१० असार २०८३, बुधबार

एकीकृत बस्तीमा रम्न सकेनन् स्थानीय

चैत १२, २०७८
एकीकृत बस्तीमा रम्न सकेनन् स्थानीय

विनाशकारी भूकम्पपछि एकीकृत बस्तीका रूपमा गोरखाको गुप्सी पाखामा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नयाँ ५७३ घर बनायो । १ वर्षअघि एकीकृत बस्ती एनआरएनएले स्थानीयलाई हस्तान्तरण गर्‍यो । आकर्षक घर त बने तर स्थानीय भने ती घरमा रम्न सकेनन् ।

कूल ५७३ मध्ये मुस्किलले ५० घरमा बसोबास हुन लागेको छ । आफ्ना आवश्यकताअनुसार घर नबनेपछि केही हप्तामा एक पटक आएर घर रेखदेख गर्छन् ।

अधिकांश स्थानीय पुरानो थातथलो छाड्न तयार देखिएका छैनन् ।

आवरणमा बस्ती चिटिक्क देखिए पनि स्थानीय आवश्यकता पहिचान नगरी बनाइएका घरमा बस्न स्थानीय त्यति इच्छुक छैनन् । ‘हामीसँग छानो भएको घरबाहेक केही छैन,’ लाप्राक गुप्सी पाखा एकीकृत बस्तीका कमानसिंह गुरुङले भने, ‘कुखुरा थुन्ने खोर, मकै राख्ने भकारी नभएको घरमा बस्न कोही रुचाउँदैनन् ।’

बस्ती हस्तान्तरण भएको १ वर्षसम्म पनि आफ्नो थातथलो छाड्ने तयारी लाप्राकीले गरेका छैनन् । राष्ट्रिय वित्त आयोगका सदस्य जुद्ध गुरुङ लाप्राकमा बनेका घर सांस्कृतिक तथा आर्थिक रूपमा उपयुक्त नभएकाले लाप्राकीले बस्न रहर नगरेको बताउँछन् ।

तल पहिरोको जोखिम छ भनेर बुझे पनि सांस्कृतिक र आर्थिक दृष्टिकोणले एकीकृत बस्तीका घरहरू कमजोर रहेकाले लाप्राकवासी नयाँ घरमा सर्ने सुरसार नगरेका हुन् । ‘समूह र संयुक्त परिवारमा बस्न रुचाउने गुरुङ समुदायका लागि लाप्राकमा बनेका घर योग्य छैनन्,’ गुरुङले भने । ५ जनाको परिवार अटाउने घरमा करेसाबारी र गतिलो आँगनसमेत नभएकाले ती घरहरूमा बस्न लाप्राकीले नरुचाएका हुन् ।

अन्न र दाउरा कहाँ राख्ने, भान्साघर र कुखुराको खोर बनाउने ठाउँ नहुँदा लाप्राकीले गुप्सी पाखामा सर्न नचाहेको आयोगका सदस्य गुरुङले दाबी गरे । ‘यो विदेशमा अफिस गएर फर्किएर आएर बस्ने घरजस्तो मात्रै भयो,’ उनले थपे ।

२ हजार ७०० मिटरको उचाइमा रहेको बस्ती उत्तरपट्टि फर्किएकाले हिउँदमा अत्यधिक जाडो हुन्छ । हिउँले ३ महिनासम्म थिचेर राख्ने भएकाले लाप्राकवासीले गुप्सी पाखामा बस्न नचाहेको डेगबहादुर गुरुङले थपे । ‘घरका ज्येष्ठ नागरिक लाप्राकबाट गुप्सी पाखामा हिँड्न नै मान्दैनन्,’ गुरुङले भने । एक दिन आएर हेर्दा आकर्षक देखिएको जस्तो छैन गुप्सी पाखो भन्दै उनले आम्दानीको स्रोत नभएको बस्तीमा आएर कोही पनि बस्न नरुचाउने थपे । ५७३ वटा घर एनआरएनएले बनाए पनि गुप्सी पाखामा आएर बस्नेको संख्या मुस्किलले ५० जना पुग्न लागेको छ ।

‘लाप्राकीको जीविकोपार्जनको मुख्य आधार नै खेतीपाती हो । गुप्सीपाखाको बस्तीमा सरे खेतीपाती हराउने र गाउँमा भोकमरी लाग्ने गर्छ,’ मार्सिङ गुरुङले भने, ‘घर मात्र भएर के गर्ने, गुप्सी पाखामा गरिखान केही पनि छैन ।’

नयाँबस्तीमा खानेपानीको हाहाकार छ । बिजुली बत्ती आउँदैन । हिउँदमा खपी नसक्नुको जाडो हुने भएकाले धेरैले रुचाउन सकेका छैनन् । मानिसले सेवा दिने उद्देश्यले गुप्सी पाखामा स्वास्थ्यचौकी बनाइएको छ ।
विद्यालय घर नजिकै छ ।

एकीकृत बस्ती बने पनि उत्पादनसँग जोडिन नसक्दा थातथलो छाडेर मानिस गुप्सी पाखामा बनेको एकीकृत नमूना बस्तीमा आउन नसकेको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले बताए । गुरुङले उत्पादनसँग जोड्न नसक्ने हो भने लाप्राकको गुप्सी पाखा मानिस विनाको बस्ती बन्ने खतरा बढेको बताए ।

उनले उद्योग स्थापना गरेर रोजगारी सिर्जना गराएर बनेको एकीकृत बस्तीलाई प्रयोगमा ल्याउन सकिने बताए । उनले संघीय सरकार प्रदेश सरकारले विशेष कार्यक्रम ल्याएर मानिस विनाको गाउँ बन्नबाट लाप्राकको गुप्सी पाखाको एकीकृत बस्तीलाई जोगाइदिन अनुरोध गरे ।

एनआरएनएले बनाएको एकीकृत बस्तीका झ्याल ढोका कमजोर भएको, एक तलामाथि काठ नछाएको भन्दै स्थानीयले घरप्रति खासै चासो दिन नसकेको राजु गुरुङले थपे । ‘घरको बनोट र संरचना नै सामूहिक रूपमा बस्न मिल्ने खालको नभएकाले धेरैले चासो दिन सक्नुभएको छैन,’ उनले थपे ।

गैरआवासीय नेपालीले बनाएका घर आहा भन्ने हुनुपर्नेमा त्यस्तो नभएकाले स्थानीयले नयाँ घरमा चासो नदिएको स्थानीय पासाङ गुरुङले बताए । घरभित्र सोलिङ गर्न झ्याल ढोका बनाउन १ लाखभन्दा धेरै लाग्ने भएपछि पैसाको जोहो गर्न नसकेर पुरानै बस्तीमा बस्नेको संख्या पनि धेरै छ ।

लाप्राकबाट अहिलेको एकीकृत बस्ती ३ घण्टा फरकको दूूरीमा छ । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्