२६ असार २०८३, शुक्रबार

कोरियामा नेपाली श्रमिकको प्रवेशाज्ञा १ वर्ष थप, ७७ हजार नेपाली श्रमिक लाभान्वित

कोरियामा नेपाली श्रमिकको प्रवेशाज्ञा १ वर्ष थप, ७७ हजार नेपाली श्रमिक लाभान्वित

ईपीएसमार्फत दक्षिण कोरिया आई श्रम गरिरहेका नेपालीसहित प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि १ वर्ष थप हुने भएको छ । 

कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको प्रक्रिया पुनः सञ्चालन भए पनि विभिन्न कारण सहज नभएपछि यही काम गरिरहेका मजदुरको प्रवेशाज्ञा १ वर्ष थप हुने भएको हो । 

दक्षिण कोरिया सरकारले श्रम गरिरहेकामध्ये सन् २०२२ अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा प्रवेशाज्ञा सकिन लागेका नेपालीसहित सम्पूर्ण प्रवासी श्रमिकको प्रवेशाज्ञा १ वर्ष थप गरेको हो । निर्णयअनुसार ईपीएस प्रक्रियामार्फत दक्षिण कोरिया आई ई–९ प्रवेशाज्ञामा श्रम गरी प्रवेशाज्ञा सकिन लागेकाले १ वर्ष थप प्रवेशाज्ञा पाउने छन् । 

ईपीएस नियमअनुसार पहिलो कार्यकालमा ३ वर्ष प्रवेशाज्ञा पाउँछन् । ३ वर्षे अवधि समाप्त भएपश्चात् कम्पनी र श्रमिकको सहमतिमा थप १ वर्ष १० महिनासहित ४ वर्ष १० महिना बस्न पाउँछन् । पहिलो कार्यकाल सकेर अनिवार्य आफ्नो देश फर्किनुपर्छ । पुनः प्रतिबद्ध श्रमिकका रूपमा दोस्रो कार्यकालका लागि कोरिया आएका श्रमिकको समयावधि पनि पहिलो कार्यकालको झैं हुनेछ । 

हाल १ वर्ष प्रवेशाज्ञा थपिनेमा पहिलो वा दोस्रो जुनसुकै कार्यकालको भए पनि यही अप्रिल १३ देखि डिसेम्बर अन्तिमसम्ममा ३ वर्षे अवधि वा ४ वर्ष १० महिना अवधि सकिन लागेका पर्छन् । अवधि सकिन लागेकालाई यहाँको इमिग्रेसनले आफैं १ वर्ष बसाई अवधि थपिदिने छ । जसका लागि केही दिनपछि हाइकोरिया वेबसाइट वा आफ्नो ईपीएस आइडीबाट आफ्नो थपिएको अवधिबारे जानकारी लिन सकिनेछ । 

दक्षिण कोरिया सरकारले यसअघि पनि गत वर्ष सन् २०२१ अप्रिलदेखि डिसेम्बरसम्म र सन् २०२२ जनवरीदेखि अप्रिल १२ सम्म प्रवेशाज्ञा अवधि सकिनेका लागि १ वर्ष प्रवेशाज्ञा थपिदिएको थियो । पहिल्यै १ वर्ष अवधि थपिनेबाट अप्रिलदेखि जुन अन्तिमसम्म थप अवधिसमेत सकिनेका लागिसमेत ५० दिन थप प्रवेशाज्ञा दिने निर्णय भएको छ । यो निर्णयले दक्षिण कोरियामा रहेका प्रवासी मजदुरमध्ये ७७ हजार ९४ को १ वर्ष अवधि थपिएको छ । १ वर्ष थपिएर पनि सकिन लागेकाको हकमा थपिने ५० दिनको अवधि थप पाउनेमा ५ हजार ६४४ रहेका छन् ।

कोरोनाका कारण थपिएको १ वर्षे प्रवेशाज्ञा पाउनेले अघिल्लो पटकको नियमझैं यसपटक पनि कम्पनी चित्त नबुझेमा एक पटक कार्यस्थल परिवर्तन गर्न सक्नेछ । ३ वर्षे कार्यकालमा ३ पटक र पछि थपिने १ वर्ष १० महिनाको अवधिमा २ पटक कार्यस्थल परिवर्तन गर्न पाउने भए पनि उक्त अवधिमा कार्यस्थल परिवर्तन गर्न कम्पनी मालिकको अनुमति चाहिने प्रावधान छ तर कोरोनाका कारण १ वर्ष थप अवधिमा भने कम्पनी मालिककले रोक्न नपाउने नियम रहेको प्रवासी मजदुर संघ (एमटियुक) का अध्यक्ष उदय राईले बताए ।

यो निर्णयले कोरिया अझै बसेर श्रम गर्दै कमाउँछु भन्नेका लागि अवसर बन्न पुगेको छ भने नेपाललगायत अन्य देशमा रहेर सम्पूर्ण प्रक्रिया पूरा गरी कोरिया जान पर्खिरहेकामा कोरिया प्रक्रिया बिस्तारै हुनसक्ने अनुमान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्