०३ साउन २०८३, आइतबार

सन्तान हुनुको दायित्वबोध गर्दै बुवाको किरिया बसिन् १७ वर्षीया आयुषा

सन्तान हुनुको दायित्वबोध गर्दै बुवाको किरिया बसिन् १७ वर्षीया आयुषा

भक्तपुरको सरस्वतीखेलकी १७ वर्षीया आयुषा अधिकारी बुवाको किरियामा बसेकी छिन् ।

लामो समयदेखि कलेजोको बिरामी रहेका बुवा ४८ वर्षीय राजेश अधिकारीको निधनपछि छोरी आयुषा आफैंले दागबत्ती दिएर किरियामा बसेकी हुन् ।

राजेशका दुई छोरीमध्ये आयुषा जेठी हुन् । 

आयुषा सन्तान हुनुको दायित्वबोध गर्दै बुवाको अन्तिम संस्कारमा सरिक भएकी हुन् ।

बुवा राजेश करीब १० वर्ष अघिदेखि कलेजोका बिरामी थिए । 

लामो समय उपचार गरेपनि उनको रोग निको हुन सकेन । 

पछिल्लो समय उनलाई स्टार अस्पतालमा उपचार गरिएको थियो ।

तर, निको हुन नसकेपछि अस्पतालकै स्वीकृतिमा घर लगियो ।

घरमै बसेर उपचार गराइरहेका राजेशको ८ दिनअघि निधन भएको थियो ।

परिवारमा उनकी पत्नी र दुई छोरी छन् ।

***

कक्षा १२ मा अध्ययनरत आयुषा बुवाको अन्तिम संस्कार गरेर आफ्नो कर्तव्य पूरा गरेको बताउँछिन् ।

‘बाबाको मृत्युले हामीलाई पीडा दिएको छ, तर पीडामा पनि मैले आफ्नो कर्तव्य भुल्नुहुँदैन भनेर उहाँलाई दागबत्ती दिएँ,’ आयुषाले लोकान्तरसँग भनिन् ।

बुवाको अन्तिम संस्कार गर्ने आफ्नो इच्छा उनले शुरूमा आमालाई सुनाएकी रहिछन् ।

आमा र परिवारका अन्य सदस्यको पनि साथ पाएपछि उनी किरियामा बसेकी हुन् ।

‘सबैले हुन्छ तँ बस्ने भए झन् राम्रो भन्नुभयो,’ उनले भनिन् ।

यसक्रममा उनले सबैको साथ र सहयोग पाएकी छन् ।

‘मलाई त समाजबाट पनि सहयोग प्राप्त भएको छ,’ आयुषाले भनिन्, ‘काज किरियामा छोरी बसेको राम्रो भयो, आफ्नै सन्तानले किरिया गर्नु राम्रो हो भन्नुभएको छ ।’ 

'छोरा र छोरीमा भेदभाव नगरौं'

छोरा र छोरी दुवै बराबर भएको बताउँदै आयुषाले यी दुईबीच विभेद गर्न नहुने बताइन् ।

‘छोरा र छोरीलाई भेदभाव नगरौं । कति त छोरा भएर पनि अन्तिम संस्कार नगरेको समाचारहरू सुनिन्छ,’ उनले भनिन्, ‘मैले छोरी भएर पनि संस्कार पूरा गर्न पाएँ । आफ्नो कतव्र्य पूरा गर्दैछु ।’

छोरीले पनि आफ्नो बुवाआमाप्रतिको दायित्व पूरा गर्न पाउनुपर्ने उनको भनाइ छ ।

‘मेरो परिवार र समाजले मलाई बुझेजस्तै अरूलाई पनि यसैगरी बुझुन्,’ आयुषाले भनिन् ।

बुवा राजेश र आमा सुशीलाले सरस्वतीखेलमै किराना पसल सञ्चालन गर्दै आएका थिए ।

बुवा धेरै नै बिरामी हुन थालेपछि केही समयदेखि पसल बन्द थियो ।

पिताको निधनपछि जेठो सन्तान हुनुका नाताले अब आफ्नो पढाइ र परिवारलाई सँगसँगै अगाडि बढाउनुपर्ने जिम्मेवारी आयुषाको काँधमा आएको छ ।

‘बाबा हुनुहुन्न, मैले अब आफ्नो पढाइसँगै ममी र बहिनीलाई पनि हेर्नुपर्ने हुन्छ । विस्तारै अगाडि बढ्छु,’ उनले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्