ढोका लगाएर विष सेवन गरेका थिए ।
स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेर ढोका फोडेर साढे १० बजे मनमोहन मेमोरियल अस्पताल स्वयम्भु पठाएका थिए ।
जब कुकुर एकोहोरो भुकिरह्यो...
भीममान बस्ने फ्ल्याटमा दुई वटा जर्मन सेफर्ड कुकुर थिए । बेलुका ७ बजेतिर एकोहोरो भुकिरहेका थिए ।
कुकुर एकोहोरो भुकेपछि छिमेकीले घरबेटी उद्धव पुरीलाई फोन गरेर घटनाको अवस्थाबारे बताए ।
उद्धवले अन्य समयमा पनि एक्लै बस्ने र बेलुका ढिलो आउने भएकाले खान नपाएर भुकेको अनुमान लगाए । तल्लो कोठामा डेरा गरेर बस्नेलाई हेर्न पनि लगाए तर कोही देखिएनन् । फेरि छिमेकीहरूले हेर्न खोज्दा एक जनाको खुट्टा देखियो ।
त्यसपछि उनीहरूले घरबेटीलाई खबर गरे । डल्लुमा रहेका उद्धव आए ।
भित्रबाट चेन गेटमा ताला लगाएको देखेपछि उनीहरू भित्र रहेको सहजै अनुमान लगाए । त्यो बीचमा प्रहरीलाई पनि खबर गरे । साढे ८ बजे प्रहरी आएर गेट फोडेर भित्र हेर्दा ठूलो कोठामा भीममान, सुप्रिया र इन्दिमाया मुखमा फिँज काडेको अवस्थामा भेटिएका थिए । अर्को कोठामा मन्दिरा पनि मुखमा फिँज काडेको अवस्थामा र सुवर्णमान (मृत्यु भएका) अर्को कोठामा रहेको घरबेटी पुरीले लोकान्तरलाई बताए ।
लगत्तै उनीहरूलाई प्रहरी र स्थानीयको सहयोगमा अस्पताल पुर्याइयो । अस्पतालले सुवर्णमानलाई मृत घोषणा गर्यो ।
घटनास्थलमा प्रहरीले विषका बट्टालगायतका सामानहरू फेला पारेको थियो ।