
काठमाडौँ, २३ असार- दोस्रो चरण अन्तर्गत असार १४ गते भएको निर्वाचनको हालसम्म ३२६ स्थानीय तहको मतपरिणाम घोषणा भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार, हालसम्म ३० जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ ।
अब नौ स्थानीय तहको मतगणना जारी छ । देशका १, ५ र ७ नम्बर प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि दोस्रोचरणअन्तर्गत निर्वाचन भएको थियो ।
पछिल्लो मतगणनाअनुसार, नेकपा एमाले १४७, नेपाली काँग्रेस ११८, नेकपा (माओवादी केन्द्र) ३८, सङ्घीय समाजवादी फोरम ८, नेपाल लोकतान्त्रिक फोरम नेपाल ६, राप्रपाका चार र राष्ट्रिय जनमोर्चाका दुई जना उम्मेदवार प्रमुख/अध्यक्ष पदमा विजयी भएका छन् ।
त्यस्तै तीन जना स्वतन्त्र उम्मेदवार पनि प्रमुख/अध्यक्ष पदमा विजयी भएको आयोगले जनाएको छ ।
दोस्रोचरणको निर्वाचनको हालसम्म घोषित स्थानीय तहको परिणाममध्ये प्रमुख/अध्यक्षमा पदमा नेकपा एमालेले सबैभन्दा धेरै अर्थात ४४ दशमलव ९२ प्रतिशत, नेपाली काँग्रेसले ३६ दशमलव ३१ र माओवादी केन्द्रले ११ दशमलव ६९ प्रतिशत पदमा विजयी हासिल गरेको छ ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार प्रदेश नम्बर– १ का १३१, प्रदेश नम्बर– ५ का १०९ र प्रदेश नम्बर – ७ को ८५ स्थानीय तहको अन्तिम मतपरिणाम घोषणा भइसकेको छ ।
उपप्रमुख एवम् उपाध्यक्षमा नेकपा एमाले १७०, नेपाली काँग्रेस १००, नेकपा माओवादी केन्द्र ३८, सङ्घीय समाजवादी फोरम नेपाल सात, नेपाल लोकतान्त्रिक फोरम ६, राष्ट्रिय जनमोर्चा दुई, राप्रपाका दुईजना उम्मेदवार विजयी हुनुभएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।
हाल पाँच जिल्लाका नौ स्थानीय तहमा मतगणना भइरहेको छ । झापाको दमक, मेचीनगर, अर्जुनधारा नगरपालिका, मोरङको विराटनगर महानगरपालिका र धनपालथान गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका, कञ्चनपुरको भिमदत्त र पुनर्वास नगरपालिका तथा कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना भइरहेको छ ।
दोस्रोचरणको स्थानीय तहको ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछन् । यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो ।