
युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले स्विट्जरल्यान्डमा भिडियो लिंकमार्फत कुराकानी गर्दै त्यहाँका केही कम्पनीको आलोचना गरेका छन् ।
स्विट्जरल्यान्डको संसद् परिसरमा भिडियोमार्फत सभालाई सम्बोध गर्दै जेलेन्स्कीले केही कम्पनी अझै पनि रुससँग व्यापारिक सम्बन्ध बनाइरहेको बताए । उनले विशेषगरी नेस्लेलाई तारो बनाए ।
नेस्लेले यसमा प्रतिक्रिया दिँदै रुसमा आफ्नो व्यापार निकै घटाएको बताएको छ । तर रुसीहरूलाई आवश्यक खाद्यान्न उपलब्ध गराइरहने र त्यहाँ रहेका आफ्ना कर्मचारीहरूलाई सहायता जारी राख्ने पनि उसको भनाइ छ ।
रुसमा अहिले गरिरहेको कामले कुनै लाभ प्राप्त नभएको, रुसमा थप निवेश आफूले नगरेको र आफ्ना उत्पादन बेच्नका लागि विज्ञापन पनि नगरिरहेको नेस्लेको भनाइ छ ।
जेलेन्स्कीले स्विस बैंकहरूलाई रुसी धनाढ्यहरूको पैसा फ्रीज गर्न पनि आह्वान गरेका छन् । युक्रेनविरुद्ध युद्ध शुरू गर्नेहरूको पैसा स्विस बैंकमा रहेको उनले दाबी गरे ।
स्विट्जरल्यान्डमा भएको र्यालीमा हजारौं मानिस सहभागी बनेका थिए । देशका राष्ट्रपति इग्नाजियो क्यासिस पनि स्टेजमा ब्यानर लिएर उभिएका थिए । त्यसमा लेखिएको थियो– हामी युक्रेनसँग छौं । युद्ध तत्काल बन्द हुनुपर्छ ।’