
चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बीमा बोर्डको उच्च प्राथमिकता प्राप्त कार्यक्रम कार्यान्वयन गर्ने चन्द्रागिरि काठमाडौं उपत्यकाभित्र दोस्रो नगरपालिका भएको छ ।
हाल नगरपालिकाले १५ शय्याको थानकोट नगर अस्पताल, एक शहरी स्वास्थ्य केन्द्र तथा १० स्वास्थ्य चौकीमार्फत नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिराखेका छ ।
यी स्वास्थ्य संस्थामा सरकारको मापदण्ड अनुसारका प्रयोगशालाको पनि सुविधा छ । चन्द्रागिरि–४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न जर्मन विकास बैंक (केएफडब्लू) को १ अर्ब रुपैयाँ बराबरको आर्थिक एवं प्राविधिक सहयोगमा अत्याधुनिक अस्पताल निर्माण हुन लागेको छ ।
नगर प्रमुख घनश्याम गिरी र बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले संयुक्तरूपमा बुधवार आयोजित कार्यक्रममा चनपा–४ का ७४ वर्षीय ज्येष्ठ नागरिक तुइलाल नकर्मीलाई बीमा कार्ड वितरण गरी स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गरेका छन् ।
बिहीवारदेखि नगरका १५ वटै वडामा दर्ता सहयोगीले बीमा दर्ता गराउन शुरू गर्ने जनाइएको छ ।
नगरपालिकाले बीमित लागि चन्द्रागिरि–४ स्थित थानकोट प्राथमिक अस्पतालमा सेवा लिन सक्ने जनाएको छ । बीमा आबद्ध भइसकेपछि १ लाख रुपैयाँसम्मको सेवा निःशुल्क प्राप्त गर्न सकिने छ । ती सेवामा आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग, निदानात्मक सेवा तथा तोकिएका औषधि निःशुल्क प्राप्त गर्न सकिने जनाइएको छ ।
यसका लागि ३ जनासम्मका परिवारले ३ हजार ५०० रुपैयाँ योगदान रकम तिर्नुपर्नेछ । अतिगरीब, एचआईभी संक्रमित, कुष्ठरोगी, फरक क्षमता भएका (अपाङ्गता) र ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सो योगदान रकममा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ ।
सो अवसरमा नगर प्रमुख गिरीले भने, ‘म बीमा कार्यक्रममा आबद्ध हुन सबै नगरवासीलाई आह्वान गर्दछु । यसले आधारभूत स्वास्थ्य सेवा पाउन सहयोग पुग्ने छ । नगरवासी उपचारका लागि अन्यत्र जानु नपर्ने गरी स्वास्थ्यका पूर्वाधार, जनशक्ति तथा उपकरण विकासमा नगरपालिकाले उच्च प्राथमिकता दिएको छ । नगरभित्रका सबै स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी सेवा प्रदान गरिराखेका छौं ।’
पछिल्लो समय कोरोना विरुद्धको खोप लगाउन नगरपालिकाले घरदैलो अभियान सञ्चालन गरी खोप कार्यक्रम पनि सञ्चालन गरिराखेको छ ।
नगरपालिकाले स्थानीय बजेटमार्फत १५ वटै वडामा स्वास्थ्य प्रवद्र्धन गर्न ४ लाख रुपैयाँ विनियोजन समेत गरेको छ । यस्तो बजेट विनियोजन गर्ने चन्द्रागिरि पहिलो भएको बताइएको छ ।
नगरपालिकाले स्वास्थ्य सेवामा लगानी वृद्धि गर्दै जाने नीति लिएको नगर प्रमुख गिरीले जानकारी दिए । उनले भने, ‘समृद्ध चन्द्रागिरि बनाउने मेरो अभियान जारी छ । यसका लागि मेरो कार्यकालमा पूर्वाधार, शिक्षा, स्वास्थ्यका क्षेत्रमा महत्त्वपूर्ण काम भए । केही सम्पन्न हुने चरणमा छन् ।’
समग्र स्वास्थ्यको सूचांकमा चन्द्रागिरिको अवस्था राम्रो भएको जनाइएको छ ।