१९ असार २०८३, शुक्रबार

धनपति : जबर्जस्ती कथा तन्काएर बनाइएको फिल्म

कात्तिक २०, २०७४
धनपति : जबर्जस्ती कथा तन्काएर बनाइएको फिल्म

काठमाडौं, २४ असार– नेपाली राजनीति लामो समयदेखि संक्रमणकालीन अवस्थामा छ । बहुदलीय व्यवस्थामा कैयौं पार्टीले आफ्ना सीमित स्वार्थ पूरा गर्न बन्द, हड्ताल तथा आन्दोलन गर्ने र युवाहरू विविध कारणले राजनीतिमा होमिने स्थिति नेपाली समाजका लागि नौलो विषय होइन ।

एक सामान्य नागरिक कसरी राजनीतिक दलको ‘दलदल’ मा फस्छ र त्यसको प्रत्यक्ष लाभ राजनीतिक दलका नेताहरूलाई कसरी पुग्छ भन्नेबारेमा जनता अन्योलमै हुन्छन् । यही विषयवस्तुको वरिपरि घुमेको छ चलचित्र ‘धनपति’ को कथानक ।

कथा ‘बाबुसाहेबको साइकल’ मा आधारित सिनेमा ‘धनपति’ समाजको त्यही वर्गको कथा हो, जुन वर्गले दिनरात दुःख गरेर आफ्नो सामान्य परिवार जेनतेन पालेको हुन्छ । राजनीतिक स्वार्थका लागि आम युवा कसरी राजनीतिको ‘गोटी’ बनेका छन् भन्ने कुराको तीतो यथार्थ पनि हो ‘धनपति’ । राजनीतिक स्वार्थको वरिपरि घुमेको यो सिनेमा मेकिङका दृष्टिले एक औसत सिनेमा मात्र हो ।

धनपतिको कथा सामान्य छ । धनपति (खगेन्द्र लामिछाने) मैयाँसाहेब (सुरक्षा पन्त) र उसकी सानी छोरीसहितको परिवारले मुश्किलले आफ्नो गुजारा चलाएको छ । छोरीलाई राम्रो स्कूलमा पढाउने सपना देखिरहेको धनपतिले आफ्नो खान्दानी चलनलाई पछ्याउँदै पत्नीलाई जागिर गर्न दिनुहुन्न भन्ने मान्यता राख्छ । आफैं मात्र कमाएर परिवार पाल्न खोज्ने धनपति छोरी पढाउनकै लागि कसरी राजनीतिमा होमिन पुग्छ भन्ने मूल कुरा नै चलचित्रको मुख्य विषयवस्तु हो ।

‘धनपति’ मा चर्चा नै गर्नुपर्ने बलियो आधार केही पनि भेटिँदैन । सिनेमा हेरिसक्दा लघु चलचित्रमा अट्ने विषयवस्तुलाई जबर्जस्ती तन्काएर फिल्म बनाइएको हो कि भन्ने लाग्छ ।

निर्देशक दीपेन्द्र के. खनाल र अभिनेता खगेन्द्र लामिछानेको टीमले ‘पशुपतिप्रसाद’ जस्तो सफल चलचित्र बनाएकाले पनि दर्शकले ‘धनपति’ बाट धेरै आशा गरेका हुन सक्छन् । तर आशा गरिएअनुसार ‘धनपति’ स्तरीय बन्न सकेको छैन ।

धनपतिको भूमिकामा देखिएका अभिनेता खगेन्द्र लामिछानेको वरिपरि पूरै कथा घुमेपनि उनको अभिनय औसतभन्दा माथि उठ्न सकेको छैन । तराईका स्थानीयको रूपमा देखिएका खगेन्द्रले बोल्ने शैली भने पश्चिमी झल्किन्छ जबकि तराईको लवजलाई केही गौण पात्रले मात्र राम्रोसँग बोलेका छन् । खगेन्द्रले आफूलाई परिवर्तन गरिहाल्नुपर्ने आवश्यकता छ किनकि उनी बिस्तारै टाइपकास्ट अनि बोरिङ हुन थालेका छन् ।
नवकलाकार सुरक्षा पन्तले आफ्नो भूमिकालाई केही हदसम्म न्याय गरेकी छन् । उनको भूमिकालाई निर्देशकले सीमित हाउभाउमा साँघु–याएपनि सुरक्षाले पात्रमाथि न्याय गर्ने भरमग्दुर कोशिश गरेकी छन् । तर उनको अभिनयलाई खुलेर प्रशंसा गर्ने ठाउँ छैन ।

अन्य कलाकारको अभिनय औसत छ । बरू बालकलाकार र कमलको भूमिकामा देखिएका कलाकार आशान्त शर्माको अभिनय अब्बल लाग्छ ।

अभिनय एकनासको हुनु या कलाकारको चरित्रमा पीडा मात्र देखिनुले पनि दर्शकलाई एकैखालको ह्याङ बनाइराख्छ । चरित्रप्रधान उक्त चलचित्रलाई एक रेष्टुराँ, घरको एउटा कोठा र त्यही वरिपरिका केही दृश्यमा मात्र सीमित बनाउन खोजिएको छ ।

त्यसो त फिल्मले उठान गर्न खोजेको मर्म नै एक सामान्य परिवारको कथा हो । सामान्य कथालाई सामान्य परिवारको आँखामा भने चलचित्रले प्रभाव पार्छ । भलै कथाले दिन खोजेको सन्देश ‘भारी’ लागेपनि चलचित्र आफैंमा भने हल्का बनेको छ । पटकथामा खगेन्द्रले आफ्नो खुबी देखाउन सकेका छैनन् । उनका अघिल्ला चलचित्रको तुलनामा यो चलचित्र कमजोर लाग्छ दर्शकलाई ।

चलचित्रको पार्श्वध्वनि बरू राम्रो सुनिन्छ । तर समावेश गरिएका गीत सामान्य लाग्छन् । गीत कथानकमा सानदर्भिक होलान् तर दर्शकको मनलाई तिनले छुन सकेका छैनन् ।

चलचित्रको छायांकन पक्ष तुलनात्मक रूपमा बलियो छ । खँदिलो नलागेपनि केही दृश्यले दर्शकको ध्यान आफूतिर तान्न सक्छन् । तर कथा सँगसँगै उनै परिवेश क्यामेरामा कैद भइरहँदा दृश्यहरू एकनासका लाग्छन् ।
सरसर्ती हेर्दा सिनेमा औसत सिनेमाभन्दा माथि जान नसक्नुको कारण सिनेमाको विषयवस्तु नै हो । निर्देशकले सिनेमाको माध्यमबाट समाजको द्वन्द्वलाई उठान गर्न त खोजे तर सिनेमामा भने बलियो द्वन्द्व स्थापना गर्न सकेनन् । कथानक सुस्त गतिमा अघि बढिरह्यो ।

यति हुँदाहुँदै पनि चलचित्र अन्य नेपाली सिनेमाको तुलनामा केही फरक छ । लार्जर देन लाइफ अनि मस्कुलर हिरोइजम भएका उडन्ते चलचित्र बन्ने नेपाली परिदृश्यमा आम मान्छेको वास्तविक जिन्दगीसँग प्रत्यक्ष सरोकार राख्ने चलचित्र बन्नुलाई स्वागतयोग्य नै मान्नुपर्छ । पूरै फिल्म हेरिसक्दा दर्शकले केही सन्देश भने बोकेर फर्किन पाउँछन् । राजनीतिक समस्यालाई उठान गरेर पृथक् बनाउन खोजिएको चलचित्र असाधारण चाहिँ छैन । तैपनि परम्परागत सिनेमाभन्दा एक तह माथि चाहिँ छ यो सिनेमा ।

सामान्य कथामाथि बनेको श्लील चलचित्र हेर्न खोजिरहनुभएको छ भने चलचित्र ‘धनपति’ राम्रो खुराक बन्न सक्छ । सामाजिक विषयवस्तुलाई जस्ताको तस्तै सिनेमामा उतार्न खोज्नु एउटा सकारात्मक प्रयास हो निर्देशकको ।

salt training

कमेन्ट गर्नुहोस्