
संवैधानिक निकायमा भएको नियुक्ति सीधै खारेज गर्न माग गर्ने अधिवक्तालाई न्यायाधीश ईश्वर खतिवडाले सुनुवाइको मौका नदिई कसरी खारेज गर्न मिल्छ भनेर प्रतिप्रश्न गरेका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधवार भएको प्रारम्भिक सुनुवाइका क्रममा न्यायाधीश खतिवडाले पदाधिकारीलाई विपक्ष नै नबनाएको रिट निवेदकले कसरी खारेज गर्न भन्न मिल्छ भनेर प्रश्न गरेका हुन् ।
रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक निकायमा नियुक्तिका लागि ल्याइएको अध्यादेश नै गैरसंवैधानिक भएको भन्दै नियुक्ति खारेजीको माग गरेका थिए ।
‘उहाँहरूलाई विपक्षी नै बनाउनु भएको छैन, संवैधानिक निकायका पदाधिकारीले आफैं नियुक्ति खाएको होइन होला । कसैले प्रक्रिया पूरा गरेरै नियुक्त गरेको होला, उनीहरूलाई सुनुवाइको मौका नदिई खारेज गर भन्न मिल्छ ?,’ न्यायाधीश खतिवडाले प्रतिप्रश्न गरे ।
कामु प्रधानन्यायाधीश दीपक कार्की नेतृत्वको संवैधानिक इजलासमा संवैधानिक नियुक्तिविरुद्ध परेका रिटमाथि सुनुवाइ चलिरहेको छ ।