
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगातार दोस्रो पटक उत्कृष्ट नगरपालिका पुरस्कार प्राप्त गरेको छ ।
मुलुकभरका महानगर, उप–महानगर र नगरपालिकाहरूको छाता संगठन नेपाल नगरपालिका संघले सो पुरस्कार प्रदान गरेको हो ।
आर्थिक वर्ष २०७७/०७८ मा सामाजिक विकास क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेकोले त्यसको मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको संघले जनाएको छ ।
तिलोत्तमाले गत वर्ष शहरी सेवा प्रवाह तथा सुशासन विधामा पुरस्कार प्राप्त गरेको थियो । संघले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पुरस्कार प्रदान गरेको छ ।
तिलोत्तमासँगै अन्य विधामा निलकण्ठ, वालिङ, हरिवन, पुतलीबजार, इलाम र राप्ति नगरपालिका पनि पुरस्कृत भएका छन् । संघले हरेक वर्ष उत्कृष्ट नगरपालिकाहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ ।
