काठमाडौं, २३ असार — भक्तपुर नयाँ ठिमीकी ४९ वर्षीया आशाकुमारी श्रेष्ठ विरामी आफन्तलाई भेट्न सिभिल अस्पताल जानकालागि ठिमी चोकबाट १० नम्बर रूटको माइक्रो चढिन् ।
माइक्रो हिडेको केही सेकेण्ड मात्र भएको थियो रोकियो । कोही यात्रु चढ्न आटेको होला भन्ने आशाकुमारीले सोचिन् । तर धेरै वेरसम्म गाडीमा कोही पनि चढेनन् र, माइक्रो पनि हिडेन ।
त्यसपछि उनले माइक्रोका सहचालकलाई यसबारेमा सोधिन् । सहचालकले जाम भएको बताए । आशाकुमारीले चारदोबाटोमा गाडी क्रस हुँदा जाम भएको होला भन्ने सोचिन् । धेरै बेर हुँदा पनि गाडी चलेन ।
त्यसपछि माइक्रोमा हल्ला हुन थाल्यो । केही बेरमा उनले थाहा पाइन् त्यो जाम त कोटेश्वरको पो रहेछ । कोटेश्वर ठिमीको दूरी करिब ५ किलोमिटर छ ।
आशाकुमारीले जिब्रो निकालिन्, केही बेर जाम खुल्छ कि भन्दै माइक्रोमा बसिन् । तर खुलेन, उनी माइक्रोबाट उत्रिएर घर फर्किन् । विरामीलार्इ भेट्न जान नपाएकोमा उनी सरकारसँग रिसाइन्, भन्छिन्, 'अब हिड्न पनि नपाइने भयो ।'
सामान्य अवस्थामा १५ मिनेटमा बानेश्वर पुग्ने भएपनि पछिल्ला केही दिनदेखि कोटेश्वर क्षेत्रमा अत्याधिक जाम हुने समस्या शुरु भएपछि करिब १ घण्टा नै लाग्ने गरेको छ । तर, बिहीबार भने ठिमीबाट हिडेका सवारी साधन तीन घण्टामा मात्र वसपार्क पुगे ।
विहीवार बिहानैदेखि काठमाडौंको कोटेश्वर क्षेत्रमा लामो जाम थियो । ट्राफिक प्रहरीले जति कोशिश गरेपनि राति अवेरसम्म जाम खुल्न सकेन । विहीबार कोटेश्वर, जडिबुटी, बालकुमारी क्षेत्रको जामले रकर्ड नै तोड्यो ।
बिहीवारकै जस्तो जाम शुक्रवार विहान पनि दोहोरियो । कोटेश्वरको जाममा फसेको मान्छे सजिलै त्यहाँबाट निस्कन सक्ने अवस्था छैन । तस्वीरः नारायण ज्ञवालीअरु बेला सामान्य जाम हुने गरेको भएपनि विहीवार र शुक्रवार चाहिँ कोटेश्वरकोे जाम अत्यास लाग्दो देखिएको छ । भक्तपुर तर्फबाट आएका सवारी वानेश्वर, चावहिल तर्फ जाने र बानेश्वर, चावहिलबाट आएका सवारी ग्वार्को तर्फजाने क्रममा रोकिने हुँदा जाम निकै लामो बनेको हो ।
भक्तपुर तर्फ जाने सडक जडीबुटीबाट खाली भएपनि भक्तपुर तर्फबाट कोटेश्वर तिर आउँने सवारीको जाम भने बिहीबार नयाँ ठिमीसम्म पुगेको थियो ।
ट्राफिक प्रहरी महाशाखाले नारायणगढ–मुग्लिन सडक अबरुद्ध भएपछि धेरै सवारी साधन बीपी राजमार्ग हुँदै आएपछि कोटेश्वर क्षेत्रमा जाम परेको बताएको छ ।
बुधवार साँझ ट्राफिक महाशाखाले कोटेश्वरको सम्पूर्ण ट्राफिक प्रहरीको टोली परिवर्तन गरेका कारणले पनि जाम भएको हुन सक्ने चर्चा चलेको छ ।
नयाँ टोलीलाई कोटेश्वरको अवस्था बारे थाहा हुन समय लाग्ने भएको कारणले पनि जाम बढेको हो ।
महाशाखाले कोटेश्वरको भान्सेदेखि सईसम्मका सबै ट्राफिक प्रहरी कर्मचारीलाई परिवर्तन गरेको थियो । तर त्यहाँका इन्चार्ज प्रहरी निरीक्षक भगिरथ रेग्मीलाई चाहिँ परिवर्तन गरिएको छैन । रेग्मीलाई परिवर्तन नगरेपनि उनी विदामा बसेका छन् ।
‘हाम्रो टोली परिवर्तन भयो भन्ने सुनेको हुँ, म त एक हप्ता देखिनै विदामा छु,’ रेग्मीले भने, ‘ अझै एक हप्तापछि मात्रै फर्किन्छु होला ।’ रेग्मी विदामा भएपछि अहिले कोटेश्वरको कमाण्ड सई राजु भण्डारीले सम्हालेका छन् । भण्डारीले नयाँ टोली भएको कारणले कोटेश्वरमा जाम नभएको दाबी गरे ।
‘जुन टोली भएपनि ट्राफिकको काम एकदमै प्राविधिक काम हो,’ उनले लोकान्तरसँग भने, ‘त्यसैले प्रहरी परिवर्तन हुँदैमा फरक पर्दैन । अझ म यहाँ पहिले पनि बसेको थिएँ ।’
उनले मुग्लिन नारायणगढ हुँदै आउने सवारीहरु बीपी राजमार्गबाट भक्तपुर हुँदै आएका कारणले कोटेश्वरमा जाम बढेको बताए ।
‘नारायणगढ मुग्लिन सडक खण्ड अबरुद्ध भएपछि सबै सवारी विपी राजमार्ग हुँदै आउँछन्, उनीहरुको काठमाडौं छिर्ने जक्सन कोटेश्वर हो,’ उनले भने ।
तीनकुनेस्थित मुनिभैरव अगाडिको सडकमा मेलम्ची खानेपानीले खाडल खनेपछि तीन लेनको सडक एक लेनको बनेका कारण पनि जाम परेको उनले बताए ।
भण्डारीले साना सवारी साधनहरुले ठूला सवारी साधनलाई रोकेका कारणले पनि जाम भएको बताए । विशेषगरी मोटरसाइकलहरुले जाम बढाएको उनको आरोप छ । जामको धपेडीले ‘कमाण्डर’ नै विरामी
विहीबार रातभर सडकमा काम गर्नुपरेपछि कोटेश्वरको कमाण्ड सम्हालिरहेका सई भण्डारी विरामी परेका छन् । जाम खुलाउनको लागि रातभर सडकमा खट्दा आफै बिरामी परेको भण्डारीले बताए ।
‘भर्खरै पुलिस अस्पतालमा भर्ना भएको छु,’ उनले भने, ‘टाइफाइडको शंका लागेपछि अस्पताल आएको छु ।’ रातभरिको खटाईले गर्दा टाउको दुख्ने र ज्वरो भएको उनले बताए ।
भण्डारीले आफू विरामी परेपनि सडकमा सवारीसाधनलाई व्यवस्थित गर्न लागि पर्ने बताए । उनले आफू मातहतका ट्राफिक प्रहरीले त्यसको व्यवस्थापन गरिरहेको बताए ।
अत्याधिक जाम भएका कारण सवारीसाधनलाई वैकल्पिक वाटो प्रयोग गर्न उनले सुझाव दिए । ‘कोटेश्वर चोक आसपास सवारी चापले जाम बढेको छ, सवारी चालकले वैकल्पिक मार्गहरुको प्रयोग गर्दा उहाँहरुलाई फाइदा हुन्छ ।’