
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनुषामा नेपाली कांग्रेसको बलियो उपस्थितिका लागि एकढिक्का भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
कांग्रेसको १४औं जिल्ला अधिवेशनबाट नवनिर्वाचित धनुषा जिल्लाको पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्न बुधवार आयोजित कार्यक्रममा नेता निधिले निर्वाचनमा भएको आन्तरिक प्रतिस्पर्धालाई सामान्यरूपमा लिन आग्रह गरे ।
नेता कार्यकर्तालाई कांग्रेसलाई जिताउने अभियानमा सक्रिय भएर लाग्न आग्रह गर्दै उनले आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचनको टिकटका लागि आफू कहाँ नआई वडामा जान नेता कार्यकर्तासँग आग्रह गरे ।
निधिले पहिला जस्तो परिस्थिति अब नरहेकाले टिकटका लागि आ–आफ्नो वडामा जान नेता कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘नेता कहाँ गएर हारगुहार गर्नुभन्दा विधानको पालना गर्दै आआफ्नो वडामा गएर आफूले गरेको कार्यको मूल्यांकन र निर्वाचन जित्नसक्ने क्षमताका आधारमा टिकट माग्नुस् ।’
धनुषाका नवनिर्वाचित पार्टी सभापति योगेन्द्र पजियारको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी लगायतले पार्टीको सम्पन्न महाधिवेशनबाट आएका परिणामलाई आन्तरिक कलह नबनाइ एकजुट भएर निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।