
चिसो बढ्न थालेसँगै गत असोज/कात्तिकमा लेकबाट बेंसी ल्याइएका दर्जनौ भेंडी गोठका भेंडाबाख्रा गर्मी बढेसँगै पुनः चरण क्षेत्र लेक तथा उच्च हिमाली भेगमा पुगेका छन् ।
जाडो छल्न जिल्लाका विभिन्न स्थान तथा बेंसी ल्याइएका घुम्ती भेंडीगोठ यतिबेला उच्च हिमाली भेगका चरन क्षेत्रमा गोठालाले आ–आफ्ना भेडाका बथान पुर्याएको भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. रुपेश श्रेष्ठले बताए ।
उनले भने, ‘जिल्लामा साना ठूला गरेर ३०० भन्दा बढी घुम्ती भेंडीगोठ रहेका र ती सबै बेँसीबाट चरण क्षेत्र लेकमा पुगिसेका छन् ।’
सिउरुङ, घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुले लगायत ग्रामीण क्षेत्रमा भेडीगोठ छन् । विशेषगरी गुरुङ समुदायको पुर्खौंली चलन तथा पेशाका रूपमा भेंडीगोठलाई हेरिन्छ ।
भेंडीगोठ बर्सेनि ६ महिना लेक र ६ महिना बेंसीमा राख्ने गरिन्छ । भेंडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना दूधपोखरी नजिकै थुर्जु तथा लमजुङ हिमालको काख लगायतका ठाउँसम्म पुग्ने गरेको भेंडीगोठालाको भनाइ छ ।
अधिकांश भेंडीगोठ लेकतर्फ लागिसके पनि घलेगाउँका भेंडीगोठ भने बेंसीमै रहेको स्थानीय दीर्घराज घलेले बताए । उनका अनुसार घलेगाउँमा २ भेंडीगोठ रहेका छन् । जेठ महिनामा मात्र लेक जाने भेंडीगोठ लमजुङ हिमालको काखमै रहेको ठुले लेकमा पुग्ने गर्दछन् ।