०५ असार २०८३, शुक्रबार

आँधीखोला गाउँपालिकाद्वारा लोगो सार्वजनिक

आँधीखोला गाउँपालिकाद्वारा लोगो सार्वजनिक

स्याङ्जाको आँधीखोला गाउँपालिकाले शुक्रवार आफ्नो पहिचान सहितको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरेको छ ।

पालिकाभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक महत्त्वका क्षेत्रलाई समेटेर निर्माण गरिएको लोगोको गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौड्यालले सार्वजनिक गरे ।

‘गाउँपालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व झल्कने क्षेत्र तथा सम्पदाहरूलाई लोगोभित्र अंकित गरेका छौं,’ उनले भने, ‘यस लोगोले गाउँपालिकाको छुट्टै पहिचान दिनेछ ।’

गाउँपालिकाले निर्माण गरेको लोगोको माथिल्लो भागमा गाउँपालिकाको नाम र सो नामको बीचमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । तल्लो भागमा रिबन राखिएको छ र त्यसमा गाउँपालिकाको ठेगाना उल्लेख छ । रिबनसँग जोडेर दुवैतर्फ धानको बाला राखिएको छ ।

उदाउँदै गरेको सूर्यसहित हरियाली डाँडाकाँडा तथा बोट वृक्षले गाउँपालिकाको प्राकृतिक सौन्दर्यलाई चित्रण गर्न खोजिएको छ । दक्षिण एसियाकै पहिलो सामुदायिक घरबास (होमस्टे) सिरुबारी र श्रवकुमार तथा अन्धाअन्धी दहलाई पनि लोगोमा समेटिएको अध्यक्ष पौड्यालले बताए । श्रवणकुमारका अन्धाअन्धी बुबाआमाको आँसुबाट बनेको अन्धाअन्धी दह र सोही दहबाट उत्पत्ति भएको आँधीखोलालाई पनि समेटिएको छ ।

कृषि क्षेत्रसँगै लैंगिक समानता, एकता, समन्वय र सहकार्यलाई झल्काउन खोजिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका सबै क्षेत्रलाई सांकेतिकरूपमा समेटेर गाउँपालिकाको पहिचान झल्कने गरी लोगो निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष शर्मिला पौड्यालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्