०४ असार २०८३, बिहीबार

देशका विभिन्न स्थानमा डुबेर ६ जनाको मृत्यु

देशका विभिन्न स्थानमा डुबेर ६ जनाको मृत्यु

देशका विभिन्न स्थानमा डुबेर ६ जनाको मृत्यु भएको छ । 

कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोके बजार बस्ने करन बुढा मगरकी छोरी १२ वर्षीया शर्मिला मगरको घर नजिकै रहेको मोहना नदीमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ । नदीमा नुहाउने क्रममा डुबेर बेहोस भएकी उनको उपचारको लागि प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१२ स्थित डण्डा खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका-७ भैरहवागाउँ बस्ने बिश्वनाथ ढाडीको छोरा १४ वर्षीय आदित्य ढाडीको शुक्रवार दिउँसो मृत्यु भएको छ । 

डुबेर अशक्त भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । 

बैतडी, पञ्चेश्‍वर गाउँपालिका-४ कैनपानी बस्ने २३ वर्षीया भागरथी चन्द घर नजिकै सिँचाइको लागि बनाएको पानी पोखरीमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।

पाल्पा, तिनाउ गाउँपालिका-३ स्थित भुतखोलामा डुबेर रूपन्देही बुटवल उपमहानगरपालिका-८ बस्ने १८ वर्षीय प्रसन्न पोखरेलको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

हातमुख धुने क्रममा डुबी बेपत्ता भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उद्दार गरी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

कपिलवस्तु, बुद्धभूमि नगरपालिका-५ प्रेमनगरस्थित सोना इँटाभट्टामा पानी जम्मा गर्न बनाएको खाडलमा डुबेर सोही भट्टामा काम गर्ने भारत घर भएका जोगेन्द्र केवटको छोरा १८ महिनाको अरुन केवटको शुक्रबार राति मृत्यु भएको छ । खाडलमा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

धादिङ, धुनिबेशी नगरपालिका-१ छत्रेदेउराली बस्ने पञ्चराम तामाङको छोरा ९ वर्षीय रवि तामाङको सोही ठाउँस्थित घट्टेखोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । 

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको मनमोहन अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्