
लुम्बिनी प्रदेश सभा सदस्य तथा कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीलाई पदमुक्त गर्न पार्टीभित्र निवेदन परेको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-४ की रुपा थापा क्षेत्रीले रायमाझीको पद रिक्त गरी निर्वाचित सूचीबाट हटाई आफ्नो नाम समावेश गर्न माग गर्दै जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यालयमा निवेदन दिएकी हुन् । यसले जसपाभित्रको विवाद सतहमा आएको छ ।
गएको फागुन ४ गते सर्वोच्च अदालतले रायमाझीको मुद्दा तामेलीमा राखेको थियो ।
लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएकी शर्मालाई पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै जसपाले कारवाही गरेको थियो । उनीसँगै सांसदहरू सन्तोष पाण्डेय, कल्पना पाण्डे र विजयबहादुर यादवलाई पार्टीले पदमुक्त गरेको थियो ।
सो कारबाहीविरुद्ध रायमाझीसहित चारै जनाले अदालतमा मुद्दा दायर गरेका थिए । अदालतमा मुद्दा चलेकै अवस्थामा शर्मा गठबन्धन सरकारमा सहभागी भएपछि भने पार्टीले उनको कारबाही फुकुवा गरेको थियो । तर, कारबाही फुकुवाको कागज अदालतमा पेश नगरेपछि गत पुस ११ मा अदालतले उनको मुद्दा तामेलीमा राखिदिएको थियो ।
रुपाले रायमाझीको मुद्दा तामेलीमा राखेपछि उनलाई हटाएर आफूलाई सांसद बनाउन मागसहित पत्र पठाएको बताइन् ।
रायमाझीको स्थानमा आफूलाई समावेश गर्न माग गर्दै लुम्बिनी प्रदेश सभा सचिवालय, जनता समाजवादी पार्टी नेपाल र निर्वाचन आयोगमा समेत निवेदन दिएको उनको भनाइ छ । ‘उहाँ (सुमन) को पछाडि मेरो नाम छ । उहाँलाई पदमुक्त गरी मलाई प्रदेशसभा सदस्य बनाइनुपर्छ,’ रूपाले भनिन् ।
रुपा जसपाको संघीय परिषद सदस्य हुन् ।


