
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरी बराह क्षेत्रस्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन दुई सचिवविरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
समूहका तत्कालीन सचिव दीपक थापा मगरले आफ्नो कार्यकालमा उपभोक्ताहरूबाट रसिद काटेर बुझेको २ लाख ९३ हजार ३७२ रुपैयाँ कोषमा दाखिला नगरेको भन्दै मुद्दा दर्ता गरिएको हो ।
त्यसै गरी तत्कालीन सचिव जनक थापाले पनि आफ्नो कार्यकालमा उपभोक्ताहरूबाट रसिद काटेर बुझी लिएको ७० हजार ८५ रुपैयाँ कोषमा दाखिला नगरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।
उनीहरूले सामुदायिक वनमा वृक्षारोपण र तार घेराको नाममा अत्याधिक रकम खर्च देखाएको, चेक काटी रकम हिनामिना गरेको, समूहमा दाखिला गर्नुपर्ने रकममा अनियमितता गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
साथै वन उपभोक्ता समूहका जिम्मेवार पदाधिकारीले आफ्नो जिम्मामा रहेको नगद तत्काल समूहको कोषमा दाखिला गर्नुपर्नेमा नगरेको आरोपपत्रमा उल्लेख छ ।