२५ असार २०८३, बिहीबार

विद्युतीय राहदानी वितरण सेवालाई प्रभावकारी बनाउने निर्णय

विद्युतीय राहदानी वितरण सेवालाई प्रभावकारी बनाउने निर्णय

राहदानी विभागले विद्युतीय राहदानी वितरण सेवालाई प्रभावकारी बनाउन ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेको छ ।  हाल विभिन्न मुलुकहरुमा रोजगारी खुलेको, सन् २०१३ देखि २०१६ सम्म धेरै संख्यामा जारी गरिएको यन्त्रबाचक राहदानीको नवीकरण गर्ने समय भएको, विदेशमा अध्ययनका लागि सहज भएको आदि जस्ता कारणले राहदानीको माग अत्याधिक बढेको  छ । यसको माग केही वर्षसम्म उच्च रहने आँकलनका साथ यसको व्यवस्थापनका लागि थप कदम चाल्नु पर्ने देखिएको विभागले जनाएको छ । 

उक्त कार्यक्रममा बोल्दै राहदानी विभागका महानिर्देशक  डोरनाथ अर्यालले विभागबाट यन्त्रबाचक राहदानीको तुलनामा आवेदकको संख्या दोब्बर गरिएको बताए । तर कर्मचारीको अभाव, प्राविधिक उपकरण आदि जस्ता कारणले सो भन्दा बढी विभागबाट लाइभ इनरोलमेन्ट गर्न कठीन हुने देखिएकोले यसको विकल्पमा जिल्ला प्रशासन कार्यालयहरूबाट उत्पादन बढाइ  वितरण प्रभावकारी बनाउनु पर्ने बताए । 

 काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आवश्यकता अनुसार कर्मचारीहरुको अभाव भएकाले धेरै संख्यामा राहदानीको निवेदन संकलन अर्थात लाइभ इनरोलमेन्ट हुन कठिन भएको बताए । 

यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पनि कर्मचारी अभाव सबै भन्दा ठूलो समस्या भएको तरपनि गत हप्तादेखि निवेदनको संख्या दोब्बर गरिएको जानकारी दिए । 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कर्मचारीको कमीले मागअनुसारको सेवा दिन कठिनाई भएको र समय समयमा आउने प्राविधिक समस्यालाई समाधान गर्दै सेवालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताइन् । 
 त्यस्तै काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले केही प्राविधिक समस्याका बाबजुद् पनि हाल उत्पादनको संख्या बढाइएको बताइन् । 

 अन्तरक्रिया पछि विभाग र उक्त जिल्ला प्रशासन कार्यालयहरु बीच विभिन्न निर्णय भएको छ-

क) उपत्यकाका तीनै जिल्ला र काभ्रेपलाञ्चोक जिल्लामा तयारी भएका राहदानी हप्ताको दुई पटक विभागबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा वितरणका लागि उपलब्ध गराउने व्यवस्था गर्ने ।
ख) विभागले सबै नियोग, जिल्ला प्रशासन, ईलाका प्रशासन र विभागबाट उत्पादन भएका राहदानीको विवरण साप्ताहिकरुपमा उपलब्ध गराउने ।
ग) जिल्ला प्रशासन कार्यालयहरूले आफ्नो बुकिङ आफैले व्यवस्थापन गर्ने,  प्राविधिक सहयोग चाहिएमा राहदानी विभागले उपलब्ध गराउने, बुकिङ्ग फुल भएको अवस्था नगर्ने, यसको प्रत्यक्ष निगरानी प्रमुख जिल्ला अधिकारीले गर्ने साथै बुकिङ्ग कार्यालय समयभित्र मात्र खोल्ने ।
घ) विद्युतीय राहदानी सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रोजेक्ट बेशिसमा थप प्राविधिक जनशक्तिको शीघ्र व्यवस्थापन गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गर्ने ।
ङ) विभागमा २४ (चौबीस) सै घण्टा गरिएको प्राविधिक सपोर्टको व्यवस्थालाई थप प्रभावकारी बनाउने र सम्बन्धित प्राविधिक कर्मचारीहरुको नाम तथा सम्पर्क नम्बरसहितको विवरण सबै जिल्ला तथा इलाका कार्यालयहरुलाई उपलब्ध गराउने ।
च) विभागले उपलब्ध गराएको विद्युतीय राहदानी सम्बन्धी जानकारीमुलक सूचना, कार्यविधि आदि सबै जिल्ला तथा ईलाका प्रशासन कार्यालयहरुले समेत सेवाग्राहीहरुले देख्ने गरी राख्ने ।
छ) विभागका महानिर्देशक, निर्देशक तथा प्रमुख जिल्ला अधिकारीहरु बीच नियमित रुपमा सूचना तथा जानकारी आदानप्रदान गर्ने ।
ज) भीड व्यवस्थापनका लागि समेत बुकिङ्ग गरेको मिति र समयलाई कडाइका साथ पालन गर्ने गराउने ।
झ) हालै कोरिया, जापान लगायतका मुलुकहरुमा रोजगारी खुलेको लगायतका कारणले राहदानीको माग अत्याधिक बढेको सन्दर्भमा विभाग तथा जिल्ला प्रशासन कार्यालयहरुले निवेदनको संख्या बढाइ दैनिकरुपमा वितरणको व्यवस्था मिलाउने ।

salt training

कमेन्ट गर्नुहोस्