
मोरङको लेटाङ नगरपालिका– ५ खेरुवास्थित शिक्षा विकास माविका विद्यार्थी तथा अभिभावकले पठनपाठन सुचारु गर्न माग गरेका छन् ।
एक शिक्षकले विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि रणभूमि बनेको विद्यालयको पठनपाठन अझै सुचारु हुन सकेको छैन ।
सोही विद्यालयमा आक्रोशित भीडबाट खुकुरी प्रहार हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । स्थिति नियन्त्रणमा लिन कर्फ्यु नै लगाउनुपरेको थियो ।
घटनाका कारण केही दिनदेखि त्रासमा रहेको लेटाङ अझै सामान्य अवस्थामा फर्किन सकेको छैन ।
विद्यालय सञ्चालन हुन नसक्दा एसईईको तयारीमा रहेका विद्यार्थीहरू बढी मारमा परेका छन् ।
उनीहरूको परीक्षा यही वैशाख ९ गतेदेखि हुँदैछ । ‘कोर्स सकिएकै छैन,’ कक्षा १० मा पढ्ने चेतना दर्जीले भनिन्, ‘अब कसरी परीक्षा दिने भन्ने अलमलमा परेको छु ।’
विद्यालयमै गएर पढ्ने वातावरण बनाइदिन उनले स्थानीय प्रशासनसँग माग गरिन् ।
घटना हुनुअघि सोही दिनबाट विद्यालयले बिहान परीक्षा र दिउँसो कक्षा सञ्चालन गर्न थालेको थियो । लकडाउनमा विद्यालय बन्द भएका कारण कोर्स पूरा गर्नका लागि बिहान परीक्षा र दिउँसो कक्षा सञ्चालन गर्नुपरेको प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्रले बताए ।
अभिभावकहरूले पनि छोराछोरीको पठनपाठनमा असर परेको भन्दै विद्यालयमा गएर पढ्ने वातावरण बनाइदिन आग्रह गरेका छन् । विद्यालयमै गएर पढ्ने सहज वातावरण सिर्जना गरी डर त्रास नहुने गरी कक्षा सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ ।
‘छोराछोरी विद्यालय जान डराइरहेका छन्,’ अभिभावक रामबहादुर थापा मगरले भने, ‘तत्काल वैकल्पिक माध्यमबाट भए पनि पठनपाठन सुचारू गर्नुपर्छ ।’
यता विद्यालय प्रशासनले भने अझै १५ दिन पठनपाठन गर्न नसकिने बताएको छ । शिक्षक तथा विद्यार्थीहरू सबै त्रासमा रहेकाले कक्षा शुरू गर्न समय लाग्ने देखिएको प्रधानाध्यापक मिश्रले बताए । प्रशासनले आएर सुरक्षाको प्रत्याभूति नदिएसम्म कक्षा सञ्चालन नहुने उनको भनाइ छ ।
यता मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले भने विद्यालय चाँडै सञ्चालनमा ल्याउन पहल थाल्ने बताएका छन् । नगरपालिकालाई विद्यालय सञ्चालनको वातावरण बनाउन आग्रह गरिसकिएको उनले बताए ।
‘अभिभावकहरूलाई बोलाएर छलफल गरेर सहजीकरण गर्नका लागि जनप्रतिनिधिहरूलाई पनि आग्रह गरेका छौं,’ उनले भने, ‘अवस्था सामान्य बनेकाले चाँडै विद्यालय सञ्चालन हुन्छ ।’
एक करोडभन्दा बढीको क्षति
उक्त घटनाका कारण १ करोडभन्दा बढीको क्षति भएको विद्यालय प्रशासनले जनाएको छ ।
‘दिनभरि तोडफोड भएपछि हामी आफैँ ज्यान कसरी बचाउने भन्नेमा केन्द्रित भयौं,’ प्रअ मिश्रले भने, ‘राति ल्यापटप कम्प्युटर समेत चोरी भएछन् । २१ वटा कम्प्युटर र ७ वटा ल्यापटप रहेकोमा केही आन्दोलनका क्रममा फुटेका र केही हराएका छन् ।’
गत वर्ष मात्रै लगाइएको टिन समेत सबै फेर्नुपर्ने अवस्था आएको, कुर्सी, टेबुल र राउन्ड टेबल तथा दराजहरूमा समेत क्षति पुगेको उनले बताए ।
निरन्तर विद्यार्थीकोमा पुग्थे आरोपित शिक्षक
विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेलले ७ कक्षामा अध्ययनरत १४ वर्षीया छात्रालाई शुक्रवार यौन दुव्र्यवहार गरेको घटना सार्वजनिक भएको थियो ।
घरमै गएर उनले पानी खाने निहुँमा दुव्र्यवहार गरेको पीडित छात्राले बताएकी छन् । विद्यालयकै एक शिक्षकका अनुसार गत कात्तिकदेखि नै उनी ती विद्यार्थीको घर जाने गरेका थिए ।
घर आएर पानी माग्ने र पानी दिँदा हात समाउने जस्ता क्रियाकलाप गर्ने गरेको पीडित छात्राले अन्य शिक्षकहरूसँग बताएकी थिइन् ।
‘शुक्रवार घरमा कोही नभएको समयमा मनोज सरले ती विद्यार्थीको कोठाको चुकुल नै लगाएपछि उनी आत्तिँदै चिच्याएकी रहिछिन्,’ ती शिक्षकले भने, ‘पहिला २०७४ सालमा पनि यस्तै प्रकृतिको उजुरी पर्दा उहाँ (शिक्षक)ले माफी मागेपछि छाडिएको थियो ।’
आइतवार विद्यालय खुल्नेबित्तिकै विद्यार्थीले प्रधानाध्यापकलाई उजुरीसहितको निवेदन दिएका थिए । विद्यार्थीको निवेदन आएपछि सोधपुछ गर्दा ती शिक्षकले आफूमाथिको आरोप अस्वीकार गरेका थिए ।
पछि आक्रोशित स्थानीयले विद्यालय घेरेर तोडफोड गरेका थिए । त्यसै क्रममा भएको झडपमा खुकुरी प्रहारबाट प्रहरी जवान उर्मिला श्रेष्ठको निधन भएको थियो ।
अब मनोज सरसँग पढ्न सक्दैनौंः विद्यार्थी
विद्यार्थीहरूले अब आरोपित शिक्षकसँग आफूहरूले नपढ्ने बताएका छन् ।
‘पहिला पनि एकजना दिदीलाई यस्तै व्यवहार गर्नुभएको रहेछ,’ एक विद्यार्थीले भनिन्, ‘अहिले फेरि त्यस्तै घटना दोहोरिएको छ । उहाँ नै आएर पढाउने हो भने हामी सुरक्षित हुन सक्दैनौं ।’
आरोपित शिक्षकले सामाजिक, स्वास्थ्य तथा नैतिक शिक्षा बढाउने गरेका थिए । उक्त विद्यालयमा ७ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।