
विनाशकारी भूकम्पपछि एकीकृत बस्तीका रूपमा गोरखाको गुप्सी पाखामा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नयाँ ५७३ घर बनायो । १ वर्षअघि एकीकृत बस्ती एनआरएनएले स्थानीयलाई हस्तान्तरण गर्यो । आकर्षक घर त बने तर स्थानीय भने ती घरमा रम्न सकेनन् ।
कूल ५७३ मध्ये मुस्किलले ५० घरमा बसोबास हुन लागेको छ । आफ्ना आवश्यकताअनुसार घर नबनेपछि केही हप्तामा एक पटक आएर घर रेखदेख गर्छन् ।
अधिकांश स्थानीय पुरानो थातथलो छाड्न तयार देखिएका छैनन् ।
आवरणमा बस्ती चिटिक्क देखिए पनि स्थानीय आवश्यकता पहिचान नगरी बनाइएका घरमा बस्न स्थानीय त्यति इच्छुक छैनन् । ‘हामीसँग छानो भएको घरबाहेक केही छैन,’ लाप्राक गुप्सी पाखा एकीकृत बस्तीका कमानसिंह गुरुङले भने, ‘कुखुरा थुन्ने खोर, मकै राख्ने भकारी नभएको घरमा बस्न कोही रुचाउँदैनन् ।’
बस्ती हस्तान्तरण भएको १ वर्षसम्म पनि आफ्नो थातथलो छाड्ने तयारी लाप्राकीले गरेका छैनन् । राष्ट्रिय वित्त आयोगका सदस्य जुद्ध गुरुङ लाप्राकमा बनेका घर सांस्कृतिक तथा आर्थिक रूपमा उपयुक्त नभएकाले लाप्राकीले बस्न रहर नगरेको बताउँछन् ।
तल पहिरोको जोखिम छ भनेर बुझे पनि सांस्कृतिक र आर्थिक दृष्टिकोणले एकीकृत बस्तीका घरहरू कमजोर रहेकाले लाप्राकवासी नयाँ घरमा सर्ने सुरसार नगरेका हुन् । ‘समूह र संयुक्त परिवारमा बस्न रुचाउने गुरुङ समुदायका लागि लाप्राकमा बनेका घर योग्य छैनन्,’ गुरुङले भने । ५ जनाको परिवार अटाउने घरमा करेसाबारी र गतिलो आँगनसमेत नभएकाले ती घरहरूमा बस्न लाप्राकीले नरुचाएका हुन् ।
अन्न र दाउरा कहाँ राख्ने, भान्साघर र कुखुराको खोर बनाउने ठाउँ नहुँदा लाप्राकीले गुप्सी पाखामा सर्न नचाहेको आयोगका सदस्य गुरुङले दाबी गरे । ‘यो विदेशमा अफिस गएर फर्किएर आएर बस्ने घरजस्तो मात्रै भयो,’ उनले थपे ।
२ हजार ७०० मिटरको उचाइमा रहेको बस्ती उत्तरपट्टि फर्किएकाले हिउँदमा अत्यधिक जाडो हुन्छ । हिउँले ३ महिनासम्म थिचेर राख्ने भएकाले लाप्राकवासीले गुप्सी पाखामा बस्न नचाहेको डेगबहादुर गुरुङले थपे । ‘घरका ज्येष्ठ नागरिक लाप्राकबाट गुप्सी पाखामा हिँड्न नै मान्दैनन्,’ गुरुङले भने । एक दिन आएर हेर्दा आकर्षक देखिएको जस्तो छैन गुप्सी पाखो भन्दै उनले आम्दानीको स्रोत नभएको बस्तीमा आएर कोही पनि बस्न नरुचाउने थपे । ५७३ वटा घर एनआरएनएले बनाए पनि गुप्सी पाखामा आएर बस्नेको संख्या मुस्किलले ५० जना पुग्न लागेको छ ।
‘लाप्राकीको जीविकोपार्जनको मुख्य आधार नै खेतीपाती हो । गुप्सीपाखाको बस्तीमा सरे खेतीपाती हराउने र गाउँमा भोकमरी लाग्ने गर्छ,’ मार्सिङ गुरुङले भने, ‘घर मात्र भएर के गर्ने, गुप्सी पाखामा गरिखान केही पनि छैन ।’
नयाँबस्तीमा खानेपानीको हाहाकार छ । बिजुली बत्ती आउँदैन । हिउँदमा खपी नसक्नुको जाडो हुने भएकाले धेरैले रुचाउन सकेका छैनन् । मानिसले सेवा दिने उद्देश्यले गुप्सी पाखामा स्वास्थ्यचौकी बनाइएको छ ।
विद्यालय घर नजिकै छ ।
एकीकृत बस्ती बने पनि उत्पादनसँग जोडिन नसक्दा थातथलो छाडेर मानिस गुप्सी पाखामा बनेको एकीकृत नमूना बस्तीमा आउन नसकेको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले बताए । गुरुङले उत्पादनसँग जोड्न नसक्ने हो भने लाप्राकको गुप्सी पाखा मानिस विनाको बस्ती बन्ने खतरा बढेको बताए ।
उनले उद्योग स्थापना गरेर रोजगारी सिर्जना गराएर बनेको एकीकृत बस्तीलाई प्रयोगमा ल्याउन सकिने बताए । उनले संघीय सरकार प्रदेश सरकारले विशेष कार्यक्रम ल्याएर मानिस विनाको गाउँ बन्नबाट लाप्राकको गुप्सी पाखाको एकीकृत बस्तीलाई जोगाइदिन अनुरोध गरे ।
एनआरएनएले बनाएको एकीकृत बस्तीका झ्याल ढोका कमजोर भएको, एक तलामाथि काठ नछाएको भन्दै स्थानीयले घरप्रति खासै चासो दिन नसकेको राजु गुरुङले थपे । ‘घरको बनोट र संरचना नै सामूहिक रूपमा बस्न मिल्ने खालको नभएकाले धेरैले चासो दिन सक्नुभएको छैन,’ उनले थपे ।
गैरआवासीय नेपालीले बनाएका घर आहा भन्ने हुनुपर्नेमा त्यस्तो नभएकाले स्थानीयले नयाँ घरमा चासो नदिएको स्थानीय पासाङ गुरुङले बताए । घरभित्र सोलिङ गर्न झ्याल ढोका बनाउन १ लाखभन्दा धेरै लाग्ने भएपछि पैसाको जोहो गर्न नसकेर पुरानै बस्तीमा बस्नेको संख्या पनि धेरै छ ।
लाप्राकबाट अहिलेको एकीकृत बस्ती ३ घण्टा फरकको दूूरीमा छ । गोरखापत्रमा खबर छ ।