
साउदी अरब र अमेरिकाबीच सम्बन्ध अस्थिर भइरहेको बेलामा साउदीले विश्व अर्थतन्त्रमा डलरको प्रभुत्व अन्त्य गर्ने प्रक्रियालाई अघि बढाउन खोजेको देखिएको छ ।
सञ्चारमाध्यमहरूमा हालै प्रकाशित रिपोर्टहरूमा साउदी सरकारले चिनियाँ मुद्रा युआनमा तेलको कारोबार गर्न चाहेको उल्लेख छ । यो अमेरिकाको आर्थिक शक्तिका लागि ठूलो धक्का हुनेछ किनकि अमेरिकाको वित्तीय सुरक्षाको आधार नै पेट्रोडलर हो ।
मंगलवार (मार्च १५) मा द वाल स्ट्रीट जर्नलमा प्रकाशित एक लेखमा रियादले डलर मापदण्डको साटो चिनियाँ युआनमा तेलको मूल्य निर्धारण र कारोबार गर्ने विषयमा विचार गरिरहेको उल्लेख गरिएको छ । विगत ६ वर्षदेखि मूल्य निर्धारणसम्बन्धी यस्तो योजना बनिरहेको भए पनि बाइडन प्रशासनले साउदी अरबमाथि दिएको कठोर दबाबका कारण साउदीले युआनमा कारोबार गर्ने विषयलाई गम्भीरतापूर्वक विचार गर्न थालेको छ ।
वाल स्ट्रीट जर्नलले एक साउदी सूचनादातालाई उद्धृत गर्दै लेखेको छ, ‘परिस्थिति नाटकीय रूपमा परिवर्तन भएको छ । साउदीहरूसँग अमेरिकाको सम्बन्ध बदलिएको छ । चीन संसारको सबभन्दा ठूलो कच्चा तेल आयातक हो र चिनियाँहरूले साउदीलाई लोभलाग्दा प्रस्तावहरू गरेका छन् । साउदीलाई चाहिने सबै कुरा चीनले दिने भनिरहेको छ ।’
वित्तीय बजारमा यस खबरको प्रभाव तत्कालै परेको छ । एसियाली बजारमा डलरको तुलनामा विदेशमा सञ्चित युआनको मूल्य ह्वात्तै बढेको छ । यसले गर्दा चिनियाँ मुद्रामा लगानी गरिने अपेक्षाहरू पनि बढेका छन् ।
आगामी दिन र हप्ताहरूमा यसको प्रभाव झनै बढ्ने अपेक्षा छ किनकि अहिलेको तनाव र द्वन्द्वको परिस्थितिमा डलरको प्रभुत्व अन्त्यका लागि साउदीसँग उम्दा अवसर छ । पश्चिमको ध्यान अर्कोतर्फ केन्द्रित भएको बेलामा साउदीले विशाल स्तरको अन्तर्राष्ट्रिय प्रतिबन्धको प्रतीक्षा नगरी गैरडलरीकरण (डिडलराइजेसन) सम्बन्धी आर्थिक उपाय अपनाउने अवसर पाएको छ ।
वास्तवमा साउदीको यो कदम रोचक देखिन्छ र यसको रणनीतिक मूल्य पनि उच्च छ । साउदी तेल निर्यातको एक चौथाइभन्दा बढी भाग चीनले किन्ने गरेको छ ।
सन् २०१८ देखि चीनले रेनमिनबीमा मूल्य निर्धारण हुने गरी सम्झौता गर्न साउदीलाई प्रस्ताव गर्दै आएको छ । दुवै देशले यस विषयमा सहकार्यलाई बढाएका छन् । उदाहरणका लागि, साउदीको सरकारी तेल कम्पनी अरामकोले उत्तरपूर्वी चीनमा नयाँ तेल प्रशोधन केन्द्र बनाउनका लागि सहयोग गर्ने बताएको छ । त्यहाँ दिनको तीन लाख ब्यारल तेल उत्पादन हुन सक्छ ।
बेइजिङले रियादलाई बेल्ट यान्ड रोड इनिसिएटिभको महत्त्वपूर्ण ऊर्जा साझेदारका रूपमा लिएको छ । रियादले नाफामूलक अल्पकालीन लगानीका लागि बीआरआई राम्रो अवसर भएको ठानेको छ । यसअर्थमा युआनलाई तेल कारोबारको मुद्रा बनाउँदा दुई देशबीच थप सहकार्यको वातावरण बन्नेछ जसले दुवै पक्षलाई लाभ दिनेछ । यसले डलरमा विश्वको निर्भरतालाई घटाउन पनि मद्दत गर्नेछ ।
तर यसबाट प्रत्यक्ष आर्थिक हित हुने भए पनि यसको गहिरो भूराजनीतिक पक्षलाई बेवास्ता गर्न मिल्दैन । अमेरिकाको बहालवाला प्रशासनले साउदी अरबविरुद्ध अहिलेसम्मकै सबभन्दा नकारात्मक अडान लिएको छ । सन् २०२१ मा बाइडनले यमनमा साउदीको युद्धलाई दिइएको सहयोग रोकेका थिए । तर अमेरिकाको हतियार उद्योगले उनलाई निर्णयमा अडिग रहन दिएन ।
बाइडनले मानवीय तथा उदारवादी विचारधारात्मक अडान लिने गरेका छन् । त्यसले गर्दा उनलाई अलोकतान्त्रिक सरकारसँग सहमति गर्न तथा हूतीहरूविरुद्धको हिंस्रक युद्धमा साथ दिनबाट पनि रोक्छ ।
अनि उनलाई आफ्नो लोकतान्त्रिक सिद्धान्त परित्याग गर्नुपर्ने बाध्यता पनि कहिलेकाहीँ आइलाग्छ । जस्तो, युक्रेनको निरंकुश शासनलाई समर्थन गर्न उनी बाध्य छन् । त्यसैले उनले विश्वमा लोकतन्त्रको प्रतिरक्षकका रूपमा आफ्नो छवि कायम गर्न कम रणनीतिक महत्त्वको मुलुकलाई तारो बनाउनुपर्ने हुन्छ । त्यसका लागि उनले साउदी अरब छाने ।
अहिले संसार अनेकौं तहमा बहुध्रुवीयतातर्फ बढिरहेको छ । त्यसमा आर्थिक र वित्तीय बहुध्रुवीयता पनि पर्छ । रुसलाई अन्य मुलुकले बहिष्कार गरेको भए पनि चीन मस्कोसँगको साझेदारीलाई सम्भव भएसम्म थप बढाउन चाहन्छ । यस्तो अवस्थामा पश्चिमले बेइजिङविरुद्ध बाध्यकारी उपायहरू कार्यान्वयन गर्न सक्ने सम्भावना छ ।
नयाँ बजारमा प्रवेश गर्नका लागि साउदी अरबले यस अवसरलाई छोप्न खोजेको छ । तेलको मूल्य युआनमा निर्धारण गरिएमा चीन तथा बीआरआईका सदस्य र ब्रिक्स समेत चीनका सहयोगी मुलुकहरूको स्वार्थ पूरा हुन्छ । यसअर्थमा गैरडलरीकरण बहुकेन्द्रीय विश्व निर्माणको प्राकृतिक परिणाम हो । पूर्वी युरोपमा भइरहेका घटनाले त्यसलाई गति दिइरहेका छन् ।
यस्तो विश्वव्यापी परिदृश्य निर्माण भइरहेको बेलामा पश्चिमसँग अब एउटै विकल्प छ । बहुध्रुवीय विश्व व्यवस्थाभन्दा अघि विनिमय मुद्राका विभिन्न मापदण्डहरू बन्ने गर्छन् र अमेरिकी डलरप्रतिको निर्भरताको गुञ्जायस रहन्न भन्ने कुरा पश्चिमले बुझ्नैपर्छ ।
अब अन्तर्राष्ट्रिय कारोबारमा डलर अपरिहार्य नभई अन्य मुद्रा जस्तै एक मुद्राका रूपमा सीमित रहने पक्का छ । उसले युआनसँग मात्र नभई अन्य मुद्रा तथा क्रिप्टोकरेन्सी जस्ता डिजिटल एसेटहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
वाशिङटनले भविष्यमा रियादसँग सुसम्बन्ध पुनः कायम गर्ला तर गैरडलरीकरणको प्रक्रियालाई उसले रोक्न सक्दैन ।
साउथफ्रन्ट डट्ओआरजीमा प्रकाशित भूराजनीतिक परामर्शदाता लुकास लेरोजको विश्लेषणलाई लोकान्तरका लागि विन्देशदहालले अनुवाद गरेका हुन् ।