देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र एम्बुलेन्ससहित अन्य स्वास्थ्य सुविधासहितको स्वास्थ्य कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको छ ।
नयाँ स्थान र नयाँ संरचना साथ तयार गरिएको हेल्थ डेस्कको आइतबार मुख्य सचिव शङ्करदास वैरागीले उद्घाटन गरे ।
उद्घाटनपछि मुख्य सचिव वैरागीको स्वास्थ्य परीक्षण गरी हेल्थ डेस्कको शुभारम्भ गरिएको थियो ।
वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्राडा भुपेन्द्रकुमार बस्नेतले मुख्य सचिव बैरागीको स्वास्थ्य परीक्षण गरेका थिए ।
मुख्य सचिव बैरागीले सिंहदरबार परिसरमा हेल्थ डेस्क राखिसकेपछि कर्मचारीहरूको आधारभूत स्वास्थ्य परीक्षणमा सहजता हुने बताए ।
हाल सिंहदरबारमा सात हजार कर्मचारी कार्यरत छन् । यसअघि २०७४ साल फागुन १६ गतेदेखि पनि त्यहाँ हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य सेवा दिइँदै आएकोमा कोभिडपछि सम्पूर्ण कर्मचारी बन्दाबन्दीमा घरमै बसेकाले उक्त हेल्थ डेस्कले दिँदै आएको स्वास्थ्य सेवा बन्द गरिएको थियो ।
सिंहदरबार हेल्थ डेस्कका प्रमुख दीपक भुडभरीले हेल्थ डेस्कमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म स्वास्थ्य सेवा दिइने जानकारी दिए । उनले वीर अस्पतालका दुईजना चिकित्सक र तीन जना स्वास्थ्यकर्मीसहित पाँचजना दैनिक खटिने बताए । गोरखापत्र दैनिकमा खबर छ ।